घर न घाट भएका एनआरएन !

एनआरएनलाई दोस्रो दर्जाका नेपालीका रूपमा लिइन्छ । नेपालबाट हेर्दा देश छाडेर बाहिर बस्ने सबै नेपालीले जतिसुकै मोजमस्ती र रमाइलो गरेको देखिए पनि वास्तविकता अर्कै हुन्छ । के–के न गरुँला भनेर देश छाड्ने प्राय: नेपालीहरू अहिले घर न घाटको अवस्थामा पुगेका छन् । विदेश बस्ने रहर पूरा गर्न बाहिरिने नेपालीहरूको रहर अब बाध्यताजस्तै भएको छ ।

जन्म, नागरिकता अथवा पासपोर्ट मानिसको वास्तविक परिचय होइन रहेछ । मानिसको सबैभन्दा ठूलो परिचय रहेछ— ऊ कहाँ हुर्कियो ? उसको लालनपालन कसले गर्‍यो ? उसको बाल्यकाल कसरी बित्यो ? कक्षामा साथीभाइहरू को–को थिए ? पिपलगेडी क–कसले बाँडेर खाए ? गुच्चा र चुंगीका लागि झगडा र दोस्ती कोसँग गरियो ? यी सबै पल जीवनभर बिर्सन नसकिने रहेछ । जुनसुकै देशमा पुगे पनि, जति नै भोग, विलासिताको जीवन बिताए पनि सँगै हुर्किएका हर्के र बिर्खेले के–के गरेका छन् भन्ने चासो मुटुमा बेस्सरी गढेको हुन्छ ।

Loading...
मान्छे सानैमा लोभी हुन्छ । बिस्तारै बैंस चढ्दै जाँदा मोहले सताउँछ । बैंसको मोह त्यस्तो भ्रम हो जसले विपरीत लिङ्गी मित्र हो र अरू सबै दुस्मन हुन् भन्नेमात्र सूचना दिन्छ । यो समय सबैको जीवनमा आउँछ, पाखो–पखेरो नै बगाउँलाझंै गरेर तर त्यो धुन्धुकारी बैंस धेरै बेर रहँदैन । आउँछ र जान्छ । जीवनको सबैभन्दा महत्वपूर्ण पल त्यसपछि आउँदो रहेछ, रहर । रहरले मानिसलाई कुन बाटोमा लान्छ स्वयंलाई पनि थाहा हुँदैन । जीवन यहाँसम्म पनि भ्रम नै जस्तो लाग्छ । त्यही रहरै रहरमा कसैले सही बाटो समाउँछन् भने कोही गलत बाटोमा पुग्छन् ।

धन कमाउने रहर त प्राय: सबैमा हुन्छ । धन नै जीवन, सुख र शान्ति अनि रहरहरूको केन्द्रबिन्दु बनिदिन्छ । धन कमाउने सबैभन्दा सजिलो माध्यम विदेश, किनभने हामी आफूमा त विश्वासै गर्दैनौं । हाम्रो नराम्रो बानी नै यही हो । हामीलाई छिमेकीको खेतीपाती सप्रिएकोमा डाहा लाग्छ । अर्काकी छोरी राम्री भए आँखा लाग्छ । सानातिना त आँखाले देख्दै देख्दैन, ठूलै मात्र ताक्छ । यस्तो बेला रहर अझ बलवान् भएर आउँछ । विदेशबाट आउनेले लगाएका नानाथरी अत्तरले नाक होइन, सिधै मुटु बिझाउँछ । पासपोर्ट च्यापेर आजै कि भोलि नै जान पाए कस्तो न होला हुन्छ । ज्यानै छाडेपछि चन्द्रमा पुग्न गाह्रो नभएको समयमा विदेश कुन ठूलो कुरो हो र †

