तीन सय वर्षअघिको महामारी

Spread the love

– डा. महेशराज पन्त

नेपालमा गम्भीर अध्ययन गर्नेपट्टि कसैको प्रवृत्ति छैन। पछिल्लो उदाहरण नै भनौँ न, २०७२ मा भैँचालो आयो। भैँचालोको आधिकारिक अध्ययन गर्न भनेर यहाँ धेरै संस्था छन्। सरकारी भूकम्प मापन केन्द्र पनि छ। अरूअरू पनि छन्। आमोदमणि दीक्षितले विदेशबाट धेरै रुपैयाँ ल्याएर आफ्ना बाबुलाई सुद्धा कुनै बेला अनुवादक बनाएर राखेको संस्था पनि छ। तर नेपालको प्रचीनतम भैँचालो पत्ता लाउने काम कसैले गरेनन् वा गर्न सकेनन् वा गर्न चाहेनन्। सुन्दा आत्मरति जस्तो सुनिएला तर यो काम मैले नै गरेँ। नेपालमा विसं. १९९० भन्दा अगाडिसम्मको भैँचालोको फेहरिस्त मैले नै तयार पारेर छापेको छु। यहाँ कस्ता मान्छेहरू अधिकारमा बसेर ‘काम’ गरिरहेका छन्, उदेकलाग्दो छ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

अब अहिलेको महामारीको कुरा गर्नुअघि अलि पुरानो कुरा गरौँ। निकट विगत त बिर्सने हामीले यति पुरानो कुराबारे लेख्ने-खोज्ने त परको कुरा, पढ्ने पनि गर्दैनौं। लेखपढ नै जीवनवृत्ति भएकाले पनि गर्दैनौं। लेखपढ गर्न भनेर विदेशबाट-राज्यबाट पैसा पाउनेले पनि गर्दैनौं।

नेपालमा महामारीबारे पनि एक दुइटा लेख फाट्टफुट्ट रूपमा अखबारमा पढ्न पाइयो। भनिएको छ, हरेक सय वर्षमा महामारी आएका छन्। सन् १७२०, १८२०, १९२० र २०२० मा महामारी आए भनिएको छ।

म साताका सात दिनमा सात थरी विषयमा अनुसन्धान गरिरहेको हुन्छु । हाल मैले यो अनुसन्धानलाई महामारीमा अलि बढी केन्द्रित र तीव्र पारेको छु।

जब मानिसहरू समूहमा बस्न थाल्छन्, त्यसले नगरको रूप लिन्छ। नगरको बाक्लो बस्तीमा औपसर्गिक अर्थात् सरुवा रोगहरू अलि व्यापकै हुन्छन्। गाउँमा पनि महामारी हुन्छ तर सघन बसोबास नहुने हुँदा अलि कम मानवीय क्षति हुन्छ।

महामारीहरू सभ्यतासितै आउँछ। यो अनौठो कुरा होइन। अब अहिले त संसारै ग्लोबलाइजेसनले एकजस्तै भएको छ। हामी एकछिन काठमाडौंमा हुन्छौँ, एकछिनमा फ्र्यांकफर्टमा। यस्तो तीव्र चलमलले राम्रो-नराम्रो सबै फैलिन्छ नै।

हामी सानो बेलामा के गर्थ्यौं भने साउने संक्रान्तिमा लुतो नफालीकन मौसमी फलफूल खान पाउँदैनथ्यौं, खाँदैनथ्यौं। आरु, काँक्रोहरू लुतो नफाली खाइँदैनथियो। अहिले अब काँक्रो हामी सधैँ पाउछौँ। यसले हामीलाई असर गरेको छ कि छैन, यहाँ कसले अध्ययन गरेको छ र ? भएका अलिअलि अध्ययन पनि कसले पढेको छ र ? कसले खोजी खोजी छापेको छ र ? जाडोका उत्पादन गर्मीमा र गर्मीका उत्पादन जाडोमा खान पाइने भएको छ। विज्ञानको वरदान हो कि अभिषाप ?

अब आजभन्दा तीन सय वर्षअघिको महामारीबारे कुरा गरौँ।

१७७२ चैतमा देखापरेको त्यो महामारीको अन्तिम परिणति चाहिँ कहिले भयो भने १७७९ भाद्रमा । महामारीको सात वर्षको अन्तरालमा राजा भाष्कर मल्ल (प्रताप मल्लका पनाति) समेतको देहान्त भयो।

काठमाडौं सहरमा तीन कुमारी थिए। तीनवटै कुमारीको पनि देहान्त भयो। कुमारीको आसन त खाली राख्न भएन भनेर चाबहिलमा भएकी अर्की कुमारी ल्याइयो।

अहिले प्रधानमन्त्री भने जस्तो त्यतिबेला चौतारा भन्थे। चौतारा थिए, झगल ठाकुर । उनको गणनाअनुसार काठमाडौंमात्यस महामारीले १८ हजार ७१४ मान्छे मरे। पाटन र भादगाउँमा पनि यो महामारी फैलिए पनि खास प्रकोप चाहिँ काठमाडौँमा बढी भएको देखिन्छ।

त्यसबेला काठमाडौं सहरमा १८ हजार घर थिए। यसको अर्थ हरेक घरबाट एक-एक जना मान्छे मरेछन्। यो त्यतिबेलाको जनसंख्याअनुसार धेरै ठूलो हताहती हो।

अब यो रोग के हो त ? हैजा हो कि ? बिफर हो कि ?

यो चाहिँ प्लेग जस्तो देखियो। किनभने सुरुमा मुसाहरू मर्न थाले। पछि पशुपक्षी मर्न थाले। केही कालपछि मात्र मानिसमा आक्रमण भयो भनिएको छ।

विसं. १७७२ को अन्त्यतिर क्रिश्चियन धर्म प्रचार गर्दै पादरीहरू काठमाडौं आइपुगे। पोर्चुगलबाट आएको जेस्युट पादरी इमानुयल फेयर भन्नेले आफ्नो यात्रा वृत्तान्तमा यहाँको महामारीबारे लेखेका छन्। यी भोटबाट आएर काठमाडौंमा पाँच महिना बिताएका थिए।

नेपालमा धर्म प्रचार गर्न दुई थरी पादरीको प्रतिस्पर्धा थियो। जेस्युट र क्यापुचिन। क्यापुचिन पादरीहरू कालोकालो खैरोखैरो पोसाक (गाउन) लाउँथे। हाम्रो धर्मअनुसार त कालो लुगा अपशकुन हुने भयो। एकथरीले के आवाज उठाए भने देउता रिसाए। अर्काथरीले के प्रचार गरे भने राजाले पशुपक्षीलाई बन्धनमा पारेका हुनाले यो अनर्थ भयो।

राजा भाष्करको एकप्रकारको चिडियाखाना थियो। उनी कुुकर पनि पाल्थे। राजा कुकुरसित अत्यन्त आसक्त भएका हुनाले कुकुरबाट यस्तो भयो भनियो। पशुपक्षीलाई बन्धनमा राखेको हुनाले यस्तो महामारी आयो भन्ने हल्ला फैलियो।

त्यतिबेलाका राजा हनुमानढोका दरबारमा बस्थे। उनको आउटहाउस थियो। आउटहाउस किमडोलमा थियो। मेरो घरबाट १० मिनेट जति पश्चिमतिर पर्छ, अहिले यो। किमडोलमा अहिले एउटा बिहार पनि छ।

हाम्रा शाहवंशी राजाहरूको आउहाउस नागार्जुनमा भएजस्तै भास्कर मल्लको बेग्लै घर थियो, किमडोलमा। चौतारा झगल ठाकुरले के विचार गरे भने राजालाई त रोग लाग्न दिनुभएन। उनका दुई विवाहिता रानी, दुई रखौटी र एक जना काम साम गर्ने टहलुवालाई पर्याप्त खानेकुरा राखेर त्यहाँ ‘क्वारेन्टिन’मा राखे।

राजा त्यहाँ बस्दै थिए । चार-चार जनासित छानी छानी रसरंग पनि गर्दै थिए। एक वर्ष, छ महिना हैन, उनलाई बस्दाबस्दा उकुसमुकस भयो। बन्धन तोडेर उनी एक दिन हनुमानढोका आए। रानीहरू पनि पछिपछि लागेर आए। त्यही रात आधा रातमा हनुमानढोकामा राजाको देहान्त भयो।

आफूलाई सूर्यवंशी बताउने जयस्थिति मल्लको पालादेखि चलेको बाबुपछि छोरा-नातिराजा हुने परम्परा काठमाडौंमा टुट्न पुग्यो। उनीहरूको वंशको अन्त्य भयो। पछि यिनीहरूकै खलकको छोरीपट्टिका जगतजय मल्ललाई ल्याएर राजा बनाइयो। स्मरण रहोस्, जगतजय मल्लकै छोरा जयप्रकाश मल्ल काठमाडौंका अन्तिम राजा भए।

आफ्ना प्राणप्रिय पति भाष्कर मल्ललाई महामारीले लगेपछि जेठी रानीले चौतारा ठाकुरलाई के भनिन् भने मेरा पतिको अकालमा देहान्त भयो, यिनको नाममा मन्दिर पनि बनाइदिनुपर्‍यो।

अनि रानीकै आग्रह अनुसरण गरी झगल ठाकुरले मखनटोलमा जगन्नाथको मन्दिर पनि बनाए। ‘जगन्नाथ सम्प्रदाय र नेपाल’ शीर्षकमा मैले मेरो पुस्तक ‘जनैपूर्णिमादेखि रानीपोखरीसम्म’ यो कुरोको विस्तारमा चर्चा गरेको छु। पुस्तकमा जगन्नाथ मन्दिरको फोटो पनि हालेको छु।

अब यहाँ एउटा रोचक कुरा के छ भने नेपालमा यो महामारी फैलिएको पाँच वर्षपछि युरोपमा यस्तै लक्षणको महामारी फैलियो। मैले गहिरो अध्ययन त गरेको छैन, तर धरै महामारी पूर्वबाट पश्चिम सरेको देखिन्छ। युरोपमा फैलिएको त्यो महामारीमा दुई वर्षको अन्तरालमा १ लाख मान्छे मरे भनिन्छ।

अहिलेको ग्लोबलाइजेसनले जे कुरा पनि अलि चाँडो फैलिन्छ। जे चाँडै फैलिन्छ-बढ्छ, त्यो चाँडै मर्छ-सकिन्छ पनि।

तीन सय वर्षअघिको त्यो महामारीमा यहाँ कतिको त दाहसंस्कारसमेत गर्न सकिएन। स्यालले आएर खाएको पनि भनिएको छ।

त्यतिबेला धेरैलाई अपुताली पनि पर्‍यो। सरकारलाई एक हिसाबले फाइदा पनि भयो। तीन सहरबाहेक अन्तको रेकर्ड छैन। यहाँका नेवार र प्रचारक पादरीले लेख, भोगे। अनि हामीले पढ्न पायौँ। यो लकडाउन अवधिका पत्रपत्रिका मकहाँ आएका छैनन्। पछि यो समयका अखबारको महत्व हुनेछ।

पाश्चात्यहरू हरेक सय वर्षमा महामारी आउँछ भन्छन्। हाम्रा पूर्वीय लिखतमा भने हरेक १२० वर्षमा महामारी आउँछ भनी लेखिएको देखिन्छ।

विसं. २०१५ को बर्खामा हैजाको महामारी आउँदा म १४ वर्ष पनि पुगेको थिइनँ। अहिले कोरोना भाइरसले झनै चर्चित भएको टेकु अस्पताल छ नि- यसलाई हामी सानो हुँदा ‘हैजा अस्पताल’ भन्थ्यौं। नामै हैजा अस्पताल चलेको थियो।

यो हैजा प्रकोपमा पनि धेरै मान्छे मरे।

यो कोरोना भाइरसले बूढाबूढीलाई बढी असर गर्छ भन्छन्। यस्तो देखिएको पनि छ। तर मलाई यसले केही गर्दैन कि जस्तो लाग्छ। म स्वास्थ्यमा धेरै विचार गर्छु। मलाई नछोला किनभने मैले पूरा गर्नुपर्ने अनुसन्धान धेरै नै बाँकी छन्। – अन्नपूर्ण पोष्टबाट

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *