लेबनानमा एनआरएन टास्क फोर्स सदस्य सुजना छन्त्याल पक्राउ

१८ मंसिर । नेपाली नारी ग्रुप लेबनानकी अध्यक्ष तथा एनआरएनए आईसीसी अन्तर्गत वैदेशिक रोजगार तथा प्रवासी कामदार समिति टास्क फोर्समा लेवनानबाट सदस्य रहेकी सुशीला (सुजना) छन्त्याल राना पक्राउ परेको समाचार प्राप्त भएको छ । घरेलु कामदारका रुपमा कार्यरत राना पक्राउ परेको जानकारी उनको परिवारले पनि दिएको छ ।

उनको पक्राउका बारेमा घर मालिक्नी कार्ला टौमाले नेपालका लागि लेवनानी कन्सुलर जोय इशा एल कोरीलाई जानकारी गरेको बताइएको छ । उनको पक्राउका सन्दर्भमा टास्क फोर्सका संयोजक धरम केसीले पनि पुष्टि गरेका छन् ।

Loading...
सुजनाको पक्राउको कारण र उनलाई कता राखिएको छ भन्ने बारे कुनै जानकारी नभएको घर मालिक्नीले बताए पनि सुजना घरमा कार्यरत रहँदाको अवस्थामै पक्राउ परेकी हुन् । घर मालिक्नी टौमाकै अगाडि उनलाई पक्राउ गरिएको थियो भने वाचमेन पनि प्रत्यक्षदर्शीका रुपमा रहेका थिए ।

सुजनालाई नजिकै रहेको प्रहरी चौकीले पक्राउ गरेको भनिए पनि बुझ्ने क्रममा उनी त्यहाँ थिइनन् । स्रोतका अनुसार सुजना हाल लेबनान सरकारको महानिर्देशनालय अन्तर्गतको बन्दी गृहमा रहेकी छिन् । अनुसन्धान विभागका क्याप्टेनका अनुसार एक आइएनजिओले सुजनाको पक्षमा वकिल नियुक्त गरेको छ ।

यसैगरी एनआरएनए अफ्रिका महादेशका सुनिल कार्कीले केन्यामा कार्यरत कन्सुलेट जिम्मीलाई सो बारेमा जानकारी गराएका छन् । लेबनानी नागरिक जिम्मीले यस्ता केशमा उद्दार र सहयोग गर्न सफलता प्राप्त गरेका हुँदा यसमा पनि सफलता प्राप्त गर्ने आशा गर्न सकिन्छ ।

सुत्रका अनुसार सुजनाको पासपोर्ट नम्बर र कार्यरत घरको स्थान बारे उनलाई जानकारी गराइएको छ । आप्रवासीहरुको मानवअधिकारका सन्दर्भमा सक्रिय सुजनालाई केही समय अघिबाट उनलाई चेतावनी आउने गरेको सुत्रबाट बुभिएको छ । यो घटनाका बारेमा गैरआवासीय नेपाली अभियन्ता दिपेन्द्र उप्रेतिले गंभिर चासो र पहल लिएको बताएका छन् ।
- संसारन्युज