झड्याम्म पाइला पर्छ कुनै देशमा । साउदी, कतार, दुबई, मौका परे अलि परै । गैरी खेत दाउमा हालेर हामफाल्दा ज्यानै पनि जान सक्छ वा केही गुना थपिएर आउन पनि सक्छ । केही भर छैन तर रहर बलियो हुन्छ । रहरका अगाडि कसैको केही लाग्दैन । दुबई होस् वा अमेरिका अवस्था सबैको उस्तै छ । दुई–चार पैसामा फरक होला तर जीवन तुलामा हालेर जोखेजस्तै बराबर । गैरी खेत जोगाएर के भो त, मन जोगिएन क्यार † दुई–चार पैसा कमाएर के भो त, न यता को न उताको । 

पहिले म पनि यस्तै सोच्थें । विदेश गएपछि सबथोक ठीक हुन्छ । रहर त पूरा भए तर अब बाध्यता सुरु भए । यो बाध्यताले जीवनभर मुटु खाइरहनेछ । पीडा दुई थरी हुन्छन्— देखिने र नदेखिने । देखिने पीडा निमिट्यान्न पार्न पनि सकिन्छ तर नदेखिने पीडा जीवनभर साथै रहन्छ । नेपालमै बसेकाहरूको देखिने पीडा छन् आजै अथवा भोलि कुनै पनि बेला त्यसलाई निमिट्यान्न पार्न सकिन्छ, तर अमेरिकामा बस्ने सँगैको साथीका पीडा नदेखिने छन् । ऊ आफ्नो पीडा अरूलाई देखाउनै सक्दैन । ऊजस्तै कतिलाई त थाहा पनि छैन त्यो लुकेको पीडा के हो भन्ने कुरा । 

एक जना मित्र, जो नेपाली इतिहासका ज्ञाता पनि हुनुहुन्छ, बाध्यताले युरोपमा एनआरएन जीवन बिताइरहनुभएको छ । उहाँ भन्नुहुन्छ— जीवन न यताको भो, न उताको भो । जतिसुकै पैसा कमाए पनि अब नेपालमा गएर फेरि त्यो समाजसँग घुलमिल हुन सकिने रहेनछ । युकेमा एउटा ख्यातिप्राप्त युनिभर्सिटीमा पढाउने गुरुको मनमा सन्तोष छैन । उहाँ भन्नुहुन्छ— केही पाइयो तर धेरै गुमाइयो । अमेरिका छिरेका मेरा एक मित्र भन्नुहुन्छ, ‘दिनको एकपटक रुन्छु घर सम्झेर ।’ दुबइमा १२ वर्ष बिताएका मेरा गाउँले मित्र घर फर्किए र केही महिनापछि फेरि दुबई नै फिर्ता भए । उनी भन्छन्, ‘बस्नै सकिनँ । गएका केही महिना सबैको हाइहाइ भो । पैसा सकिएपछि कसैले वास्तै गर्दैन । 

त्यसपछि बाध्य भएर नेपाललाई बाइबाइ गरियो । गुच्चा खेलेर हुर्किएका साथीहरूले पनि पराइजस्तो व्यवहार गरे । उनिहरूको आफ्नै समूह बनिसकेको रहेछ । यो विदेशबाट आएको भनेर विश्वासै गर्दैनन् । त्यसपछि वाक्क लागेर फेरी दुबई छिरेको ।’ उहाँ भन्नुहुन्छ– आफन्त, परिवार त पाहुना आएजस्तो गर्छन्, अरूले के विश्वास गर्ने ? त्यसैताका हाम्रा बालापनका हिरो सरोज खनाल नेपाल गए । मेरा लागि त उनी अझै पनि हिरो नै हुन्, तर नेपाली समाजले उनको स्थान खोसिसकेको रहेछ । फेरि त्यो स्थान पाउन उनले ठूलो मेहनत गर्नुपर्ने देखिन्छ । त्यो देखर मलाई थाहा भयो, अब म घर न घाटको भएछु भन्ने ।

