प्रचण्डविरुद्ध श्रेष्ठ-रायमाझी र वस्नेतको गठबन्धन

३० असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नौ बुँदे सहमति कार्यान्वयन नभएको र भद्र सहमति कार्यान्वयन नभएको भन्दै एकै झोकमा सरकार परिवर्तन गर्ने निर्णय गरे । प्रचण्डले पार्टीमा विवाद हुने देखेपछि चलाखीपूर्ण ढंगले केन्द्रीय कार्यालयको बैठक मार्फत सरकारको निर्णय गर्ने जिम्मेवारी लिएका थिए ।

माआवादीभित्र पनि सरकार छोडने नछोडने विवाद थियो । विवादकाबीच प्रचण्डले बजेट पारित गर्ने अघिल्लो दिन असार २८ गते आफ्नै नेतृत्वमा सरकार गठन गर्ने तयारी सहित सरकारलाई दिएको समर्थन फिर्ता लिने पत्र प्रधानमन्त्री ओलीललाई पठाए । सरकारमा सहभागी आठ मन्त्री मध्ये हरिबोल गजुरेल बाहेका सात मन्त्री सरकार परिवर्तन गर्नु नहुने पक्षमा प्रचण्डलाई दबाब दिइरहेका थिए भने नारायणकाजी श्रेष्ठ समुहले सरकार छोडन नहुने अडान राख्दै आएको थियो ।

प्रचण्डले पार्टीका नेताहरुलाई नै आश्चार्यमा पार्ने गरी निर्णय गरेपछि नारायणकाजी श्रेष्ठ र टोपबहादुर रायमाझी, शक्ति वस्नेत लगायतका नेताहरुले प्रचण्डको विरुद्ध गठबन्धन बनाएका छन् । सरकार ढाल्नु पर्ने अभियान चलाएका कृष्णबहादुर महरा, बर्षमान पुन जनार्दन शर्मा लगायतका नेता खुसी भएपनि पुनः नयाँ गठबन्धनको जन्म भएको छ ।

सरकार परिवर्तन गर्ने निर्णयप्रति अग्नी सापकोटा, गिरिराजमणि पोखरेल पनि नयाँ गठबन्धनलाई साथ दिने भएका छन् । श्रेष्ठले असन्तुष्ट नेताहरुसँग छलफल गरेर भोली बस्ने बैठकमा प्रचण्डको विरुद्ध शसक्त रुपमा प्रतिवाद गर्ने तयारी गरेको एक नेताले बताए । उनले भने,‘अहिले सरकार परिवर्तन गर्नु बेमौसमको बाजा हो, अब केन्द्रीय कार्यालयको बैठकमा विधिसम्मत ढंगले कुरा उठाइन्छ ।’

पार्टीभित्र नै विवाद देखिएपछि प्रचण्डले ओलीको लागि केन्द्रीय कार्यालयको बैठक बोलाएको प्रचण्डको सचिवालयले बताएको छ ।
- नेपाली हेडलाइन्स