मानव तस्करहरुको चङ्गुलमा फस्दै पोर्तुगल आइपुगेका चक्रप्रसादको कारुणिक कहानी (भाग २)

Spread the love

– योगेन्द्रमिलन छन्त्याल

छ महिनासम्म दुई दर्जन यात्रा तय गरे चक्रले । यात्रा अवधिमा खानेकुरा कसैले अरुलाई दिनु हुँँदैन । किनकि अर्कालाई दिनु भनेको आफू मर्नु हो । एकचोटीको यात्रामा झोलामा खानेकुरा सक्किन लागेको थियो । यात्रा कहिले कहाँ पुगेर अन्त्य हुने हो थाहा थिएन । राती बारीमा कुहिएको खर्बुजा चोरेर खाए । गन्हाएको थियो, निल्न गाह्रो भएको थियो । तर तिर्खा पनि मेटियो भोक पनि मेटियो ।

एकचोटी उनले अत्यन्त कमजोर महशुश गरेका थिए । जो लत्रन्छ, उसलाई हिर्काउने पिट्नेसम्मका हर्कत हुने रहेछन् । उनी ढले र भने : ‘म कुद्न सक्तिन“, मार्ने भए मार !’ त्यसो गरेपछि बाटामा एक्लै छोडेर अरु दगुरे । उनी एक्लै राजमार्गमा पनि हिंडे । बाटामा एक दुईवटा घर देखिन्थे । तिर्खा लागेर पानी माग्थे । भाषाका कारण मान्छेहरु हाँस्दै बेवास्ता गर्थे । यस्ता सयौ दर्दनाक कथाहरु छन् चक्रका । उनी यात्राका क्रममा कहिले बाटामा पक्राउ परे । कहिले डुङ्गामा गिरफ्तारीमा परे । कहिले समूहमा समातिए । कहिले एक्लै पुलिसले भेट्ट्यायो । गाडी नै कब्जामा पनि पर्‍यो ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

इन्डियन, बङ्गाली, नेपाली, टर्कीस, पाकिस्तानी सबै विश्वासिला भनाउदा दलालको समूहमा यात्रा गरिसके चक्र । तर पुर्पुरोमै त्यस्तो लेखेको हो कि के हो ? सफल हुन सकेनन् गेममा । छिर्न पनि सकेनन् । सायद जुलाई २०१७ को कुरा हो, १३ जनाको समूह दगुर्दा दगुर्दै ४ जना जङ्गलमा छुटे । दुईजना सिरियन र एकजना पाकिस्तानी रहेछन् । पाकिस्तानीको पनि ती सिरियनसँग चिनाजानी रहेछ । चक्रलाई हेप्न थाले । तँ जा । हामीसँग नहिंड भने मुखमै । डर लाग्यो । चक्रले रुदै भने : ‘दाइ, मैले तीनपटक पाथीभरा माताको दर्शन गरेको छु नेपाल छँदा । जब जब म अप्ठेरो वा सङ्कटमा फस्छु, मातालाई सम्झन्छु । माताले मलाई उद्धार गर्नुभएको छ ।’ चक्रको कथा अघि बढ्यो । उनी एक्लै हिंडे । कहिले ट्याक्सी, कहिले बस, कहिले रेलगाडी चढेर उनी इस्टानबुल फर्किए । दुःखको बेला साथीहरुको कसी लाग्दोरहेछ । झन्न मुश्किलकासाथ साथीहरुलाई सापटी माग्दै पैसाको व्यवस्थापन गर्थे ।

टर्कीमा रहेका नेपाली दलालमध्ये एक हुन् महारानी । ५०–५५ वर्षकी तर बोलीले लठ्ठै पार्ने । उनले विश्वास जित्दै भने : ‘लाटा रहेछौ । मलाई ३५ सय युरो देऊ । म प्राइभेट गाडीमै ग्रीस पुर्‍याइदिन्छु ।’ साह्रो गाह्रोमा साथ पनि दिएकी हुन् चक्रलाई । फेरि गेम स्टार्ट गरे । दुर्भाग्य दोश्रो दिनमै प्रहरीको शंकामा परेछन् । पक्राउ परे अनि इस्टानबुल फिर्ता भए । महारानीले टोलीले मिस्टेक गरेको उल्लेख गर्दै सरी भने ।

महारानीले साँच्चिकै दिलैदेखि सहयोग गर्थिन् । त्यसो त चक्रले पनि विश्वास गर्थे । यसैक्रममा एकदिन राती १० बजे महारानीले फोन गरिन् : ‘चक्रे भाइ, ग्रीस जान्चौ, विश्वासिलो मान्छे भेटाको छु ।’ उनको पूरै मन खुशी थिएन यो कुरो स्वीकार गर्नलाई । तर विकल्प पनि त थिएन । ‘दुई महिना पहिलेजस्तै हुने हो कि दिदी ?’ उनले सोधे । महारानीले भनिन् : ‘लक लागेर छिर्‍यौ भने राम्रो होला क्यारे नि !’

