गाउँको स्कूल, सहरियाको आकर्षण

दिल शिरीष, बागलुङ: गाउँको सामुदायिक विद्यालय । दैनिक यात्रामा भाडा तिरेर र पैदल हिँडेर आउने विद्यार्थी । घरनजिकै स्कुल नभएर पनि होइन । सुन्दा अपत्यारिलो लाग्ने यो यथार्थ बागलुङको नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयको हो । सामुदायिक विद्यालय भए पनि विद्यार्थीको आकर्षण देख्दा यसले कुनै नाम चलेको निजी स्कुलको झल्को दिन्छ ।यस विद्यालयमा बागलुङका साथै पर्वत, म्याग्दी, कास्की, कुश्मा, काठमाडौं, चितवनलगायतका जिल्लाका विद्यार्थी अध्ययनरत छन् ।

विभिन्न जिल्लाबाट र निजी विद्यालय छोडेर एक सयको हाराहारीमा विद्यार्थीहरू अन्यत्रबाट पढ्नका लागि आएको विद्यालयले जनाएको छ । ‘पर्वतको कुश्माबाट मासिक रूपमा यान्त्रिक पुलमा मात्र दुई हजारको हाराहारीमा भाडा तिरेर र आधा घन्टाको दूरीमा पैदल हिँडेर विद्यार्थीहरू पढ्न आउने गरेका छन्,’ गणेश माविका प्रधानाध्यापक चूडामणि सुवेदी भन्छन्, ‘विद्यालयले प्रदान गरेको गुणस्तरीय शिक्षाका कारण सदरमुकाममै थुप्रै संस्थागत विद्यालय छोडेर र भाडा तिरेरै अभिभावकले आफ्ना बालबालिका हामीकहाँ पठाउने गरेका छन् ।’

स्कुलमा कुश्माबजारबाट आठजना विद्यार्थी दैनिक रूपमा आउने जाने गरेका छन् । अन्य जिल्ला र जिल्लाभित्रका दमेक, धुल्लुबास्कोट, बागलुङ बजारबाट पनि विद्यालयको होस्टेल, आफन्तको घर र गाउँमा कोठाभाडामा लिएर बस्ने/पढ्नेको संख्या पनि ठुलो रहेको सुवेदी भन्छछन् । सुलभ शुल्कमा सञ्चालित विद्यालयको होस्टेलमा दिवा र रात्रि गरी अहिले एक सय ५० विद्यार्थी छन् ।

विद्यार्थीमैत्री शिक्षण सिकाइ, अंग्रेजी माध्यममा पढाइ, कम्प्युटर साइन्स, विविध सिर्जनात्मक शैली र अभ्याससहित पठन पाठन, विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी), अतिरिक्त कक्षा तथा क्रियाकलाप र चुस्त व्यवस्थापनका कारण गणेश मावि देशकै नमुना विद्यालयको रूपमा स्थापित छ । २०६५ सालदेखि यस विद्यालयमा कक्षा नर्सरी देखि १० सम्म अंग्रेजी माध्यम र कक्षा ४ देखि १० सम्म कम्प्युटर साइन्सको कक्षा सञ्चालन गरिएको छ । हाल ६ सय ९२ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा बाल विकास केन्द्रका आठ बालबालिकासहित सात सय विद्यार्थी छन् ।

‘हाम्रो विद्यालयको अन्य फरक विशेषता भनेको नैतिकता, अनुशासन, स्थानीय सामाजिक संस्कारसहितको व्यावहारिक शिक्षा पनि हो,’ प्रअ सुवेदी भन्छन् । कुनै पनि बन्दका बेला विद्यालय बन्द हुँदैन, सार्वजनिक विद्या र अन्य लामा हिउँद र बर्खे बिदाको बेला पनि पढाइलाई जोड दिने गरेको छ स्कुलले । २०६५ सालदेखि एसएलसी परीक्षा दिन सुरु गरेको गणेश माविले हरेक वर्ष शतप्रतिशत नतिजा हासिल गर्दै आएको छ । ग्रेडिङ सिस्टम लागू गरेपछि पनि विद्यालयको नतिजा उत्कृष्ट आएको विद्यालयको भनाइ छ ।

विद्यालयमा विद्यार्थीको गतिविधि निगरानी गर्न सीसी क्यामरा जोडिएको छ भने बिहान पौने दसबजे लाइनमा बस्दा दैनिक रूपमा सामान्य ज्ञानसम्बन्धी प्रश्न सोध्ने र पुरस्कृत गर्ने गरिएको छ । गणेश माविले उत्कृष्टता प्रदर्शन गरेपछि त्यस क्षेत्र आसपासमा रहेको वरिपरिका विद्यालयलाई पनि जबर्जस्त शैक्षिक गुणस्तर सुधार गर्न समेत दबाब पुगेको छ । यस विद्यालयमा १५ जना दरबन्दीका शिक्षक, २३ जना निजी स्रोतका शिक्षक कार्यरत छन् । सुरुमा त्यहाँ पुग्ने सबैलाई लाग्छ, यति ठूलो संख्यामा रहेका शिक्षकको तलब व्यवस्थापन स्थानीय स्तरमा कसरी गरिएको होला ? विद्यालयका शिक्षक र अभिभावकको सहज जवाफ छ, ‘शिक्षक र अभिभावकले चाहे हरविषय सम्भव हुँदोरहेछ ।’

