दक्षिण सुडानमा भीषण लडाईं

दक्षिण सुडानको जुबामा भीषण लडाईंको क्रममा बन्दुक-जडित हेलिकोप्टर र ट्याङ्कले शहरमा गोली वर्षाएको बताइएको छ।

भिडन्त चर्किएपछि ठूलो संख्यामा मानिसहरु मारिएका वा घाइते भएका विवरणहरु आएका छन्।

लडाईं चर्किएपछि गैरसैनिकहरुले गिर्जाघरहरुमा आश्रय लिएको बताइएको छ।

तर दक्षिण सुडानी सेनाका कमाण्डरले पाँचौ दिनको भिडन्तपछि आफ्ना सेनालाई ब्यारेकमा फर्कन आदेश दिएको बताइएको छ।

जुबाका सडकहरुमा भीषण लडाईं चर्किएसंगै दक्षिण सुडान फेरि गृहयुध्दतर्फ धकेलिएको देखिएको छ।

बन्दुक जडित हेलिकोप्टरहरुले आकासबाट गोली वर्षाएका र ट्याङ्कहरुले शहरभर गोलाबारी गरेका छन्।

दक्षिण सुडानका दुई नेताप्रति वफादार सेनाबीच पछिल्ला भिडन्त चर्किएको हो।

ती दुई नेताबीचका मतभिन्नताका कारण दक्षिण सुडान जातीय आधारमा विभाजित भएको छ।

भिडन्त

राष्ट्रपति सल्भा किर र प्रथम उपराष्ट्रपति रिएक मचार सरकारी भवनमा संगै रहेको बेला शुक्रबार उनीहरुका अंगरक्षकहरुबीच भिडन्त भएको थियो।

त्यो संगै उनीहरुले हस्ताक्षर गरेर कार्यान्वयन गर्न खोजेको शान्ति सम्झौता भताभुङ्ग हुन पुग्यो।

दुबै नेताले संयम अपनाउनका लागि गरेको आग्रह कसैले सुनेन।

पाँच दिनदेखि भिडन्त चर्किएसंगै सयौं मानिस मारिएको वा घाइते भएको अनुमान गरिएको छ।

ती मध्ये केही गैरसैनिक र राष्ट्रसंघीय शान्ति स्थापक सेना रहेको बताइएको छ।

जुबास्थित पत्रकारहरुका अनुसार हेलिकोप्टरले मचारको निवासमा समेत गोली चलाएका थिए।

विमानस्थल नजिकै लडाईं भइरहेकोले दूतावास तथा सहायता संस्थाहरुले आफ्ना कर्मचारीलाई देश बाहिर पठाउन सकिरहेका छैनन्।

राष्ट्रसंघले लडाईं रोक्नका लागि अनुरोध गरेको छ।

क्षेत्रीय नेताहरु भावि कदमबारे छलफल गर्न केन्यामा भेला भएका छन्।
- बीबीसी नेपाली