निवासबाटै रामकुमारी झाँक्री पक्राउ, राज्यविरुद्धका कसुर गरेको आरोप

Spread the love

काठमाडौं : आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने ढंगले र एकल महिलाप्रति लक्षित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बिहीबार बिहान महानगरीय अपराध महाशाखाको टोली झाँक्रीको निवासमा पुगेको थियो । उनले दिएको अभिव्यक्तिका सन्दर्भमा सोधपुछ गर्न प्रहरीले कार्यालयमा बोलाइएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए । तर, झाँक्री हाजिर नभएपछि प्रहरी उनलाई पक्राउ गर्न घरमै पुगेको थापाले बताए ।

प्रहरीले नियन्त्रणमा लिनु अगाडि उनले प्रतिगमनको विरुद्ध र लोकतन्त्रका लागि लडिरहँदा अभिव्यक्त गरेको आधारमा पक्राउ पूर्जी गरेको जानकारी दिइन् । उनले कानुनको पालना गर्दै आफूले गिरफ्तारी दिएको बताइन् । उनले राज्यको कानून पालना गर्न आएका प्रहरीमाथि कुनै अमर्यादित व्यवहार भएको भए क्षमा दिन आग्रह गरिन् । उनलाई राज्यविरुद्धका कसुर अन्तर्गत दफा ५८ कसुरमा पक्राउ गरेको हो ।

अहिले झाँक्री निवासमा उनका समर्थकले नाराबाजी गरिरहेका छन्। उनीहरुले प्रतिगमन मूर्दावाद, प्रहरी हस्तक्षेप बन्द गरलगायतका नारा लगाइरहेका छन्।

झाँक्रीले गोरखाको कार्यक्रममा भनेकी थिइन्, ‘राष्ट्रपतिका कुरा त के गर्नु ? म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु : निर्वाचनको तयारीका लागि सुखसुविधा ऐश–आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुस्, चाबहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गएपनि हुन्छ। नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो ? त्यसको तयारी गरेर सन्देश पठाउनुस्, तपाईंसँग म पनि भारी हुन्छु।’

बुधबार विरोध सभामा पनि राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाउँदा आलोचना भएको भन्दै झाँक्रीले आक्रोश समेत व्यक्त गरेकी थिइन्। उनले आफूले राष्ट्रपति विद्यादेवी भण्डारीको विरुद्ध नबोलेर र व्यक्तिको प्रवृत्तिविरुद्ध आवाज उठाएको जिकिर गरिन्। उनले भनिन्, ‘कार्यकारी प्रधानमन्त्रीको एउटा कोठाको एसिस्टेन्सजस्तै प्रधानमन्त्री या मन्त्रिपरिषदका निर्णयहरुलाई खुसुस्क सही छाप गर्ने राष्ट्रपतिका विरुद्ध आवाज उठाएको हो। यो राष्ट्रपति सम्मानीय संस्था हो। यो हाम्रो बलिदानीले प्राप्त गरेको संस्था हो। हाम्रो शीरमाथिको संस्था हो।’

‘त्यो संस्थामा कुनै व्यक्तिले निर्वाचनको प्रक्रियाबाट गएर निरुंकुशको सांक्षी बस्छ भने त्यस्ता व्यक्तिको विरुद्धमा बोल्न पाइन्छ। एउटा खलपात्रकाविरुद्ध बोल्दै गर्दै कसले भन्छ महिला अस्मिता मिचियो भनेर ? बोल्न पाइन्छ,’ उनले भनिन्। – अन्नपूर्ण पोष्ट

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *