इटलीमा तामाङ, शेर्पा, गुरुङ र ह्योल्मोले सामुहिक ल्होछार मनाए

१३ मार्च / मिलान, इटाली । सामुहिक ल्होछार आयोजक समितिको आयोजनामा इटालीको मिलानमा १२ मार्चका दिन तोला, सोनाम र ग्याल्बो ल्होछारलाई सामुहिक रुपमा शुभ कामना आदान प्रदान तथा बिबिध सास्क्रीतिक कार्यक्रम गरी सम्पन्न गरेको छ । 

आयोजक समितिका संयोजक रेन्जी शेर्पाको अध्यक्षतामा गरिएको कार्यक्रममा मिलान, भारेजे, पिसा, भेनिस, रोम, तोरिनो, पादोभालगायत स्थानमा छरिएर बसोबास गर्ने तामाङ, शेर्पा, गुरुङ, ह्योल्मो जातिका समुदायको उपस्थिती रहेको थियो। विशेष गरेर ल्होछारको बाह्रवटा ल्हो मध्य यो साल चरा वर्ग परेको छ । 

चरा बर्गको स्वागत गर्न तथा यो बर्ष बितेका वर्ष भन्दा अझै बढी सुख , आनन्द र हर्शोउल्लास सङ्ग बितोस भन्ने कामना गर्दै एक आपसमा खुशि साटा साट गर्दै  ल्होछार मनाउने गरिन्छ । बिहान लामा गुरुहरुबाट पुजा पाठ गरि शुभारम्भ गरिएको कार्यक्रम विभिन्न प्रकारका परिकारहरु खादै, नाच गान गर्दै अघि बढेको थियो । 



विभिन्न सेलो भाका , म्हेन्दोमाया, माने दोरा, साथमा कलाकारहरुको नृत्य र साथमा राष्ट्रीय लोक गायिका सकुन्तला थापाको समेत प्रस्तुती रहेको थियो । कलाकारहरु महेश राई र  बिजय रानाको प्रस्तुतिले कार्यक्रमलाई अझै उल्लासमय बनाएको थियो । 

कार्यक्रममा ल्होछार मान्ने समुदाय, ल्होछार प्रेमीहरु र इटालियन समुदायको उपस्थितिले कार्यक्रमको शोभा झनै बढेको थियो । बिदेशमा रहेर पनि आफ्नै गाउघरको सम्झना दिलाउने कार्यक्रममा सहभागी हुन पाउदा प्राय सबै खुशी देखिन्थे । 

कार्यक्रममा उपस्थित हुने, कार्यक्रम गर्न सहयोग गर्ने र कलाकार टोलीलगायत सबैलाई संयोजक रेन्जी शेर्पाले धन्यवाद दिदै कार्यक्रम सम्पन्न भएको थियो ।