पोर्तुगलमा रहेका नेपाली संघ संस्थाका प्रमुख, अगुवा र समाजसेवीहरुको ध्याकर्षण होस् !

Spread the love

– योगेन्द्रमिलन छन्त्याल

कोरोना भाइरस (कोभिड १९) महामारीले विश्वमै भयावह फैलिएको छ । पोर्तुगल पनि अछुतो छैन । पोर्तुगलमा कोरोनाले आजसम्म २६६ को मृत्‍यु भैसकेको छ । १० हजार ५२४ जना संक्रमित भएको स्वास्थ्य सेवा निर्देशनालयले जानकारी गराएको छ । ७५ जना संक्रमित उपचारपछि सामान्य जीवनमा फर्किसकेका छन् ।

८१ हजार ८७ जनालाई संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ । एक हजार ७५ बिरामी अस्पताल भर्ना भएका छन् । २५१ जना बिरामी सिकिष्ट रहेको बताइएको छ । संक्रमितमध्ये पाँच हजार ८९२ महिला छन् । पुरुषको संख्या चार हजार ६३२ रहेको छ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

यकिन तथ्याङ्क नभए पनि पोर्तुगलमा २०-२५ हजार नेपाली रहेका छौं । नेपालीहरुलाई पनि कोरोना संक्रमण भएको दु:खद खबर हामीसँग छन् । १९ जना संक्रमितमधे सात जना अस्पताल भर्ना भएका छन् । अन्य १२ जनालाई आफ्नै घर र शिविरको क्वारेन्टाइनमा राखिएको छ । यसैगरी संक्रमण भएको हुनसक्ने सम्भावना औल्याउदै २२ जना नेपालीलाई घर र शिविरको क्वारेन्टाइनमा राखिएको छ । अझै घटना सार्वजनिक गर्न नचाहनेहरु र हाम्रै समुदायका अगुवाहरुले गुपचुप राखेका मामिलाहरु पनि छन् पक्कै ।

खेती कम्पनीबाट घर छोड्न उर्दी दिएका कुरा आएका छन् । लिस्बनमै पनि घर बहालका मामिला बाहिरिएका छन् । ३०-४० जना नेपालीले नेपाल जान पाएमा सहर्ष जाने इच्छा व्यक्त गरिसकेका छन् । यिनीहरुको सही व्यवस्थापनका लागि समाजका अगुवाहरु पक्कै पनि जिम्मेवार हुनुपर्छ । सयौ नव आगन्तुकहरु पाहुनाघरहरुमा अन्यौलग्रस्त दिन गुजारिरहेका छन् ।

नेपाल गएका दर्जनौ ओभरस्टे हुँदैछन् । पारिवारिक प्रवेशाज्ञा पाएका पचासौंको वैध समयावधि सकिदैछ । पोर्तुगलमा रहेका हजारौं कृषि मजदूरहरु वाध्य भएर काममा खटाइएका छन् । काम सकिएकाहरुले सामाजिक सुरक्षा कोष प्राप्त गर्ने प्रकृयाबारे जानकारी पाएका छैनन् । १२ वर्षमुनिका बच्चा हुने अभिभावक र रोजगारदाता कम्पनी बन्द रहँदा कामदारले पाउने आंशिक तलबका लागि पनि प्रकृया नबुझेका सयौ जिज्ञासा आइरहेका छन् ।

यातायात सेवा, सरकारी सेवा र विशेष अवस्थाका नागरिकले पाउनसक्ने सहयोगबारे हजारौ नेपाली अनविज्ञ छन् । नेपालबाट पैसा मगाउने अवस्था पनि छैन । यस्तो विषम परिस्थितिमा कानूनी परामर्श, प्रकृयाबारे जानकारी र पोर्तुगीस नियमबारे प्रष्ट जानकारी मात्र दिन सकिएको खण्डमा जीवनभर भुल्न नसक्ने सहयोग बन्नेछन् ।

सम्भवत निकट भविष्यमा कुनै जटिल समस्या सिर्जना भएमा राहत कोषको पनि जरुरी छ । हुन सक्छ धेरैलाई खान बस्नको समस्या हुन सक्छ । महामारी समाप्तिपछि पनि धेरैले बेरोजगारीको समस्या झेल्नुपर्ने हुन सक्छ । यस्तो समयमा एकले अर्कालाई सहानुभूति राख्नैपर्छ, सक्दो सहयोग गर्नै पर्छ ।

संकटको बेला अभूतपूर्व मेलमिलाप हुनसक्छ । विपत्तिको बेला सम्बन्धमा खटपट पनि हुन सक्छ । यस्तो वातावरणमा समाजकै कोही कसैले सहजिकरण गर्न जरुरी हुन्छ । पोर्तुगलमा अझ खराब स्थिति उत्पन्न भयो भने नेपाली समुदायकोतर्फबाट विभिन्न पोर्तुगीस निकायहरुसँग लबिङ गर्ने, कुनै माग राख्ने वा ध्यानाकर्षण गराउने अवस्था पनि आउन सक्छ ।

छलफलका लागि प्रारम्भमा एउटा अस्थायी संरचना बनाउन सकिन्छ । संरचनामा सबै क्षेत्रका सम्बन्धित व्यक्तिको रुचीअनुसारको जिम्मा दिन सकिनेछ । सबैको प्रष्ट जिम्मेवारी विभाजनसहित नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई भइपरी आउने समस्यामा परमर्श दिन वा सहयोग गर्न सकिने छ । सूचनालाई व्यवस्थित गर्दै जाने हो भने संरचनाको सूचना नै आधिकारिक बन्दै जान सक्छ ।

अन्य देशमा रहेका नेपालीहरुले संगठित हुँदै राहत कोष सङ्कलन गर्न शुरु गरिसकेका छन् । यी सवालहरुमा छलफल चलाउन ढिला भइसकेको छ । पोर्तुगलमा रहेका संघ संस्थाका अध्यक्ष, अगुवा, वुद्धिजीवी, व्यापारी र भलाद्मी महानुभावहरुलाई गम्भीर भएर यी सवालहरुमा छलफल गर्न जरुरी देखिन्छ । नेपाली समुदायका लागि हामी नेपालीहरु जुटौं । लिस्बनका लागि अवैतनिक वाणिज्यदूतावासको ध्याकर्षण होस् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *