प्रहरी महानिरीक्षकमा प्रकाश अर्याल

२८ चैत, काठमाडौं । डिआईजी प्रकाश आर्याल प्रहरी महानिरीक्षकमा नियुक्त भएका छन् । कार्य सम्पादन मूल्यांकनको आधारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई प्रहरी प्रमुखमा नियुक्त गरेको हो ।

उनलाई महानिरीक्षक बनाउने विषयमा सत्तारुढ दलहरु कांग्रेस, माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच मत ऐक्यता भएको थियो । केही दिनअघि कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा राप्रपा अध्यक्ष कमल थापाबीच अर्याललाई महानिरीक्षक बनाउने सहमति भएको थियो ।

सरकारले फागुन १ प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई गरेको नियुक्ति सर्वोच्च अदालतले खारेज गरिदिएको थियो । अदालतले कार्यसम्पादन मूल्यांकनका आधारमा वरियतालाई आधार बनाएर प्रहरी प्रमुख नियुक्त गर्न सरकारको नाममा आदेश दिएपछि फागुन १ को निर्णय निष्त्र्किय भएको थियो । सो आधारमा सबैभन्दा बढी अंक अर्यालको देखिएपछि सोमबारको मन्त्रिपरिषदले उनलाई महानिरीक्षक नियुक्त गरेको हो ।

कार्यसम्पादन मूल्यांकनमा डिआइजी नवराज सिलवालभन्दा अर्याल अगाडि देखिएपछि उनैलाई महानिरीक्षक बनाउन तयार भएका हुन् ।

प्रहरी प्रमुख नियुक्तिको विवाद लम्बिएपछि डेढ महिनादेखि प्रहरी संगठन निमित्त आइजीको भरमा चल्दै आएको थियो । फागुन २ मा आइजिपी उपेन्द्रकान्त अर्याल र ११ एआइजीले अवकाश पाउने भएपछि १ गतेको मन्त्रिपरिषद् बैठकले चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय गरेको थियो । 

सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । डिआइजी नवराज सिलवालले आफू महानिरीक्षक हुनुपर्ने जिकिर गर्दै अर्को रिट दायर गरेका थिए ।

फागुन १ गते अन्तरिम आदेशमार्फत् नियुक्ति बदर गरेको सर्वोच्चले चैत ८ मा पूर्ण इजालसबाट चन्द आफ्नो निर्णयलाई कायम राखेको थियो । प्रधान न्यायाधीश सुशील कार्कीसहितको इजालसले सरकारलाई कार्य सम्पादन मूल्यांकनका आधारमा महानिरीक्षक नियुक्ति गर्न आदेश दिएको थियो ।
- नागरिक