पैसाका लागि प्रेमिकाको हत्या गर्ने युवक पक्राउ

१८ मंसिर, त्रिशूली (नुवाकोट । पैसाको लागि आफूभन्दा २६ वर्ष जेठी महिलासँग प्रेमसम्बन्ध राखी हत्या गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ ।

विदुर नगरपालिका–११ त्रिशूली बजारकी ४५ वर्षीया प्रतिमा अमात्यको हत्या आरोपमा प्रहरीले रसुवाको ठूलोगाउ– ६ घर भई रसुवाकै सरमथली–२ बस्ने १९ वर्षीय रमेश लामालाई पक्राउ गरेको हो ।

प्रतिमाको फिकुरी–८ गोगनेको जङ्गलमा गत जेठ २० गते हत्या भएको थियो । काठमाडौं बस्दै आएका रमेशलाई प्रहरीले बिहीबार पक्राउ गरी नुवाकोट ल्याएको हो । प्रहरीले विहीबार नै आरोपीको बयानको आधारमा घटनास्थल पत्ता लगाई शवको उत्खनन् गरेको आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

Loading...
नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहोराले मृतक प्रतिमाले घर बेचेको रु १० लाख रमेशले लिएको स्वीकारेको र जग्गा बेचेको पैसा पनि मृतकसँग भएकाले उक्त पैसा के गरेको हो अनुसन्धान भइरहेको बताउनुभयो ।

‘पैसा नपाउन्जेल सँगै बसेको र पैसा फुत्काएपछि हत्याको योजना बनाएको देखिन्छ । गाउँ जाने विवाह दर्ता गर्ने र नागरिकता पनि बनाइदिने भन्दै जङ्गलमा लगेर हत्या गरेको देखिन्छ’ उहाँले भन्नुभयो ।

मृतककी बहिनी चितवनको भरतपुर उपमहानगरपालिका–२ बस्दै आएकी निरा श्रेष्ठले गत जेठदेखि दिदी प्रतिमा बेपत्ता भएकाले खोजी गरिदिन भन्दै यही मङ्सिर १३ गते जिल्ला प्रहरी कार्यालय नुवाकोटमा निवेदन दिएपछि प्रहरीले खोजतलासको क्रममा प्रतिमाको हत्या भएको पत्ता लगाएको हो ।

प्रहरीले घटनास्थलमा हत्यामा प्रयोग भएको एक थान पिक, हातेआरो एक थान, मृतकले लगाएको घडी एक थान फेला पारेको छ । जङ्गलमा गाडेको अवस्थामा उत्खनन् गरेको शवको टाउको भने फेला नपरेको प्रहरीले जनाएको छ ।