संसद अधिवेशनको आकस्मिक अन्त्य : अब के होला ओलीको कदम ?

Spread the love

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्कँदै गएको आन्तरिक कलहले गम्भीर मोड लिएको छ। बिहीबार मध्यान्ह बसेको मन्‍त्रिपरिषद्को बैठकले संसद्को चालु अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय लगत्तै राष्ट्रपतिबाट अधिवेशन अन्त्य भएको छ।

प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षसँग सामान्य परामर्श पनि नगरीकन अचानक अधिवेशन गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ। अधिवेशन अन्त्यका बारेमा पार्टीभित्र पनि कुनै छलफल नभएको भन्दै असन्तुष्ट पक्षले आश्‍चर्य व्यक्त गरेको छ। प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष दुवैले आफूहरुसँग परामर्श नगरीकन अधिवेशन अन्त्य भएको असन्तुष्टी जनाएका छन्।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

अधिवेशन अन्त्य गरिएकोमा विपक्षी कांग्रेसले समेत आपत्ति जनाएको छ। बालुवाटारमा बिहीबार बोलाइएको स्थायी समितिको बैठक पनि स्थगित गरिएको छ। दुवै पक्ष आन्तरिक छलफलमा व्यस्त छन्।

प्रधानमन्‍त्री ओलीले संसद अधिवेशन अन्त्य गरेर केही कदम चाल्‍नका लागि अनुकुल परिस्थिति निर्माण गर्न खोजेको आशंका गरिएको छ। परिस्थिति थप गम्भीर हुने अनुमान गरिएको छ। राजनीतिक विश्लेषकहरुले यसले राजनीतिक दुर्घटना हुनसक्‍ने आशंका व्यक्त गरेका छन्।

ओलीको यो कदमपछि थप रणनीतिका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम आकस्मिक परामर्शमा जुटेका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बिहीबार बिहान दुवै पक्षबीच भएको छलफलपछि नेकपा अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए।

बिहीबार बिहान पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न ओली समूहका नेताहरु खुमलटार पुगेका थिए। छलफलमा ओली निकटका ईश्वर पोखरेल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल र योगेश भट्टराई सहभागी थिए।स्रोतका अनुसार भेटमा प्रचण्डले आफूलाई भन्दा पनि ओलीलाई सम्झाउन र पहिले भएका सहमति कार्यान्वयनका लागि मनाउन सुझाव दिएका थिए।

स्थायी समितिको मंगलबारको बैठकमा ओलीको राजीनामा माग्दै चर्काचर्कीभएपछि आन्तरिक कलहले गम्भीर मोड लिएको हो। बुधबार दिनभर दुवै पक्षमा आआफ्नो गुट छलफल र रणनीतिमा व्यस्त रहे।

पार्टीभित्रैबाट चर्को आलोचनासहित राजीनामा माग भएपछि तनावमा रहेका प्रधानमन्त्री ओली बचाउको रणनीतिसहित बुधबारदेखि व्यक्तिगत र समूहगत छलफललाई तीव्र बनाएका छन्। ओलीले बुधबार दिनभर सरकारका मन्त्रीहरू र आफू निकटका स्थायी कमिटी सदस्यहरूलाई परामर्शका लागि बालुवाटार बोलाएर परामर्श गरेका थिए।

ओलीको राजीनामा मागिसकेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम पनि रणनीतिक छलफलमा व्यस्त छन्। बुधबार बेलुका झम्सीखेलमा प्रचण्डले बोलाएको बैठकमा ४४ सदस्यीय स्थायी समितिका ३० जना सदस्यहरू सहभागी भएका थिए। पार्टीभित्र ओली अल्पमतमा देखिएका छन्। ९ सदस्यीय सचिवालयमा ६ जना र ४४ सदस्यीय स्थायी समितिका ३० जना ओली विपक्षमा देखिएका छन्।

पार्टीभित्रैबाट आफू घेराबन्दीमा परेको बताउँदै आएका ओलीको सम्भावित कदम के होला भनेर अनेक अनुमान र आशंका गरिएको छ। स्रोतका अनुसार प्रधानमन्‍त्री राजीनामा दिने मुडमा छैनन् ।जस्तोसुकै परिस्थिति आए पनि सामना गर्ने मनस्थितिमा ओली रहेको उनी निकट स्रोत बताउँछ। पार्टी निर्णय मानेर दुईमध्ये एक पद रोज्‍ने अर्थात राजीनामा दिने, संसदीय दलको अंकगणित सामाना गर्ने, संसद अधिवेश अन्त्य गरेर संकटकाल लगाउने, मध्यावधिमा जाने, दल विभाजनसम्बन्धि अध्यादेश ब्यूँताएर कांग्रेससँगको सहकार्य वा सहमतिको सरकारजस्ता अनेक विकल्पबारे अहिले ओली टिममा छलफल भइरहेको छ ।

प्रधानमन्‍त्री ओलीले आफूलाई हटाउन भारत सक्रिय भएको र होटल एवं दूतावासमा चलखेल भइरहेको भनी दिएको पछिल्लो अभिव्यक्तिपछि पार्टीभित्र विवाद चर्केको हो। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्‍त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राजीनामा दिन आग्रह गरेका थिए । – अन्नपूर्ण पोष्ट

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *