– सतिश चापागाईं
विमानस्थलको बहिर्गमन गेटमा
पासपोर्ट देखाएर म भित्र पसें
बा गेट समातेर टक्क अडिनु भयो
अहिले हामी भित्र बाहिर भएका छौं
बाका मुख बन्द छन्
आँखा र मन बोलिरहेका छन्
म हिड्नै लाग्दा
बाले छुन खोज्नु भो
फलाम जस्तै दरीला मेरा बाका हात
कर्कला जस्तै लुला बने
तै ढाड, काँध र टाउकोमा छुनुभयो
टाउको मै हात अड्याएर
केहि आशिर्वचन बोल्नुभयो
म थोरै झुकें
बाले “भाग्यमानी भएस!” भन्नुभयो
बाले बच्चाले झैँ प्रश्न गर्नुभयो –
आमालाई के भन्दिउँ
मेरो ढक्क भएको छाती
तप्प आँखाबाट चुह्यो
यो नुनिलो पानीमा
आमाको रगत र दुध मिसिएको छ
अब यो
शरीरका छिद्र छिद्रबाट
पसिना बनेर निस्कनेछ
र, सिंचित हुनेछ बिदेशी भूमी !
जसै मैले सपनाको सुटकेश लतारें,
अन्यौलतामा मेरा गोडा लडखडाए
केहीबेर उल्टो हिडें
बालाई हेर्दै हेर्दै
दुरी बढ्दै गर्दा मेरो मुख बिग्रियो
बाले दुईटा हातले भित्तो समात्नु भयो
एयरपोर्टका हजारौं मान्छेलाई
बाले देख्दै देख्नुभएन
बस! बाका नजरमा म मात्रै छाएँ
म टाढिदै जाँदा
बाका आँखामा अरुपनि ठोक्किए
निमेषभरलाई बाले तर्क गर्नुभयो
‘अरु पनि त गएका छन्!’
अरु किन गए बालाई के थाहा
मुटु टाढिनुको कारण पो थाहा थियो
परिवारसंगै पेट बढ्यो
दिनदिनै रिन बढ्यो
उमेरसंगै रोग बढ्यो
कतै तिर्नुछ, कतै दिनुछ
केही किन्नु पनि छ
घर बनाउनै छ, गोठ छाउनै छ
हिजोको बाँकी र भोलिको भैपरी तिर्न
छोरै अडाना राख्नु पर्यो
विदेश पठाउनु पर्यो
बाले देश पाल्नु भयो
देशले बाको छोरो पाल्न सकेन
देशले बालाई एकथान नागरिकता
र छोरालाई एक थान पासपोर्ट दियो
नागरिकता पढ्न नजान्दा
ज्योती गुमेजस्तो लागेको थियो
पासपोर्टले बाको आँखै फुटेजस्तो भएको छ
बा एकोहोरिनु भयो
चल्नु चल्मलाउनु भएन
ठम्म उभिई मात्र रहनुभयो
जिन्दगीभर जोडेको परिवारका
लथालिंग पानाहरु सम्झिनु भयो बाले
र देख्नु भो टाढा मलाई
बेचिएको पाठो झैँ लुरुलुरु हिंडेको
बालाई ज्वरो आए झैँ भयो
रौँ ठाडा भए
“जीवनभर जोतिएर पनि किन गरिब भएँ?”
बाले स्वयम्भुलाई सम्झिएर प्रश्न गर्नुभयो
सानोमा मैले घोकेको कविता बाले सम्झनु भएछ-
स्वयम्भूका दुइटा आँखाले न्याय अन्याय छुट्टयाई हेर्छन
बाले फेरी मतिर हेर्नुभयो
पहिला म छेकिएँ
अनि मेरो छायाँ हरायो
र, लगेजको टुप्पो छेकियो
बाले केहि देख्नुभएन
चकमन्न ! सन्नाटा !
मैले बिहान घुमाएको पशुपतिनाथतर्फ फर्केर
बाले दश औंला जोड्नुभयो
र, सोध्नुभयो –
हे देव !
यो जुनीमा मेरो, छोरासँग भेट होला की नहोला ?
यो जुनीमा मेरोछोरासँग भेट होला की नहोला ?
कानैभित्र मौरी कराएजस्तो भयो घुन्न्न्न्न्न्न !
बाले माथि हेर्नुभयो
जहाज देखियो, टोपी खस्यो
ए ! छोरो त उडेछ
बा थचक्क बस्नुभयो ।
– रामपुर, पाल्पा
हाल: मेरिल्याण्ड, अमेरिका