आतंकवादी हमलाको सन्त्रासमा नेपाली सेना परिचालित : विमानस्थल उच्च निगरानीमा

काठमाडौं, ४ साउन । विश्वका कतिपय शक्तिशाली राष्ट्रसमेत आतंकवादी आक्रमणको निसानामा परेपछि नेपाल प्रवेश गर्ने मुख्य नाकामा नेपाली सेनाको ‘एन्टो टेरोरिस्ट युनिट’ ले निगरानी थालेको छ । नेपाली सेनाले आतंककारीले विमान अपहरण गरिहालेमा कसरी यात्रुलाई सुरक्षित अवतरण गराउन सकिन्छ भन्नेमा समेत विमानस्थल परिसरमा सैन्य अभ्यास गर्न लागेको स्रोतले बताएको छ ।

टर्कीको इस्तानबुल विमानस्थल र पछिल्लोपटक बगंलादेशमा भएको आतंकवादी संजाल आईएसको आक्रमणपछि नेपाल प्रवेश गर्ने एकमात्र हवाईमार्ग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र स्थलमार्ग हुँदै भारतबाट नेपाल प्रवेश गर्ने नाकामा सेनाको विशेष सुरक्षा दस्ताले निगरानी थालेको हो । त्यसका लागि सेनाले नेपाल प्रहरीको विशेष व्यूरोको सहयोग लिएको छ ।

त्रिभुवन विमानस्थलको बाहिरी भागको सुरक्षा गर्दै आएको सेनाले कतिपय ठूला मुलुकमा आतंकवादीले विमानस्थललाई निसान बनाउन थालेपछि विमानस्थलको भित्री सुरक्षा चासो राखेको हो । छिमेकी मुलुक भारत र अमेरिकाले समेत त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्थाप्रति प्रश्न उठाएपछि गृह मन्त्रालयको शान्तिसुरक्षा महाशाखाको समन्वयमा नेपाली सेनाको युनिटले विमानस्थल र स्थलमार्ग हुँदै भारतबाट नेपाल प्रवेश गर्ने नाकामा सेनाको विशेष सुरक्षा दस्ताले निगरानी थालेको हो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।