विदेशमा अलपत्र २५ हजारलाई नेपाल ल्याइँदै

Spread the love

काठमाडौं । सरकारले विदेशमा अलपत्र नेपालीलाई प्राथमिकताका आधारमा उद्धार गरी स्वदेश फिर्ता ल्याउने भएको छ । सरकारले विदेशमा अलपत्र २५ हजार नेपालीलाई आगामी सातादेखि उद्धार गरी स्वदेश फिर्ता गर्ने कार्य सुरु गरेको हो । स्वदेश फर्कन चाहने विभिन्न देशमा रहेका नागरिकको विवरण १० दिनभित्र संकलन गर्ने जिम्मेवारी परराष्ट्र मन्त्रालयलाई दिइएको छ ।

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले अलपत्र नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फिर्ता गर्ने निर्णय गरेको हो ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउने निर्णय भएको जानकारी दिए ।

समिति बैठकमा शुक्रबार पेस भएको विदेशमा रहेका नेपालीलाई फिर्ता गर्ने सम्बन्धी कार्ययोजनामा मन्त्रीहरूले सुझाव दिएपछि त्यसलाई थप परिमार्जन गरेर अन्तिम रूप दिन मुख्यसचिव नेतृत्वको कार्यदललाई जिम्मा दिइएको छ । मन्त्रिपरिषद् बैठकले यसअघि नै विदेशमा रहेका नेपालीलाई ल्याउने कार्यविधि पारित गरेको थियो ।

सरकारको तथ्यांकअनुसार भारत र अन्य देशमा गरी झन्डै ६ लाख नेपाली तत्काल आफ्नो देश फर्कने योजनामा छन् । कोरोनाका कारण विश्वभरबाट १३ लाख नेपाली स्वदेश फर्कने सक्ने जनाइएको छ । उनीहरूमध्ये प्राथमिकताका आधारमा यूईए, कतार, मालदिभ्स र बंगलादेशमा रहेका विद्यार्थीलगायतलाई सरकारले उद्धार कार्य थाल्ने भएको हो ।

यूएईमा रहेका २८ जना गर्भवती नेपाली महिला र कुवेतमा लडकडाउनकै अवधिमा माफी पाएर देश फर्किन बसेका २५ सयदेखि ३ हजार घरेलु कामदारलाई पहिलो प्राथमिकतामा राखिएको जनाइएको छ । सरकारले दैनिक ३ हजारदेखि ३५ सयलाई स्वदेश फिर्ता गराउने तयारी गरेको छ । त्यसका लागि नेपाल वायुसेवा निगमलगायत स्वदेशका विमानलाई प्रयोग गर्ने भएको छ । नेपाली विमान कम्पनीहरूले नभ्याउँदा विदेशी विमान कम्पनीमार्फत ल्याइने सचिव बिडारीले बताए । नेपाल आउन चाहनेहरूले विमान खर्च र होटल तथा क्वारेन्टिन खर्च आफैं बेहोर्नुपर्ने जनाइएको छ ।

सरकारको अहिलेको तयारीअनुसार नेपाल आएपछि दुई साता उनीहरूले आफ्नै खर्चमा काठमाडौंको होटलमा बस्नुपर्नेछ । आर्थिक अवस्था नाजुक भएकाको हकमा भने सरकारले आफैं खर्च बेहोर्ने जनाएको छ । काठमाडौंमा उद्धार गरेपछि उनीहरू सबैलाई आफ्नै घर भएको स्थानीय तहका क्वारेन्टिनमा बस्ने गरी पठाइने तयारी छ ।

विदेशबाट ल्याइएका नागरिकलाई प्रदेशगत रूपमा छुट्याएर क्वारेन्टिनमा राखी घर पठाउन सातै प्रदेशमा एक÷एक जना संघीय सरकारका मन्त्रीलाई जिम्मा दिइएको छ । ती मन्त्रीले नै आफ्नो जिम्मेवारीभित्रका जिल्ला र स्थानीय तहसँग समन्वय गर्नेछन् ।

संघीय सरकारले प्रदेश १ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई संयोजनको जिम्मेवारी दिएको छ । त्यस्तै, प्रदेश २ मा श्रममन्त्री रामेश्वर राय, बाग्मतीमा महिला बालबालिकामन्त्री पार्वत गुरुङ, गण्डकीमा भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, प्रदेश ५ मा ऊर्जामन्त्री वर्षमान पुन, कर्णालीमा वनमन्त्री शक्ति बस्नेत र सुदूरपश्चिममा उद्योगमन्त्री लेखराज भट्टले संयोजन गर्नेछन् ।

भारतबाट नेपाल फर्कनेका लागि २० नाका तोकियो

भारतबाट स्थल मार्ग हुँदै नेपाल फर्कने नेपालीहरूलाई २० वटा नाका तोकिएको छ । कोभिड–१९ रोकथाम, नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकले २० वटा नाका तोकेको हो । प्रधानमन्त्री कार्यालयका अनुसार यसरी तोकिएका नाकाहरूमा पशुपतिनगर, काँकडभिट्टा, रानी, कुनौली, ठाडी, माडर, भिट्टामोड, मलंगवा, गौर, वीरगन्ज, महेशपुर, बेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह, सुरजपुर, गौरिफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला छन् । टेनिस रोकाले राजधानीमा समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *