युवती तस्करी गर्न बाबुको प्रयोग

कञ्चनपुर, २ असार । कञ्चनपुर जिल्लामा पछिल्ला दिनहरुमा मानव तस्करी नियन्त्रणका लागि नाकाहरुमा माइती नेपाल लगायत सरकारी तथा गैर सरकारी संस्थाहरु सकृय रहेका बेला दलालहरुले मानव तस्करका लागि नयाँ नयाँ योजना अघि सारेका छन् ।

मानव तस्करहरुले बाबु प्रयोग गर्दै युवतीहरुलाई तस्करी गर्न नयाँ तरिका ल्याएका हुन् । मंगलबार मात्रै माइती नेपाल कञ्चनपुरले बाबु प्रयोग गर्दै भारत जान लागेका चार युवतीलाई सीमा क्षेत्रबाट उद्दार गरेको छ । एक सिन्धुपाल्चोक र तीन काभ्रेका युवतीहरुलाई बेचबिखनमा लैजाने क्रममा उद्दार गरिएको छ ।

माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले गड्चौकीमा चेकचाँचका क्रममा उनीहरुलाई नियन्त्रणमा लिएर उद्दार गरिएको बताए । काठमाडौंदेखि दिल्लीको बसमा आएका चारै जनाले भारतकाने सिम्ला पहाड घुम्न जाने बताएपछि उनीहरुलाई पुगाउन आएका बाबुसहित नियन्त्रणमा लिएर सोधपुछ गर्दा युवतीहरुले पछि इराक जान लागेको बताएका थिए ।

‘पहिले उनीहरुले सिम्ला पहाड घुम्न जाने भन्यो, त्यसपछि हामीहरुले केरकार गर्दा पछि मात्रै रोजगारीका लागि इराक जाने बताएका थिए’, उनले भने, ‘नेपाल बाटै बन्देज लगाएको देश भातको बाटो भएर जान लागेको भन्दै हामीले रोकेका हौँ ।’ उनीहरु चारै जना २० वर्षदेखि २२ वर्ष उमेर समूहका छन् ।

चारै जनालाई गाँउकै दलालहरुले रोजगार दिने भन्दै प्रलोभनमा पारेको माईती नेपाल कञ्चनपुरले जनाएको छ । दलालले बाबुसंगै भएपछि सीमा क्षेत्रमा कसैले शंका नगर्ने र नरोक्ने भएकाले युवतीका बाबु प्रयोग गरेको माईती नेपाल कञ्चनपुरकी संयोजक भट्टले बताइन् ।

सिन्धुपलान्चोककी युवतीका दाई र काभ्रेका तिनै जनाका युवतीका बाबु उनीहरुलाई पुगाएका थिए । घर परिवारको आर्थिक अवस्था नाजुक भएका कारण आफूहरुलाई विदेशमा रोजगारी दिने भन्दै आएको उनीहरुले बताएका छन् ।

युवतीहरुका अनुसार दलाले नै टिकट काटिदिएको थियो । दलाले सीमा क्षेत्रमा कसैले सोधपुछ गरेपछि बाबुसंग घुम्न जाने सिकाएको थियो । गरिबी, विपन्नताका कारण आफूहरु रोजगारीका लागि यसरी तपडिएर फसेको माइती नेपाल कञ्चनपुर समक्ष गुनासो पोखेका छन् । माइती नेपाल कञ्चनपुरले चारै युवतीहरुलाई नियन्त्रणमा लिएपछि उनीहरुका पुगाउन आएका बाबुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ ।

युवतीहरुलाई माइती नेपाल कञ्चनपुरका आवधिक गृहमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक केदार खनाले मानव तस्करले युवतीका बाबु प्रयोग गरेकाले उनीहरुलाई घर पठाउने बताए ।

यसरी मानव तस्करहरुले गरिब र भूकम्प प्रभावित जिल्लाका युवतीहरुलाई यौनधन्दा गराउनका लागि रोजगारी दिने षडयन्त्र रचेर भारतीर युवती सप्लायर्स गर्न आफ्नै बाबु प्रयोग गरिरहेका छन् ।

पहिले आफन्त, बिहेको बहाना गर्दै युवतीहरु बस्तु सप्लायर्स गरेझै गर्दथे, भने आजभोली आफ्नौ बाबु प्रयोग गर्दा बेचबिखन नियन्त्रण गर्न चुनौती बढेको छ । भूकम्प आएदेखि यस्तो काम ह्वातै बढेको छ । हालसम्म दुई सय ५० भन्दा बढी महिलाहरुको गड्डाचौकी नाकाबाट उद्दार गरेको छ ।
- दैनिक नेपाल