अबको राजनीतिक समिकरणमा अंक गणितीय खेल (सरकार पक्ष र विपक्षमा रहेका सांसद संख्यासहित)

काठमाण्डु, २८ असार– नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ।

२०७२ असोज २५ गते तत्कालीन एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक सहितलाई समेटेर बनेको सरकारबाट करिब नौँ महिनापछि माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको हो ।

त्यतिबेला ५९५ सदस्य रहेको व्यवस्थापिका संसदबाट एमालेको १८३, एमाओवादीको ८३, राप्रपा नेपालको २५, फोरम लोकतान्त्रिकको १४, राप्रपाको १२, मालेको ५ र नेमकिपाको ४ मतका साथ प्रधानमन्त्री बनेका थिए । उनले संसदको बहुमत अर्थात ३३८ मत पाएका थिए । हाल संसदमा ८२ सिट रहेको माओवादी केन्द्रले समर्थन फिर्तापछि अहिले ओलीसँग २५३ सांसदको समर्थन मात्र छ  । अझै प्रधानमन्त्री संसदको बहुमतमा रहन ४५ जनाको समर्थन आवश्यक छ।

अब सरकार को पक्षमा एमाले १८२, राप्रपा नेपाल २५, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक १४, राप्रपा १२, नेकपा माले ५, नेमकिपा ४, राष्ट्रिय जनमोर्चा ३, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक २, नेपाल परिवार दल २, मधेस समता पार्टी १, नेपा राष्ट्रिय पार्टी १, बहुजन शक्ति पार्टी १ र अखण्ड नेपाल पार्टी १ को समर्थन रहेका छ ।

त्यसैगरी नयाँ सरकार गठनका लागि आवश्यक पर्ने २९८ मतका लागि सरकारको विपक्षमा कांग्रेस २०७, माओवादी केन्द्र ८२, संघीय समाजवादी फोरम नेपाल १५, तमलोपा ११, सद्भावना पार्टी ५, तराई मधेस सद्भावना पार्टी ३, राष्ट्रिय मधेस समाजवादी पार्टी ३, नेकपा संयुक्त ३, थरुहट तराई पार्टी २, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट १, खम्बुवान राष्ट्रिय पार्टी १, नेपाली जनता दल १, फोरम गणतान्त्रिक १, संघीय सद्भावना पार्टी १, जनजागरण पार्टी १, नेपाल सद्भावना पार्टी १, दलित जनजाति पार्टी १, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) १ र स्वतन्त्र १ गरी ३४१ मत रहेको छ ।

नयाँ संविधानको धारा १०० मा सरकार सम्बन्धि अविश्वासको मत र विश्वासको प्रस्ताव लान सकिने व्यबस्था छ । तर, हाल देखिएको आँकडा अनुसार ओलीसँग बहुमत छैन ।
- काठमाण्डु टुडे