प्रधानमन्त्री ओलीका जलस्रोत विज्ञ ज्ञानेन्द्रलालको बेडरुमको ल्यापटपले ३२ करोड ६५ लाख तिर्नुपर्ने बनायो

२२ असार, काठमाडौं । चन्दा बुझाएर ठूलाबडासँग नजिकिने धन्दावालाहरुको असली अनुहार छर्लङगिने करोडौंको एउटा काण्ड छरपष्ट भएको छ । 

यदि उनको शयन कक्षमा छिरेर ल्यापटप कब्जा नगरिएको भए सेतो आवरणमा आठ वर्षदेखि चलाइँदै आएको कालो कर्मको पर्दाफास हुने नै थिएन ।

उर्जामा ब्राजिलपछि विश्वकै दोस्रो धनी मानिने देश नेपालका जलस्रोत विज्ञ हुन् उनी ।

प्रधानमन्त्री केपी ओलीसँग दुवै ठूला छिमेकी राष्ट्रको औपचारिक भ्रमणमा सँगै थिए ।

लाइसेन्स ओगट्नेमा कसैले नभेट्ने अर्थात् झोलामा खोलाका बाहशाह । नाम, हो ज्ञानेन्द्रलाल प्रधान ।

बैंकबाट एकथरी वितरण बुझाएर ऋण लिने अर्थात् नाफाको आकर्षण दिएर सुविधा उछिट्याउने अनि कर तिर्दा घाटा देखाउने ।

यस्तै भोलाभोला अवस्थामा आर्थिक अपचलन गर्दा उनले सरकारलाई भ्याट, आयकर र लाभाशं करसहित ३२ करोड ६५ लाख तिर्नुपर्ने ठहर भएको छ ।

कार्यालयको कम्प्युटरमा घाटाको कारोबार देखाउने तर साँझ–बिहान आफ्नो बेडरुममा बसेर वास्तविक हिसाब–किताब निकाल्ने गर्दा उनले जरिवाना र वास्तविक कारोबारसहित यति धेरै कर सरकारलाई बुझाउनुपर्ने देखिएको हो ।

उनका तीनवटा कम्पनी त्रिशक्ति इन्भेष्टमेन्ट, हाइड्रो सोलुसन र त्रिशक्ति केबल इण्डष्ट्रिजमार्फत अत्याधिक करछली हुने गरेको प्रमाण भेटिएको छ ।

सबैभन्दा धेरै केबल इण्डष्ट्रिमा २१ करोड। हाइड्रोमा ६ करोड र त्रिशक्ति इन्भेष्टमेन्टमा ५.१६ करोड कर छली फेला परेको राष्ट्र बैं स्रोतको दाबी छ ।

यसै प्रकरणमा उनलाई समात्ने राजश्व अनुसन्धान विभागले भ्याटबापतको अन्तिम कर निर्धारण गरी दस्तुर बुझाउन चिठी बुझाइसकेको छ भने आयकर असुल्न सम्बन्धित कार्यालयलाई जानकारी दिएको छ । 
- जनआस्था साप्ताहिक