६ देशमा ४६५ नेपाली थुनामा, १८ लाई मृत्युदण्डको सजाय

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै संयुक्त अरब इमिरेट्सको भ्रमणका क्रममा दुबईको जेलमा रहेका नेपाली कामदार अमरबहादुर बमलाई आममाफी सहित नेपाल फर्कने बाताबरण मिलाउन त्यहाँका उपराष्ट्रपति मक्तोमलाई आग्रह गरेका थिए । जवाफमा उपराष्ट्रपतिले राजदुतलाई बोलाएर यसबारे आफूले प्रक्रिया अघि बढाउने बताएका थिए ।

दुबईको जेलमा रहेका अमरबहादुर बम बैदेशिक रोजगारीमा गएर जेल परेका एक प्रतिनिधी पात्र मात्र हुन् । बैदेशिक रोजगारीका लागि गएका नेपालीहरु मध्ये ६ देशमा मात्रै ४ सय ६५ नेपाली थुनामा रहेका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा प्राप्त पछिल्लो विवरण अनुसारः

६ देशमा थुनामा परेका नेपाली

–कतारमा ४३ जना
–साउदी अरबको रियादमा ४५ जना
–साउदी अरबको जेद्धामा ३९ जना
–मलेसियामा १ सय ७५ जना
–संयुक्त अरब इमिरेट्स यूएईमा ९६ जना
–कुवेतमा १२ जना
–इजिप्टमा ५५ जना गरी ४ सय ६५ नेपाली थुनामा रहेका छन् ।

यसरी थुनामा परेका नेपालीहरु कतिपय आपराधिक घटनामा संलग्न भएको, कतिपय काम र ज्याला राम्रो नभएकोले सम्झौता भएको कम्पनी छोडी गैह्रकानुनी कामदारको रुपमा काम गरिरहेको र कतिपय अपराधको आशंकामा थुनामा रहेका छन् ।

१८ नेपालीलाई मृत्युदण्डको सजाय

–साउदी अरबमा १८ नेपालीले मृत्युदण्डको सजाँय पाएका छन् । मृत्युदण्डको सजाय पाएर ब्लड मनी बुझाँउन नसकेका उनीहरु रियादस्थित जेलमा थुनामा रहेका छन् ।
–कतारमा पनि मृत्युदण्डको सजाय पाएका १ नेपाली ब्लड मनी बुझाँउन नसकी थुनामा रहेका छन् ।

–यस्तै ब्लड मनी बुझाँउन नसकेर यूएईको जेलमा २ जना नेपाली थुनामा रहेका छन् ।

३ देशमा ४२ शब अलपत्र

बैदेशिक रोजगारीका क्रममा ३ देशमा पुगेका नेपालीहरुको ४२ शब अलपत्र परेको छ । विभिन्न समयदेखि अलपत्र परेका यस्ता शब नेपालमा आफन्तसम्म ल्याँउन प्रधानमन्त्री कार्यालयले सक्रियता जनाएको छ ।
–साउदी अरबको रियादमा १९ शब
–साउदी अरबकै जेद्धामा ११ शब
–मलेसियामा ६ शब
–कतारमा ६ शब अलपत्र अवस्थामा रहेको हो ।

१३ बिरामी

३ देशमा गंभिर प्रकृतिका विरामी भएका १३ नेपाली नेपाल फर्किन प्रतिक्षामा रहेका छन् । बिरामी तथा दुर्घटनामा परेका यस्ता नेपालीहरु :

–साउदी अरेबियामको जेद्धामा १ जना
–कतारमा ९ जना
–कुवेतमा ३ जना रहेका छन् ।

बिदेशमा अलपत्र परेका शब तथा जेलमा परेका नेपालीहरुलाई कसरी छुटाउने भन्ने बारेमा गृहकार्य भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार डा.ऋषीराज अधिकारीले बिदेशमा अलपत्र परेका शब र थुनामा रहेका नेपालीको उद्धारका लागि प्रधानमन्त्री कार्यालयले कुटनीतिक पहल थालेको जानकारी दिए ।
- रातोपाटीबाट