चलचित्र विकास बोर्ड अध्यक्षका लागि भुवन, राजेश र दयारामबीच प्रतिस्पर्धा

Spread the love

काठमाडौं । विगत ६ महिनादेखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्षको चयन अन्तिम चरणमा पुगेको छ । यो प्रतिस्पर्धाका लागि अन्तर्वार्ता दिएका १० जनामध्ये बोर्ड अध्यक्षको अन्तिम उम्मेदवारका रूपमा तीन जना सिनेकर्मी सिफारिसमा परेका छन् । यसरी सिफारिसमा पर्नेहरूमा चलचित्र अभिनेता भुवन केसी, चलचित्र निर्देशकद्वय दयाराम दाहाल र राजेश थापा रहेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत साता अध्यक्ष पदका लागि १० जना सिनेकर्मीसँग अन्तर्वार्ता लिएको थियो । अध्यक्ष पदका लागि खुला आवेदन दिनेहरूको मन्त्रालयले अन्तर्वार्ता लिएको छ । ती १० जनामध्ये अन्तिम निर्णयको उत्कृष्ट तीन जनाको नाम चयन गरेर पठाइएको मन्त्रालयका एक कर्मचारीले बताए ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

ती कर्माचारीका अनुसार ७ जेठबाट तीन दिनसम्म यी १० जनाको सिनेकर्मीहरूले अन्तर्वार्तासँगै आफ्नो योजना प्रस्तुत गरेका थिए । सूचना प्रविधि मन्त्रालयकी सहसचिव राधिका अर्यालको संयोजकत्वमा गठित तीन सदस्यीय सिफारिस समितिले उनीहरूको अन्तर्वार्ता लिएको हो । सोही सिफारिस समितिले यी तीन चलचित्रकर्मीको नाम सिफारिस गरेर पठाएको पनि ती कर्मचारीले राजधानीलाई बताए ।

यसरी मन्त्रालयले सिफारिस गरिसकेकाले अब बस्ने मन्त्रिपरिषद्को बैठकले यीमध्ये एक जनालाई बोर्ड अध्यक्षमा निर्णय गर्ने पनि उनले जानकारी गराए । सम्भवतः सोमबारसम्म अध्यक्ष चयन हुने सम्भावना रहेको पनि उनले बताएका छन् ।

तर, यी तीनमध्ये बोर्डमा को अध्यक्ष हुन्छ भन्नेबारे आफूहरूलाई जानकारी नभएको, मन्त्रालयका तर्फबाट १० जनामध्ये उत्कृष्ट तीनमा परेकालाई सिफारिस गरिएको पनि उनले स्पष्ट पारे । २९ मंसिरमा चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष केशव भट्टराईको निधन भएपछि बोर्डमा अध्यक्ष पद रिक्त छ । अहिलेको विषम परिस्थितिमा चलचित्र क्षेत्रलाई चलायमान बनाउन पनि विकास बोर्डमा अध्यक्ष नियुक्ति गर्न आवश्यक छ ।

बोर्ड अध्यक्षका लागि आफ्नो नाम सिफारिसमा परेपछि यी तीन सिनेकर्मी अहिले दौडधूपमा छन् । यी तीनै जना सिनेकर्मी आफू बोर्ड अध्यक्षका लागि योग्य र प्रभावशाली भएको बताउँछन् । चलचित्र निर्देशक दयाराम दाहाल अहिले विकास बोर्डका सदस्य हुन् । आफूसँग बोर्डमा काम गरेको अनुभवसँगै चलचित्र क्षेत्रको अढाइ दशक लामो अनुभव रहेको पनि उनले बताएका छन् ।

यस्तै, अभिनेता भुवन केसी करिब चार दशकदेखि नायक र निर्माताका रूपमा नेपाली चलचित्र क्षेत्रमा सक्रिए छन् । त्यसैले आफू अध्यक्षका लागि योग्य भएको उनको कथन छ । चलचित्र निर्देशनमा ओस्कार कलेजबाट स्नातक गरेका राजेश थापाले पनि आफू दुई दशक लामो समयदेखि चलचित्रमा सक्रिय रहेको र विभिन्न वृत्तचित्र निर्देशन गरेकाले यो क्षेत्रका लागि योग्य भएको बताएका छन् । उनी यसअघि सांस्कृतिक संस्थानमा चार वर्षसम्म महाप्रबन्धक थिए ।

चलचित्र विकास बोर्डमा यसअघि केशव भट्टराई अध्यक्ष थिए । उनको गत मंसिर अन्तिममा निधन भएपछिबाट बोर्डको अध्यक्ष पद खाली रहेको छ । सोही कारण सरकारले बोर्ड अध्यक्षको चयन तयारी गरेको हो । – राजधानी

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *