राजदूतहरूको भविष्य अन्योलमा, के होला नियुक्ति ?

काठमाडौं, ६ साउन । सरकारले नियुक्तिका लागि सिफारिस गरेर सुनुवाइको प्रतीक्षामा रहेका राजदूतहरूको भविष्य अन्योलमा परेको छ । संसद्को सुनुवाइ समितिले यो साता गर्नुपर्ने न्यायाधीशहरूको सुनुवाइ स्थगित गरेपछि अन्योल भएको हो । न्यायाधीशपछि प्रस्तावित राजदूतको सुनुवाइ गर्ने समितिको तयारी थियो ।

सरकारले ७ वैशाखमा २१ र त्यसको केही पछि ओमनका लागि एक गरी २२ राजदूत नियुक्तिको सिफारिस गरेको थियो । परराष्ट्र मन्त्रालयका आठ सहसचिव र बाँकी राजनीतिक भागबन्डाका आधारमा सिफारिस भएका हुन् । भागबन्डामा एमालेको कोटामा ६, माओवादी केन्द्रका चार, राप्रपा नेपालका तीन र फोरम लोकतान्त्रिकका एकजना सिफारिसमा परेका थिए ।

नयाँ सरकार गठनको कसरतपछि राजनीतिक भागबन्डामा सिफारिस भएका राजदूतहरूको नियुक्ति अन्योलमा परेको छ । नयाँ सरकार गठन हुन लागेको र सुनुवाइसमेत सुरु नभइसकेको अवस्थामा राजनीतिक भागबन्डाका आधारमा सिफारिस भएकाहरूको विषयमा नयाँ निर्णय हुने कांग्रेस सभापति शेरबहादुर देउवानिकट एक नेताले बताए । 

‘एमाले अब प्रतिपक्षमा बस्ने हुनाले उसका मानिसहरू राजदूत बन्न सक्दैनन्, राप्रपा नेपालले पनि पाउने सम्भावना छैन,’ ती नेताले भने, ‘अब परराष्ट्र मन्त्रालयका सहसचिवहरूबाहेकको हकमा मूलतः कांग्रेस र माओवादीबीचमा भागबन्डा हुनसक्छ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।