पत्रकारहरुबाट बेल्जियम जनसम्पर्कको समाचार बहिष्कार

बेल्जियम / नेपाल पत्रकार महासंघ युरोप शाखाले नेपाली जनसम्पर्क समिति बेल्जियमका गतिविधिलाई समाचारमा समावेश नगर्ने निर्णय गरेको छ । बेल्जियम काँग्रेसले माफी नमागेसम्म समाचार बहिष्कार गर्ने भएको हो । 

जनसम्पर्कको अधिवेशनमा पत्रकारमाथि अपमान र दुर्व्यवहार भएको थियो । घटनापछि निर्वाचन समिति र जनसम्पर्कले गल्ती स्वीकार गर्नुको साटो आलटाल गरेकोमा शाखाले यस्तो निर्णय गरेको हो । 

घटनाबारे जनसम्पर्क अझै मौन रहेमा केही दिनभित्रै अर्को बैठक बस्ने योजना रहेको छ । बैठकमा निश्चित अबधि तोकेर नै जनसम्पर्कको गतिविधि बहिष्कार गर्ने, केन्द्र तथा विदेशस्थित शाखालाई पत्राचार गर्ने र घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने निर्णयसम्म पुग्ने देखिएको छ । 

युके शाखाले पनि युरोप शाखाको निर्णयप्रति ऎक्यबद्दता जनाएको छ । अध्यक्ष नरेश खपाङ्गीले प्रेस विज्ञप्ति प्रकाशन गरेर जनसम्पर्कको गैह्र लोकतान्त्रिक व्यवहारप्रति निन्दा गरेका छन् । 

यसैगरी मार्च १३ मा सम्पन्न बेल्जियम जनसम्पर्कको चौथो अधिवेशनमा अध्यक्ष प्रत्यासी माधव सापकोटाले पनि घटनाप्रति आत्मालोचना गर्दै माफी मागेका छन् ।