यी कुरा बुझ्न धेरै मेहनत गर्नै पर्दैन । फेसबुक खोलेर हेरे पुग्छ । त्यहाँ देशभक्तिले ओतप्रोत शब्दहरू प्राय: एनआरएनले नै पोस्ट गरेका हुन्छन् । आकुल–व्याकुल छन् ती– घर न घाटका एनआरएनहरू । देशप्रतिको माया, समाजप्रतिको दायित्व, आफन्तप्रतिको झुकाव, माटोको भोक र बाल्यकालको सम्झनाले सताउँछ । उनीहरू आफ्ना भावना मजैले व्यक्त गर्छन् फेसबुकमा । यसो गरेर हुन्छ कि उसो गरेर हुन्छ कि, नेपालभर भएका सामाजिक संस्थाहरू कुनै पनि एउटा सानो देशमा बस्ने नेपालीहरूले स्थापना गरेका छन् । पाउनका लागि होइन । देशका लागि केही गर्न सकिन्छ कि भनेर । यसले केही हदसम्म उनीहरूले गुमाएको माटोको भोक मेटाउँछ । सामाजिक सञ्जालमा देशभक्तिले भरिएका स्टाटस पोख्दैमा त केही हुँदैन, तर नेपालमा बस्नेहरूलाई चाहिँ रिस उठ्दो रहेछ । त्यस्ता स्टाटसको प्राय: कमेन्ट एउटै हुन्छ । विदेशमा बसेर धेरै नखोकम् मित्र, हिम्मत भए यहाँ आएर गरेर देखाउनु ।

हर्केले गाउँको खोलामा माछा मार्छ रे । नजिकैको पसलमा त्यो माछा बेचेर दिनभर बसेर साथीहरूसँग तास खेल्छ रे । उसलाई जीवन कसरी बित्ला भन्ने पिर पनि छैन सायद । दिनभर हाँसेरै काट्छ । घर फर्कंदा श्रीमतीलाई केही न केही किनेर लगिदिन्छ । उनी मुसुक्क मुस्कुराउँछिन् । उनको त्यो लजालु मुस्कान नै हर्केका लागि सातै रंगले भरिएको जीवन हो । स्कुल पढ्दा–पढ्दै भगाएको थियो उसले । कति माया गथ्र्याे । त्यही मायाले गर्दा उसलाई विदेश जाने रहरले छुँदै छोएन । उसको जीवन यसरी नै बितिरहेको छ । चल्दो रहेछ जसरी पनि । आखिर ऊ जति खुसी उसलाई गाउँमा छाडेर जानेहरू भएको देखिँदैन ।

सामान्य रूपमा हेर्दा लाग्छ, विदेशमा बस्नेहरूले मोजमस्ती गरेका छन् । सुखसयल छ । राम्रा फोटा–पोस्टर हुन्छन् फेसबुकमा । नेपालमा बस्नेले सोच्छ, मोज गरेको छ । जस्तै भए पनि डाहा लाग्छ होला, तर वास्तविकता अर्कै हुन्छ । घर जादा न आफन्त परिवारले खुलेर कुरा गर्छन्, न साथीभाइहरू आफ्ना रहन्छन् । आफ्नो समूह त अर्कैको भैसकेको हुन्छ । तार टुटिसकेको छ । खुलेर हाँस्ने साथी पनि पाउन मुस्किल । पैसा कमाएर नेपाल जानेहरू पनि खुसी भएनन् पुुरानो सम्बन्ध टुटिसकेको हुन्छ । साथीभाइहरू पराई भैसकेका हुन्छन् । घरको कुकुरले पनि तर्साउने गरी भुक्छ । 