विद्यालयको शैक्षिक गुणस्तर कायम राख्दै समय सापेक्ष, व्यावसायिक, सीपमूलक, व्यावहारिक प्रविधियुक्त शिक्षा प्रदान गर्न राज्यले दिएको जनशक्ति अपुग भएपछि स्थानीय सामाजिक अगुवा र अभिभावकको साथ सहयोगमा विद्यालय सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण श्रेष्ठ बताउँछन् । ‘सामुदायिक विद्यालयमा यति ठूलो संख्यामा निजी स्रोतका शिक्षक राखेर पठनपाठन गर्नु धेरै चुनौतीको कुरा हो,’ बिव्यस श्रेष्ठ भन्छन्, ‘निजी स्रोतका शिक्षकको मासिक तलबमात्रै अहिले दुई लाखभन्दा बढी लाग्ने गरेको छ, हामीले अभिभावकको सक्रिय साथमा जोहो गरेर चुनौतीलाई अवसरमा बदल्न सफल भएका छांै ।’ अभिभावकको चासो, समुदायको माया र शिक्षकहरूको अतुलनीय योगदानका कारण सामुदायिक विद्यालयको गुणस्तर कमजोर हुन्छ भन्ने परम्परागत सोच र मान्यतालाई बदल्न आफूहरू सफल भएको विद्यालयको दाबी छ ।

‘धेरै अभिभावकले निजी स्कुल खोज्दै छोराछोरीलाई बागलुङ र पर्वत सदरमुकाम लैजान सुरु गर्नुभएको थियो, विदेशमा रहेका दाजुभाइका परिवार सहर झर्ने र गाउँ रित्तिने क्रम बढ्न थालेको थियो । तर अहिले गणेश माविले यो प्रवृत्तिलाई थोरै भने पनि कम गरेको छ; श्रेष्ठ भन्छन्, ‘स्थानीय स्तरमै गुणस्तरीय शिक्षा आर्जनको वातावरण तयार गरेपछि बोर्डिङ लगिएका दर्जनौं विद्यार्थी फर्किएका छन्, मजस्ता थुप्रै अभिभावक पनि सन्तुष्ट छौं ।’

गुणस्तरीय शिक्षा र विद्यार्थी अभिभावकको समेत रोजाइको केन्द्र बनेको विद्यालयले आफूलाई अहिलेकै हैसियतमा राख्न कष्ट नबेहोरेको पनि होइन । विद्यालयको दिगो आम्दानीको स्रोत नभएकाले निजी स्रोतका शिक्षकलाई तलब खुवाउन बेलाबेला समस्या देखिएको छ ।

यस्तै समस्याबाट मुक्ति पाउन विद्यालयले गत मंसिर २८ देखी पुस ५ सम्म श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ गरेर दिगो कोष व्यवस्थापन गरेको छ । धेरैजसो संघसंस्थाले पुण्यप्राप्ति, मठमन्दिर निर्माणलगायतका उद्देश्य राखेर महायज्ञ गरिने प्रचलन भए पनि विद्यालयले भने शिक्षकलाई दीर्घकालीन रूपमा तलबभत्ता व्यवस्थापन गर्न महायज्ञ आयोजना गरेको स्थानीय अभिभावक सुरेन्द्र आचार्य बताउँछन् । ‘महायज्ञमा संकलित रकमबाट तीन करोड ५० लाखको अक्षय कोष स्थापना गर्न सफल भएका छौ,’ उनी भन्छन्, ‘अब यसलाई दीर्घकालीन स्रोतको रूपमा राखेर ब्याजबाट निजी स्रोतका शिक्षकहरूलाई तलब भत्ताको व्यवस्था गरिनेछ ।’

गणेश माविले नेपाल सरकारले हरेक वर्ष प्रदान गर्ने पुरस्कारअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय पुरस्कार २०७२ स्वरूप एक लाख नगद प्राप्त गरिसकेको छ । विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले पीपी प्रसाई फाउन्डेसन नेपालले हरेक वर्ष प्रदान गर्ने देशभरमै उत्कृष्ट शिक्षक अवार्ड २०७२ पाइसकेका छन् । गणेश माध्यमिक विद्यालयले गुणस्तरीय शिक्षाका लागि गरेको विद्यार्थी केन्द्रित शिक्षण सिकाइ क्रियाकलाप, प्रयास र अभ्यास अनुकरणीय भएको जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्र बताउँछन् । ‘गुणस्तरीय शिक्षाका लागि सधैं राज्यको मुख ताक्ने प्रवृत्तिका विरुद्ध यो राम्रो पहल र सन्देश हो,’ जिशिअ मिश्र भन्छन्, ‘यस्तो प्रयास र सोच अन्य विद्यालयमा पनि आउनुपर्छ, सामुदायिक विद्यालयले पनि गाउँमै धेरै राम्रो गर्न सक्छन् भन्ने देखाउनुपर्छ ।’

गणेश माविले शिक्षण सिकाइमा गरेको प्रगतिलाई अन्य विद्यालयहरूमा पनि प्रयोग गर्ने तयारी जिशिकाले गरिरहेको छ । इन्टरनेट प्रविधिमार्फत त्यहाँ भइरहेको टिचिङ लर्निङलाई हेर्ने अन्तरसंवाद गर्ने वातावरण निर्माणका लागि सोच बनाइरहेको जिशिअ मिश्र बताउँछन् ।
- अन्नपूर्ण पोष्ट