शिक्षक बेच्न खोज्ने प्रअ प्रहरी हिरासतमा

धादिङ, २४ जेठ– मध्यधादिङको नीलकण्ठ नगरपालिका वडा नं १० झगरेस्थित पञ्चकन्या प्राविका प्रअ रामप्रसाद रिजालसहित दुई जनालाई शिक्षक बिक्री गर्न लागेको आरोपमा प्रहरीले आज पक्राउ गरेको छ ।

आफैले विद्यालयमा खेतालाका रुपमा राखेका दुई शिक्षकलाई विद्यालयका प्रअ रामप्रसाद रिजाल र शिक्षक धु्रव रिजालले सदरमुकाममा तलब खानका लागि बोलाएर बिक्री गर्न लान लागेको आरोप लगाई पीडितले उजुरी दिएपछि शिक्षकलाई पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रामप्रसादले जिल्ला सदरमुकाममा खेताला राखिएका शिक्षकलाई तलब लिनका लागि बोलाएर चिया खान लगाई सो चियामा लठ्याउने विष हालेर खुवाउन जोड गरेको र धु्रवलाई आफ्नो पसलमा बोलाएर चाँजोपाँजो मिलाएको आरोप लगाई पीडितले दिएको जाहेरीमा उल्लेख छ । 

घटनाका सम्बन्धमा आरोपित शिक्षकले आफूहरुको बेचबिखनको कुनै नियत नरहेको बताएका छन् । रासस