गाउँमा सबै नौलोजस्तो लाग्छ । जन्मे–हुर्केको ठाउँ एकाएक पराईजस्तो हुन्छ । दुई–चार दिन त खुबै रमाइलो होला । फर्केरै जान्न जस्तो, तर परिवर्तन भैसकेको ट्रयाक समाउन द्रुत गतिमा दौडिरहेको रेलबाट हाम्फाल्नु जस्तै हुँदो रहेछ अनि थाहा हुन्छ किन फर्कन्छन् अरू ? युरोपको भियनामा २५ वर्षदेखि बस्दै आएका एक जना व्यवसायी भन्नुहुन्छ– मलाई यहाँँ बस्नै मन छैन तर नेपाल गएर त्यो समाजको ट्रयाक समाउन पनि सक्दिनँ ।

एउटा सामान्य नेपाली जो युरोपमा बस्ने रिफ्युजी होस् वा कुनै ठूलो तहमा काम गर्ने कूटनीतिज्ञ सबैको अवस्था उस्तै छ । यहाँ सेटल हुन पनि त्यति सजिलो छैन । भौतिक रूपमा सेटल भए पनि मन भने हँुदो रहेनछ र त्यो मनको तुस पोख्न मात्र भए पनि उनीहरू सामाजिक सञ्जालमा सक्रिय हुन्छन् । मनमा शान्ति छैन । उथल–पुथल छ । माटोको भोक बढ्दै जान्छ । नेपाल गएर त्यो वातावरणमा घुल्न सक्ने क्षमता पनि छैन । धेरै थोक पाएर पनि सबथोक गुमाएका छन् । ठूलो प्रगति गर्नेहरू पनि देश छोडेर पछुताएका छन् । भविष्य बनाएँ भन्नेहरू पनि जीवन गुमाएको जस्तो अदृश्य पीडामा अल्झिरहेका छन् । एउटा पिआरका लागि मरिहत्ते गर्नेहरूले आफ्नै अस्तित्व गायब भएको पनि थाहा पाएका छैनन् । 

मैले त आजसम्म जीवन सफल भएको खुसी कुनै पनि एनआरएनको आँखामा देखेको छैन । बाहिर खुसी देखाउनेहरूको गहिरो पीडा मात्र छर्लङ्ग देख्छु । सम्भवत: नेपाली संसारकै उत्कृष्ट सामाजिक प्राणी हो । त्यसैले एक्लै स्वर्गमै बस्न पाए पनि उसलाई त्यो नर्क जस्तो लाग्नेछ । जन्म दिने आमाबाबु, एउटै काखमा हुर्किएका दाजुभाइ–दिदीबहिनी अनि एउटै थालमा खाएका अन्य नातेदार, सानोमा गुच्चा र चुंगी खेल्दाका साथीभाइ जहाँ छन्, त्यही नै स्वर्ग हो । छरछिमेक, सानैमा दगुरेको पाखा पखेरो, भन्ज्याङ–चौतारी जत्ति नजिक अरू हुँदो रहेनछ । यो सबै गुमाएका छन् एनआरएनहरूले । 

मेरो त नेपालमा बस्नेहरूसँग यही अनुरोध छ– यी घर न घाटका भएका एनआरएनहरूलाई थप शब्दले नबजाउनुहोला । यिनको त सर्वस्व भएको छ । 

फेसबुकमा हजारौं साथी भए पनि हर्के र बिर्खेजस्ता मनका साथी छैनन्, आफन्त छैनन् । यिनले आफ्नै परिवारमा पनि पाहुनाजस्तो हुनुपरेको छ । एनआरएनलाई घृणा होइन, मायाको आवश्यकता छ । विश्वासको खाँचो छ । माटोको भोक त अब पुरा होला न होला । नेपाल आउँदा आफन्तले पाहुनाजस्तो नगरून् । साथीभाइले कानेखुसी नगरून् । त्यसो भैदिए यी घर न घाट भएका एनआरएनहरूको मन अलिकति भए पनि शान्त हुने थियो ।
- रविचन्द्र भट्टराई/साप्ताहिक