अविवाहित सञ्चारमन्त्री फसाउँन प्रधानमन्त्री कै स्वकीय महिला अधिकृत परिचालन

काठमाण्डौ, २९ असार– प्रधानमन्त्री कार्यालयभित्रै मोनीका लेविन्स्कीको खोजी र ओली सरकारका एकजना मन्त्रीलाई बिल क्लिन्टन बनाउने एउटा ठूलो घटनाबाट सबभन्दा हट्टाकट्टा मन्त्री जोगिएका छन् ।

गुटले काँक्रोझैँ चिरिएको एमालेभित्र एउटै गुटभित्र पनि एकले अर्कोलाई सिध्याउन कतिसम्मको हत्कण्डा रच्छन् भन्ने कुरा यो घटनाको दोषी पत्ता लाग्दासम्म छर्लङ्ग भएको छ । प्रधानमन्त्री कार्यालयमा स्वकीय अधिकृतको नियुक्ति पाएकी एकजना क्षेत्रीकी छोरीलाई प्रयोग गरेर अविवाहित सञ्चारमन्त्री शेरधन राईलाई ‘सिध्याउने’ योजनामा प्रधानमन्त्रीले नै हस्तक्षेप गरेपछि दोषी पत्ता लागेको छ, खेलो पनि बिग्रिएको छ ।

प्रतिमा (नाम परिवर्तन) युवा संघसँग सम्बन्धित थिइन् । इमान्दार र अनावाश्यक तडकभडक कतै नदेखिएकी ती युवतीको माग थियो, शेरधनले आफूलाई विवाह गर्नुपर्ने । आफूलाई फरक हाउभाउका साथ मन्त्रीले अफर गरेको, तर सोझै विवाह प्रस्ताव राख्न नसकेको प्रतिमाको भनाइ छ । बीचमा दुश्मन लागेर आफूहरुको प्रेम छुटाएको । तर उनको नाम जोडिएर आफू हुनुसम्म बद्नाम भइसकेको कारण अब शेरधनसँगै विवाह गर्नुबाहेक उपाय नभएको युवतीको ठहर छ । उनले शेरधनलाई यहि आशयको एसएमएस समेत लेखिन् । तर शेरधन त्यतिबेला छाँगाबाट खसेझैँ भए, जब चिन्दै नचिनेको मान्छेले आफूसँग यस्तो कुरा गर्दै लगातार म्यासेज लेख्छ ! शेरधन आफै युवा संघका इन्चार्ज समेत हुन् ।

सोधखोज गर्दै जाँदा पत्ता लाग्यो उनी फलानी हुन् भन्ने कुरा । तर, पार्टी र संगठनभित्र यस्ता कृयाकलापमा कहिले पनि नमुछिएकी महिलाले एकाएक यस्तो काम गर्दा कुरा सुन्नेहरु चित खाए । र, शेरधनले प्रधानमन्त्रीसँग भने, ‘मलाई यस्तो समस्या प¥यो । पुलिस लगाएर हुन्छ कि के गरेर हन्छ, यो कुराको छिनोफानो लगाउनुपर्यो ।’ उनले सबै एसएमएस प्रधानमन्त्रीलाई देखाए । प्रधानमन्त्रीले ती एसएमएसको एकप्रति हार्ड कपीमा मगाए ।

हिरो राजेश हमाललाई चितवनकी बालकुमारी अधिकारीले सात वर्षअघि पति दावी गर्दै प्रहरीमा उजुरी दिएकै शैलीका युवती शेरधनलाई पति दाबी गर्दै थिइन् । प्रधानमन्त्रीले नै चासो लिएपछि प्रहरीले गौप्य रुपमा अनुसन्धान ग¥यो । ती युवतीसहित प्रधानमन्त्री कार्यालयमा कार्यरत सबै विज्ञ र स्वकीय सचिवहरुको माबाइलको कल डिटेल्स लियो ।

युवतीको नम्बरबाट अन्तिममा १६७ र १४० भएका दुई मोबाइलमा अत्याधिक सम्पर्क भेटियो । त्यस्मध्य १६७ भएको नम्बर हो, आली गुटकै नेता, घर भोजपुर नै भएका पूर्वमन्त्री र १४० नम्बर हो , प्रधानमन्त्रीकहाँ जनसम्पर्क विज्ञको काम गर्ने महिलाको । यसमध्ये प्रधानमन्त्रीकै स्वकीय अधिकृतमा कार्यरत व्यक्तिले त्यहीँको जनसम्पर्क विज्ञसँग सम्पर्क गर्नु त स्वभाविक होला, तर भोजपुरे पूर्वमन्त्रीसँगको कुराकानी स्वभावीक नदेखिने ठहर अनुसन्धानबाट भयो ।

एउटा कल डिटेल्समा ती युवतीको २२ सय २९ सेकेण्ड, अर्थात ३८ मीनेट लगातार कुरा गरेको प्रमाणित भएको छ । अनुसन्धानबाट खुलेको तथ्यसहित शेरधन प्रधानमन्त्रीकहाँ गए । प्रधानमन्त्रीले ती स्वकिय अधिकृतलाई असारको ५ गते, आइतबारदेसखि उनले बुझ्नुपर्ने सबै तलब बुझाएर, सिंहदरबार र बालुवाटार छिर्न नपाउनेगरी निकालिदिन जनसम्पर्क विज्ञलाई निर्देशन दिए । भोजपुरे नेता र जनसम्पर्क विज्ञलाई हप्काए, ‘तपाइहरुले काम पाउनुभएन ? चाहिने काम नगरेर यो के–के काम गर्दै हुनुहुन्छ ?’

जनसम्पर्क विज्ञलाई त प्रधानमन्त्रीले ‘तीम्रो फोनबाट उसलाई फोन गयोभने राम्रो हुदैन’ समेत भनेका छन् । यो घटनापछि शेरधनको मोबाइलमा म्यासेज जाने क्रम बन्द भएको छ । तर युवति भने अझै पनि ‘न्यायका लागि’ पार्टी वरिष्ठ नेता माधव नेपालसँग दौडधुप गर्दैछिन् । शेरधनले भने, ‘ममाथि नियोजित षड्यन्त्र हुँदै थियो । प्रधानमन्त्रीज्यूको सहयोगले षड्यन्त्रकारी असफल भए ।’
– जन आस्था साप्ताहिक