प्रधानमन्त्री ओलीबाट संसद्‌मा राजीनामा घोषणा

साउन ९, काठमाडौं : प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा दिएका छन् । उनले राजीनामापत्र राष्ट्रपतिसमक्ष पेस गरिसकेका छन्। अविश्वास प्रस्तावको छलफलमा उठेका प्रश्नहरुका जवाफ दिने क्रममा उनले राजीनामाको घोषणा गरेका छन् ।

उनको राजीनामापछि नयाँ सरकार घोषणा गर्न अब सहज भएको छ । राजीनामापछि संसद्मा प्रस्तुत अविश्वासको प्रस्तावमाथि मतदान स्थगित भएको छ। राजीनामा दिएको जानकारीसहित राष्ट्रपति कार्यलयले संसद्‌मा पठाइसकेको छ र सभामुखले त्यो पत्र पढेर सुनाइसकेकी छिन्।

यसअघि ओली नेतृत्वको  मन्त्रिपरिषद्को अन्तिम बैठकले नयाँ सरकार गठनका लागि बाधा अड्काउ फुकाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। ओलीले नयाँ प्रधानमन्त्रीको निर्वाचन र सरकार गठन सहज रुपमा होस् भनेर बाधा अड्काउ फुकाउने निर्णय गरेको बताए ।

‌ओलीले भने. 'अविश्वास प्रस्ताव पेस भएपछि आफूलाई पदमा टाँसिएर बस्ने मन पटक्कै थिएन तर सात दिन त संसद्को नियमावलीअनुसार मैले पनि कुर्नुपर्‍यो।  सात दिन कुर्न साथीहरुलाई धेरै छटपटी र हुटहुटी भएछ क्यारे । ओलीले नछोड्ने भयो भनेर ठूलै रुवाबासी भयो । तर कानुनका छिद्र खोजेर वा पहिल्याएर पदमा टाँसिने रहर मलाई कहिल्यै भएन। '

उनले बजारमा आफ्नाबारेमा अनेक चर्चा भएको बताउँदै भने,  'जस्केलबाट हिड्ने, ढोका नभए झ्यालबाट हाम फाल्ने काम मबाट हुँदैन । अामनेसामने नै सामना गर्ने मान्छे हुँ म।'
- अन्नपूर्ण पोष्ट