पर्सिपल्ट प्लाष्टिकले बेरिएको मिनी ट्रकमा यात्रा शुरु भयो । ८ जना थिए गाडीभित्र । सास फेर्न पनि गाह्रो थियो । तर सुनौलो भविष्य सोच्थे चक्रले : दुखपछि सुख आउछ अ रे ! हावा छिर्न सकेको थिएन गाडीमा । आठैजना पसिनै पसिना भएका थिए । झोलाको पानी पिए । टाउकोमा खन्याए । ट्रकले बेस्मारी हल्लाएपछि भोक लाग्यो । खानेकुरा खाए । कहाँ पुर्‍याउने हो ? त्यसपछिको गन्तव्य कता हुने हो ? अँध्यारो गाडीभित्र बसेर के अनुमान लाउन सक्थे र विचराहरु ? सहयात्री पथप्रदर्शकको पशुवत व्यवहारसँगै ११ औं दिनमा एकान्त घरमा बसेको बेला अचानक झगडा भयो । एउटै समूहमा सँगै यात्रा गरेकाहरु हात हालाहाल गर्न थाले । ‘पुर्पुरोमा दुःख पाउन लेखेपछि नानाभाँती ब्यहोर्नुपर्दोरहेछ’, चक्रले सोचे । हल्लीखल्ली मच्चिएपछि उनी पनि त्यहाँबाट एक्लै कुलेलम ठोके ।

४ घण्टा हिंडे एउटै दिशामा । अहँ कही कतै गाउँ भेट्टिएन । सडकै सडक जङ्गलै जङ्गल । कतै कतै खेतबारी भेटिन्थे । एक दुईवटा अस्थायी टहरा देखिए । मान्छे भेटिन्छ कि भनेर आँखा पर परसम्म डुलाए अहँ देखेनन् । भगवान सम्झिए । बल्ल बल्ल एउटा कफी सप भेटे । हाम्बर्गर मागे । एउटा डेढ लिटरको पानी स्वात्तै रित्याए । एउटा क्यान कोला पनि पिए । क्याफेकी युवतीले अचम्मै मानी । साँच्चै आपतमा परेको बेला भगवानले कृपा गर्दा रहेछन् भन्ने कुरामा चक्रको गहिरो विश्वास छ । नजिकै पार्किङ गरेर एकजना मिनी ट्रकको चालक पनि क्याफेमा आयो । स्पाघेटी अर्डर गर्‍यो । यही मौकामा चक्रले चालकलाई अङ्ग्रेजी भाषामा अभिवादन गरे । ऊ मिठो अङ्ग्रेजी बोल्दो रहेछ । एकछिनको गफगाफपछि चक्रले लिफ्ट मागे । चालकले कहाँ जाने हो र भनेर सोध्यो । चक्रले गज्जबको उत्तर दिए : ‘यसको नजिक जुन शहर छ त्यही जान चाहन्छु, म बाटो बिराएको मान्छे हुँ । एकजना नेपाली ।’ चालकले अचम्म मान्यो : ‘नेपाली ? माउन्ट एभरेष्ट नेपालमा छ नि, होइन र ?’ उसलाई वुद्ध, काठमाण्डौं र पोखराबारे पनि जानकारी रहेछ । चालकले चक्रलाई भेटेर खुशी लागेको बतायो । निक्कै गफाडी रहेछ दुवैले बाटो काटेको पत्तै पाएनन् ।

थेसालोनिकी भन्ने ठाउँमा पु‍र्‍याइदियो ड्राइभरले । भन्यो, ‘शुभयात्रा ! तपाईंको सबै सबै उद्देश्यहरु पूरा होउन् ।’ चक्रले हग गरे । ‘धेरै धेरै धन्यवाद दाइ’ भने । फेसबुकमा एड गर्न अनुरोध गरे । हिजोआज पनि हप्तामा कम्तिमा तीनपटक यी दुई दाजुभाइको च्याट हुँदोरहेछ । २६ युरो ५० सेन्टको टिकट लिएर उनी एथेन्स हानिए । एथेन्समा होस्टल खोजे । होस्टेलमा पासपोर्ट चाहिंदोरहेछ । उनीसँग थिएन । धाउदा धाउदा एउटा बङ्गालीको होटेलमा पुगे । वास बसे अनि नजिकैको क्याफेमा गए । वाइफाइको पासवर्ड मागे । इन्टरनेट खोल्नेबित्तिकै महारानीलाई कल गरे । आफू अलपत्र परेको बताए । खान लाउन नपाएर गाउँमा हराएको बताए । महारानीले उसका आफन्तबाट थेसालोनिकी नजिकै छोडेको रिपोर्टिङ गरिसकेका रहेछन् । निकै झगडा गरेपछि महारानीले एक हजार युरो फिर्ता दिने बताइन् । अबको संघर्ष एथेन्समा शुरु भयो ।

उनी एथेन्समा थुप्रैचोटी एसाइलम् हान्न (शरणार्थी बन्न) लाइनमा गए । तर नेपालीलाई देखिनसहने रहेछ । ६–७ चोटी हटाइए अथवा फर्काइए । अब २५ सय युरोमा स्पेन छिराउने दलाल भेटे । उनीहरुले जर्मनी वा स्पेनको रेजिडेन्स कार्ड बनाएर छिराउदा रहेछन् । यत्तिञ्जेल चक्रले टर्कीबाट आफ्नो पासपोर्ट पनि डिएचएलमार्फत मगाइसकेका थिए । एकपटक एउटा दलालले उनको पासपोर्टमा बार्सिलोना छिराउने गफ हान्यो । उनले लौ लौ म ट्राइ हान्छु भने । टिकट काटे । एयरपोर्टको बोर्डिङमा कर्मचारीले बनाएर हेर्‍यो । सरी सर, भिसा सकिएको रहेछ । तपाईंलाई जान दिन सक्दिनँ । चक्र फर्किए । किनकि उनलाई थाहा थियो कि एयरपोर्टमा भिसा नभए पनि पुलिसले समातेर जबरजस्त डिपोर्ट गर्दैन बरु फिर्ता गरिदिन्छ ।

उनको संघर्षबारे धेरै दलालहरुले पनि चासो राखे । खासमा उनको भिसा सकिएको थियो । एउटा म्यासेडोनियन दलाल्नीले सजिलै पोर्तुगल छिराउने गफ दियो । तर पासपोर्टमा भिसा थपिदिने कुरा गरी । कुनै पनि कानूनी समस्या नहुने कुरा सम्झाई । उसले सयौ मान्छेको यस्तो काम गरेको कुरा बताउदै कन्भिन्स गर्न खोजी । ७०० युरो दिएपछि एक हप्तामा पासपोर्ट हात पर्ने र निर्वाध रुपमा पोर्तुगल जान सकिन्छ भनी । उसको कुरा शत प्रतिशत त के विश्वास लाग्नु र ? तर पनि चक्रले पासपोर्ट बुझाए । वुधबारका दिन पासपोर्ट बुझाएका थिए । छैठौ दिन सोमबार नै पासपोर्ट लिन बोलाई । भनी : ‘बधाई छ, शुभयात्रा !’

चक्रले म्याड्रिड ट्रान्जिट हुँदै लिस्बन आउने अनलाइन टिकट काटे । समयमै एयरपोर्ट पुगे ।

मुटु ढुक ढुक गरेको थियो । कर्मचारीले पासपोर्ट खोलेर हेर्दा हंशले ठाउँ छोडेको थियो । मुखमा पुलुक्क हेर्‍यो । जानुस् भन्यो । प्रश्न गरेको भए उत्तर दिनसक्ने हालतमा थिएनन् उनी । प्लेनतिर जादै गर्दा चक्रले आफ्नै पाखुरामा चिमोटे । सपना पो हो कि भनेर । अहँ साँच्चै फ्लाइट हुने भयो सायद । उनका कथा नजिकबाट नियाल्ने सबैभन्दा नजिकका दुईजना साथीसँग खुशी प्रकट गर्न भिडियो कल नै गरे । जहाज नउडुञ्जेल मुटु ढुक ढुक गर्दै थियो । सात महिनापछि प्लेन जब जमिन छोड्यो, लामो सास फेरे । फेरि पोर्तुगलको सुनौलो भविष्यको कल्पना गरे । म्याड्रिडमा त पुलिससँग उनको फ्लाइटसम्बन्धी जानकारी सोधे ।

पोर्तुगलमा बिहानको ७ः४० भएको थियो । उनी म्याड्रिडबाट ७ः२५ मा जहाज चढेका थिए । स्पेन र पोर्तुगलको समय एकघन्टा फरक रहेछ । पूर्वजानकारी अनुसारनै ठीक १ घण्टा १५ मिनटमा ल्याइपु‍र्‍यायो जहाजले । चक्रले कल्पना गरे : ‘अब मेरा सबै सपनाहरु सिल्सिलेवाररुपमा साकार हुँदै जाने सङ्केत होला सायद । किनकि जहाजले पनि पोर्तुगल छिर्दा ठीक समयमा भित्र्याएको छ ।’ आइपुगेकै दिन उनले फिनान्स पेपर बनाए । दोश्रो दिन लिगल इन्ट्रीका लागि अपोइन्टमेन्ट पाए । छैठौ दिन साथीको सहयोगमा खेतीमा काम गर्न भनेर हिंडे । बसमा तीन घण्टा टाढा गए । काम शुरु गरे । काम शुरु गरेको तीन महिना भएको थियो । पोर्तुगलको सीमा तथा विदेशी हेर्ने निकाय (सेफ) मा लिगल इन्ट्री निकाल्ने दिन आयो । कम्पनीमा दुई दिनको छुट्टी लिए । पोर्तुगलको राजधानी लिस्बनमा आए । (क्रमश : ……)

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *