पोर्तुगलमा तीन महिनामा तीन नेपालीको निधन

योगेन्द्रमिलन छन्त्याल, पोर्तुगल । पोर्तुगलमा एक नेपाली युवकको निधन भएको पुष्टि भएको छ । सान्तियागो न्यायिक प्रहरीले डिएनए परीक्षणको आधारमा बिराटनगरका २१ वर्षीय सुरज आचार्यको निधन भएको जानकारी दिएको हो । 

उनको मृत्यु आत्महत्या हो वा हत्या भन्ने विषयमा प्रहरीले केही खुलाएको छैन । समुन्द्रमा क्षतविक्षत अवस्थामा भेटिएको शवको प्रकृति हेर्दा मृत्यु शंकास्पद भएको सहजै अनुमान गरिन्छ । उनी मे ११ तारिख बिहान ११:४५ बजेदेखि बेपत्ता भएका थिए ।  

पाँचथरबाट जारी ०८१९३९९७ नम्बरको राहदानीमा उनको जन्म मिति २५ अक्टुबर १९९५ उल्लेख छ ।कृषिमा रोजगारी खोज्न अलेन्तेजो क्षेत्र गएका उनी चिनजानका साथीहरुसँग भिला नोभा दि मिलफोन्तेस स्थित कोठामा बस्दै आएका थिए । रोटेर्डम युनिभर्सिटी नेदरल्याण्डमा विद्यार्थीको रुपमा आएका आचार्य चार महिनाअघि पोर्तुगल आएका थिए । 

उनी हराएको २ हप्तापश्चात भिला नोभा दि मिलफोन्तेसभन्दा एक किलोमिटरको दुरीमा समुद्र सतहदेखि ३०० मिटरको गहिराइमा एक अपरिचित शव पहिचान हुन नसक्ने अवस्थामा भेटिए पश्चात सो शव आचार्यको हुन सक्ने अनुमानको आधारमा स्थानिय प्रशासनले डिएनए परीक्षण गरेको थियो ।

आचार्यको शव सान्टियागो अस्पतालमा राखिएको छ । करिब एक हप्तापछि दाह संस्कार गर्नका लागि प्रक्रिया अघि बढाइएको छ । दाह संस्कारमा सहयोग गर्दै रहेको एजेन्सीका अनुसार, सेतुबालको नजिक पाल्मेलामा दाह संस्कार गरिने बताइएको छ ।

पोर्तुगलमा मे २० यता तीन महिनामा तीन नेपालीको निधन भएको छ । ३९ वर्षीय जनकलाल श्रेष्ठको मे २० मा र २८ वर्षीया सृस्‍टि शाहीको जुन २२ मा निधन भएको थियो । जुलाईको पहिलो साता दुईजना नेपाली कृषि कम्पनी संचालकलाई मानव तस्करसहित चरम श्रम शोषण गरेको अभियोगमा पक्राउ गरेको छ ।

गैह्र आवासीय नेपाली संघ पोर्तुगलका जिम्मेवार पदाधिकारीहरु फिलिपिनी युवतीसँग स्काइपमा अनैतिक चर्तिकला देखाएको भिडियो सार्वजनिक भएको छ । जन्मभूमिदेखि हजारौ माइल टाढा रहेका नेपाली समुदायमा यस्ता दुखद खबरले पोर्तुगलमा 'नेपालीलाई दशा' लागेको चर्चा भैरहेको छ ।

यसैबीच एनआरएनले आचार्यको दाह संस्कारका लागि सहयोग गर्न फेसबुकमार्फत अनुरोध गरेको छ ।