आँखामा चोट लाग्दा आइसोलेसनमा भर्ना, उपचार नपाएरै गुम्यो महिला खेलाडीको दृष्टि

Spread the love

विराटनगर : कोरोना संक्रमणको आशंकामा आइसोलेसनमा राखिएसँगै उपचारमा ढिलाइ हुँदा एक महिला फुटबलरको आँखाको ज्योति गुमेको छ । आँखामा लागेको चोटको उपचार समयमा गराउन नपाउँदा उदयपुरको बेलका नगरपालिका-५ की १६ वर्षीया समीक्षा मगरले दाहिने आँखाको दृष्टि गुमाउनु परेको हो ।

कोरोना भाइरस संक्रमणको आशंकामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले तीनदिन आइसोलेसनमा राखिदिएपछि उनको चोट लागेको आँखाको उपचार समयमा हुन पाएन ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

बुवा दलबहादुरका अनुसार बारीमा सिमल तरुल खन्ने क्रममा वैशाख १२ गते उनको आँखामा चोट लागेको थियो । ‘चोट लागेको बेला त्यति समस्या भएन,’ उनले भने, ‘भोलिपल्ट दुख्न थालेपछि नजिकैको स्वास्थ्य चौकीमा लगियो । रामपुर ठोक्सिला स्वास्थ्य चौकीले आँखाको नानीमा चोट रहेको भन्दै थप उपचारका प्रतिष्ठान रेफर गरिदियो।’

आँखाको दुखाईसँगै शरीरको तापक्रम बढ्दै गएपछि प्रतिष्ठानका चिकित्सक हच्किए । बिरामीलाई ज्वरो आएको भनेर कोरोना भाइरस संक्रमणको आशंका गर्दै आँखाको उपचार गर्न मानेनन् । ‘डाक्टरले छोरीलाई तीन दिन आइसोलेसनमा राख्नु पर्ने र कोरोना परीक्षण गर्नुपर्ने सुझाव दिए,’ दलबहादुरले भने, ‘आँखाको दुखाई सहन नसकिरहँदा उपचार थाल्नु पर्ने अवस्थामा आइसोलेसनमा राख्न बाध्य भइयो ।’ त्यसपछि चिकित्सकले नमुना संकलन गरेर परीक्षणका लागि लिएर गए । तीन दिनपछि कोरोना रिपोर्ट नेगेटिभ आयो ।

त्यसपछि प्रतिष्ठानले आँखाको नानीमा समस्या रहेको जनाउँदै विराटनगरको विराटनगर आँखा अस्पतालमा वैशाख १८ गते बिहीबार रेफर गरिदिएको किशोरीका बुवा दलबहादुरले बताए।

प्रतिष्ठानले उपचारका लागि पठाउँदा आँखामा चोट लागेकै ६ दिन वितिसकेको थियो । आइसोलेसनको बसाई र सीमित औषधि मात्रै सेवनका कारण समीक्षाको तत्काल गर्नुपर्ने आँखाको उपचार भने जस्तोहुन पाएन । सुधार हुनुपर्ने आँखामा समस्या थपिँदै गयो ।

विराटनगर आँखा अस्पताल ल्याएर उपचार थालिए पनि चिकित्सकले दृष्टि गुमिसकेको जानकारी गराएका छन् । उपचारमा संलग्न चिकित्सक विवेक आचार्यले आँखाको नानीमा नराम्ररी चोट लागेको र उपचारमा ढिलाई हुँदा दृष्टि गुमेको जानकारी दिए । ‘आँखाको नानीमा चोट लाग्दा जति सक्दो छिटो उपचार गर्नुपर्ने ठाउँमा चोट लागेको एक सातापछि मात्रै उपचार सुरु भयो,’ उनले भने, ‘उपचारमा ढिलाई भएकै कारण दृष्टि फर्कने सम्भावना लगभग सकिएको छ ।’ डा.आचार्यले आँखाको नानी जोगाउन गाह्रो रहेको अवस्थामा अझै पनि उपचार गरेर गुमेको ज्योति फर्काउनका लागि परिवारका सदस्यसँग छलफल गरेर धेरै प्रयास भइरहेको जानकारी दिए ।

‘उदयपुरबाट आएको बिरामी भन्नासाथ मुख्य समस्यालाई ध्यान नदिइकन प्रतिष्ठानले आइसोलेसनमा राखिदियो । त्यहाँमाथि दुखाईको पीडाले छोरीको शरीरको तापक्रम पनि बढ्दै गयो । आँखामा समस्या भएको बिरामीलाई आइसोलेसनमा राखिएपछि उपचारमा समस्या भयो,’ दलबहादुरले भने, ‘आँखाको उपचार नै रोकियो । बरु सुरुमै आँखा अस्पताल जानु भनिदिएको भए ढिलो हुने थिएन । छोरीको दृष्टि पनि गुम्ने थिएन ।’

स्थानीय लिटिल स्टार स्कुलको कक्षा ८ मा अध्यनरत समीक्षा फुटबल खेलाडी हुन् । स्थानीय तहदेखि काठमाडौंमा आयोजित विभिन्न प्रतियोगितामा उनले सहभागिता जनाइसकेकी छन् ।

महिला फुटबल प्रशिक्षक भगवती रानामगरले समीक्षाको उपचारमा सहयोग गर्न सबैमा आग्रह गरेकी छन् । ‘विभिन्न प्रतियोगितामा खेल्दै आएकी समीक्षाको पछिल्लो अवस्था निक्‍कै दर्दनाक बन्यो । अग्रपंक्तिमा खेल्ने उनको सम्भावना निक्कै राम्रो थियो,’ प्रशिक्षक रानागरले भनिन् , ‘मेरै प्रशिक्षणबाट उनले निक्कै छिटो खेल कौशल विकास गरेर लगेकी थिइन् । तर आज नियतिले ठगेपछि आँखाको चोटका कारण भविष्य के हुने हो भन्ने अन्योल छ ।’

उनले नेपाली फुटबलमा निक्कै सम्भावना बोकेकी समीक्षाको उपचारमा सहयोग गरेर खेल क्षेत्रको सम्मान गरिदिन आग्रह गरिन् । पारिवारिक आर्थिक अवस्था कमजोर भएसँगै उनको उपचारमा पैसाको पनि अभाव हुन थालेको प्रशिक्षक रानामगरको भनाइ छ । उपचारमा सहयोग पुर्‍याउन अखिल नेपाल फुटबल संघ (एन्फा) र स्थानीय क्लबहरुले सहयोग संकलन गर्न थालेका छन् । शुक्रबार एन्फाका तर्फबाट सहायक महासचिव बसन्त अर्यालले २५ हजार रुपैयाँ हस्तान्तरण गरे । विराट सांग्रिला स्पोर्टिङ क्लबले समेत २५ हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराएको क्लबका अध्यक्ष समेत रहेका एन्फा केन्द्रीय सदस्य रुपेश अधिकारीले बताए ।

ज्वरो आएको भनेर कोरोनाको आशंका गर्दै प्रतिष्ठानले आइसोलेसना राखिदिँदा समय खेर गएर आँखाको उपचार समयमा हुन नपाएको अधिकारीको भनाइ छ । उनले अहिलेको अवस्थामा ज्वरो आउनासाथ कोरोनाकै शंकाले हेर्ने अस्पतालको संस्कारले सर्वसाधारणलाई समस्या पर्दै गइरहेको बताए ।

उदयपुरमा हालसम्म नेपालमै सबै भन्दा बढी २८ जनामा कोरोना संक्रमण भेटिएको छ । उदयपुरका बिरामी आउनसाथ सबै जसो अस्पतालले शंकास्पद रुपमा हेरिदिने र अरु समस्या हुँदा उपचार गर्न अस्वीकार गर्ने तथा यो वा त्यो बहानामा ढिला गरिदिने परिपाटी बढेको अधिकारीको भनाइ छ । समीक्षाका एक दाइ र एकजना दिदी छन् । परिवार खेती किसानीमा आश्रित छ । किशोर बुढाथोकीले अन्नपूर्ण पोष्टमा समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *