‘ओलम्पिकमा पनि देशका लागि पदक जित्ने चाहना छ’

Spread the love

नेपालगञ्ज । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ‘साग’मा भारोत्तोलन खेल इतिहासमा पहिलो स्वर्ण पदक जित्ने महिला खेलाडी बन्न सफल हुनुभएकी नेपालगञ्ज निवासी सञ्जु चौधरीको आगामी लक्ष्य देशका लागि अझै धेरै पदक जित्ने रहेको छ ।

नेपालमै सम्पन्न भएको १३ औँ सागमा ५९ केजी तौल समुहमा प्रतिस्पर्धा गर्नुभएकी सञ्जुले भारोत्तोलन खेलको इतिहासमा ऐतिहासिक स्वर्ण जितेर कीर्तिमान कायम गर्नुभयो । उहाँ सागमा स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला खेलाडी पनि बन्नुभयो ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

यसअघि नेपालगञ्जकै भारोत्तोलन खेलाडी सुरेन्द्र हमाल पनि देशकै तर्फबाट पहिलो अन्तराष्ट्रिय पदक जित्ने खेलाडी बन्नुभएको थियो । हमालले सन १९८३ मा सिरियामा भएको ३५ औं एसियन च्याम्पियनशिप भोरोत्तोलन प्रतियोगितामा कास्य पदक जितेर देशकै लागि पहिलो अन्तराष्ट्रिय पदक जित्ने खेलाडी बन्नुभएको होे ।

सागमा स्वर्ण पदक जितेपछि अब एशियाली खेलकुद र ओलम्पिकमा राष्ट्रका लागि धेरै पदक जित्ने सञ्जुको चाहना छ ।

१३ औँ सागमा सञ्जुले स्न्याचतर्फ ७५ र क्लिन एन्ड जर्कमा ९७ गरी कुल १७२ केजी भार उठाउनु भएको थियो । साग खेलको इतिहासमा महिला भारोत्तोलनतर्फ नेपालले १२ औँ सागदेखि सहभागिता जनाएकोमा १३ औं मै यति ठुलो उपलब्धि प्राप्त गर्न सफल भयो ।

१३ औँ सागमा स्वर्ण पदक जित्दाको क्षणलाई आफ्नो जीवनको अविष्मरणीय क्षण रहेको उहाँले बताउनुभयो । सञ्जु भन्नुहुन्छ, “अबको लक्ष्य भनेको एशियाली खेलकुद र ओलम्पिकमा देशका लागि पदक जित्नलाई रहनेछ ।”

केही महिनापछि आयोजना गर्ने भनिएको ओलम्पिक खेलमा सहभागी हुने अवसर प्राप्त भएमा देशका लागि राम्रो गर्ने चाहना उहाँको छ ।

“एशियन गेम र ओलम्पिकमा पदक नै जित्छु त अहिले भन्न सक्दिन तर, सागमा देखाएको खेल प्रदर्शनमा सुधार गर्दै राम्रो प्रदर्शन गर्ने मेरो लक्ष्य र चाहना हो । सोही अनुसार परिश्रम गरिरहेकी छु ।”–सञ्जुले आफ्नो तयारी बारे उल्लेख गर्नुभयो ।

१३ औँ सागमा स्वर्ण पदक जितेपछि नेपाल पुलिसले गत माघ २८ गतेदेखि खेलाडी कोटामा उहाँलाई जागिर दिएको छ । जागिर पाएपछि निकै प्रफुल्लित सञ्जुले अब खेलमा कसरी टिकिरहने भन्ने चिन्ता समाप्त भएको बताउनु भयो ।

उहाँले अहिले खेलाडीका लागि खेलमा टिकिरहनु नै सबैभन्दा ठुलो चुनौती रहेको बताउनुहुन्छ । आफूले जागरि पाएपछि सो चिन्ता समाप्त भएको उहाँले बताउनु भयो । सिराज खानले गोरखापत्रमा समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *