मानिसको रगत उमाल्ने यी जनवादी गायकहरु के गर्दैछन् ?

अर्घेलो थापा, काठमाडौं ९ वैशाख - भनिन्छ, गीत संगीत चेतनाको सूचक हो । समाजका विकृति विसङ्गतिलाई अन्त्य गर्न गीत महत्वपूर्ण माध्यम हुने ठानिन्छ । गीतकै माध्यमबाट समाजमा चेतना फैलाउने सशक्त र महत्वपूण धार प्रगतिशील धार धार हो । 

गीतलाई मनोरञ्जन र दुख बिसाउका लागि मात्र लिइने चलन एकातिर छ नै । अर्कोतिर प्रगतिवादी गायकले गीतकै माध्यमबाट समाज परिवर्तन गर्ने जमर्को गर्छन् । गरीब तथा निम्नवर्गका गीत गाउने गायकले समाज परिवर्तन गर्ने सपना देखेकै हुन्छन् । उनीहरुले गाएका गीत यति प्रभावकारी हुन्छ की सुन्नेहरुको रक्त सञ्चारमै असर पार्छ, सुन्नेको रगत उम्लन्छ । क्रान्तिका यस्ता गीत गाउने गायकहरु नेपालमा पनि नभएका होइन् जसले नेपालका गाउँ, पखा, तराईका तल्लो तहका जनतालाई गीतको संगीतको माध्यमले राजनीतिक चेतना बाड्ने गरेका छन् । 

राजनैतिक क्रान्तिसँगै नेपालमा जनवादी गीत गाइन थालेका हुन् । ‘उस्तैछ हामीलाई पिरालो,उस्तैछ हाम्रो अवस्था’, ‘सिमली छायाँमा बसी’ यसपाली त यस्तै भो आमा, सुसेली हालेर वनमा लगायतका कयौं चर्चित गीत गाएका रक्तिम गायक जीवन शर्माका आजभोलि क्रान्तिकारी गीत कमै सुनिन्छन् । दशकौंपछि नेपालमा आएको राजनैतिक परिवर्तनसँगै गीतमा पनि परिवर्तन आएको छ ।
त्यतिबेला गाउँ गाउँ पुगेर गीतमार्फत जनचेतना फैलाएका जनगायक जीवन शर्माले समाजमा गीतले धेरै नै प्रभाव पार्ने बताउँछन् । ‘कुनैबेला टुकी बालेर मmझेरीमा गीत गाउनुपर्ने स्थिति थियो । अहिले महोत्सव तथा देश विदेशका स्टेजमा गीत गाइन्छ ।’ शर्मा भन्छन्, ‘समाजमा सबैभन्दा धेरै प्रभाव पार्ने गीतले नै हो ।’
अहिले भने शर्माले निम्न वर्गका गीतभन्दा राष्ट्रियताका गीत गाउन थालेका छन् । गीतले मान्छेको भावनालाई जोड्ने भएकाले नै राष्«िटय गीत गाउन थालेको शर्माले लोकान्तरलाई बताए । ‘राष्ट्रिय भावनाका गीतले नेपाली एकताको भावनालाई प्रगाढ बनाएको छ । अहिलेको अवस्थालाई हेर्दा हामीले राष्ट्रिय गीत गाउने अवस्था सृजना भएको छ ।’ शर्मा सुनाउँछन्, ‘अहिले पनि गरीब तथा दुखी जनताका गीत गाउँदै हिँडेको छु ।’
गीतले शर्माको जिन्दगीमा कायापलट ल्याएको छैन । न त प्रगतिशील गीतमा कुनै ठूलो परिवर्तन गरेको छ । ‘समाज धेरै स्वतन्त्र भैसक्यो नि । कुनै समय यसरी गीत गाएर हिँड्न, कसैले भष्ट्राचारको आरोप लगाउन पाइँदैन्थ्यो ।’ उनी थप्छन्, ‘हाम्रा सपनाले पूर्ण साकार हुन त पाएका छैनन्, तर भविष्यमा सबै सपना पूरा हुनेछन् ।’

गीतकै माध्यमबाट समाज परिवर्तन गर्नुछ भन्ने शर्माले कुनै दिन समानता नभइ सुखै नभएको पनि स्पष्ट पार्छन् ।

अर्का जनवादी गायक जेवी टुहुरेले आफ्नो गीत गाउने उमेर सकिएको बताउँछन् । तेत्तीस वर्षदेखि गीत गाउँदै हिँडेका गायक यतिबेला भने चुनावी माहोलका लागि प्रचारमा छन् । अहिले चुनावी गीतमा उनी व्यस्त छन् ।

खासगरी उनले आफ्ना गीतमा महिलाका आवाजलाई बढी उठान गरेको पाइन्छ । ‘आमा दिदीबैनी हो, कति बस्छौ दासी भै’ बोलको गीत उनको चर्चित गीत पनि हो । महिला पछाडि पर्नुहुन्न भन्ने भावना राख्ने यी वामपन्थी विचारधाराका गायकले गीतले समाजमा प्रभाव पारेको रहेछ भन्ने लागेको जेवी बताउँछन् । टुहुरे माओवादी केन्द्रका तर्फवाट सांसद छन् ।

‘हामीले गाएका गीतहरुको प्रभाव रहेछ । त्यतिबेला महिला चेतनशील थिएनन् । अहिले भने धेरै ठाउँको माथिल्लो तहमा महिलाको पहुँच छ ।’ उनी खुसी व्यक्त गर्दै सुनाउँछन्, ‘एक प्रकारले हाम्रो गीती आन्दोलन सफल भएको छ ।’

अर्का प्रगतीशील गायक खुसीराम पाख्रिन पनि आफ्ना गीतमार्फत समाजको परिवर्तनका लागि भूमिका खेलेको बताउँछन् । आजभोलि पनि गीत संगीतमै व्यस्त पाख्रिन राष्ट्रिय गीत गाउन थालेका छन् । ‘अहिले श्रमजिवी तथा मजदुर वर्गका गीतहरू गाउन पाएको छैन ।’ कुनै समय मजदुर वर्गका गीतलाई बढी समय दिने पाख्रिन भन्छन्, ‘हिजोका गीतहरुले पनि एउटा आन्दोलन सफल बनाउन योगदान दियो ।’

समाज अझै पनि समाजवाद तथा साम्यवादमा जान नसकेको बताउने पाख्रिन आफ्ना गीतमा अझै पनि किसान वर्गका गीतहरु गाउने बताउँछन् । ‘किसान तथा मजदुर वर्गको अझै अन्त्य भएको छैन ।’ संविधानसभाको पूर्व सदस्य समेत रहेका पाख्रीन थप्छन्, ‘वर्गीय गीतहरु गाएर अझै सकिएको छैन ।’

‘हामी सामाजिक प्राणी भएकाले समाजअनुसार चल्नुपर्ने हुन्छ । अहिले हामीले राष्ट्रिय गीत गाउनुपर्ने स्थिति आएको छ । कुनै बेला फेरि किसान वर्गका रक्तिम गीत गाउने स्थिति पनि आउन सक्छ ।’
- लोकान्तर डट कम