फेवादेखि रारासम्म साइकलमा सरर…

पाेखरा, २१ जेठ: सालु घिमिरेले कक्षा ९ मा पढ्छिन् । सालुलाई साइकलमा सरर…घुम्न मन पर्छ । गाउन मन पर्छ । स्कुलमा धेरै ठाउँलाई पढिन्, धेरै प्रकारका गीतका विषयमा सुनिन् ।

उनले देउडा गीत सम्बन्धी सुनेकी थिइन् । पश्चिमाञ्चल क्षेत्रमा त्यति नसुनिने देउडा पुस्तकमै पढेकी हुन् । जब उनी साइकल कुदाउँदै मुगु पुगिन्, उनले पढेको कुरा प्रत्यक्ष बुझ्न र सुन्न पाइन् । उनले देउडा गीत मात्र सुनिनन्, रारा ताललाई पनि नजिकबाट नियाल्ने अवसर पाइन् ।

जेठ ७ गते फेवातालदेखि रारा तालसम्मको साइकल यात्राको लागि जम्मो टोली निस्कियो । त्यहाँ उनले जुनियर साइकलस्टिको प्रतिनिधित्व गरिन् । उनले टोलीसँगै फेवातालदेखि रारा तालसम्मको यात्रा रमाउँदै तय गरिन् । साइकल यात्रा, मुगुको वातावरण अनि त्यहाँको संस्कति उनको लागि नौलो मात्र थिएन, अविष्मरणीय पनि बन्न पुग्यो ।

सुनकली डकुमेन्ट्रीको प्रामो हेरेकी घिमिरेले सुनकलीलाई भेट्ने चाहना पहिल्यै बनाएकी थिइन् । सुनकली र उसको टिमले गरेको साहस र संघर्ष देखेर उनलाई भेट्ने चाहाना पलाएको थियो । साइकल यात्रामा जाने सोच कसरी आयो त ? उनले भनिन, ‘निरज अंकलले सुनकलीलाई भेट्न जाने हो, तिमी पनि हिँड भनेपछि जाने रहर पलायो । सुरुमा ममीलाई भने उहाँबाट पनि सहमति पाएपछि बुवासँगै जाने भएँ ।’

ग्रामिण भेगमा पनि लेडिजले राम्रो काम गरेको देख्दा प्रेरणा मिलेको उनी बताउँछिन् । भन्छिन, ‘दुर्गम क्षेत्रमा पनि लेडिजको साहसले मलाई टच गर्‍यो ।’ उनीले सुनकलीसँग भेटिन् अनि उनीको टिमसँग सेल्फी खिच्न समेत पछि परिनन् ।

उनले त्यहाँकै देउडा गीतमा सुनकलीसँगै नाचिन् । घिमिरेले सुनकली फुटबल टिमलाई प्रोत्साहन स्वरुप फुटबल किन्न नगद २ हजार रुपैयाँ प्रदान गरेकी गरिन् । बुवा सन्तोष घिमिरेले उनको यात्रालाई रोचक बनाइदिए ।

सानै उमेरदेखि साइकलप्रति रुचि राख्ने सालु एकपटक साइकल हराएको सम्झिन्छिन् । उनले हाँस्दै भनिन्, ‘साइकल हराएपछि अन्य साथीको मागेर चलाएको थिएँ ।’ एक दिन अंकलको साइकल चलाउँदै गर्दा बुवाले साइकल किनेर ल्याईदिँदा उनको खुसीको कुनै सिमै रहेन । ‘हराएको २ वर्षको ग्यापपछि साइकल पाउँदा खुशीले उफ्रेकी थिएँ,’ सालुले भनिन्, ‘सानैदेखि साइकल भनेसी हुरुक्कै हुन्थेँ ।’

सालुले यात्राको सुखदुख पनि सुनाइन् । ‘सुर्खेतमा गएको पहिरोले गर्दा हिलोमा जुत्ता गाडिएको थियो,’ उनी सम्झँदै हाँस्दै भनिन्, ‘सबै साइकलमा हेड लाइट थियो, मेरोमा थिएन, जसले गर्दा रातको समयमा भिरालो बाटोमा गाह्रा भो ।’

साइकल कुदाउन माहिर सालु ९ जनाको टिममध्ये सबैभन्दा पहिला रारा ताल पुगेकी थिइन् । पोखराको फेवाताल देखेकी घिमिरेले रारा तालको चमक र सुन्दरताले उनलाई लोभ्यायो । उनले त्यहाँ अनेक पोजमा थुप्रै फोटाहरु पनि खिचिन् । त्यहाँको कन्चन पानीलाई एक बोतलमा ल्याएर फेवातालमा उनलै मिसाइन । ‘फेवाताल सबै मानिसले गर्दा फोहोर छ, रारा जस्तै राम्रो र सफा हुनुपर्छ,’ उनले भनिन, ‘फेवालाई रारा जस्तै सफा बनाउनुपर्छ ।’

मुगु जिल्लाको गमगडी जाने बाटोमा स्कुले विद्यार्थीसँग उनको भेट भयो । उनले त्यहाँ फेवादेखि राराको बारेमा जानकारी समेत दिन भ्याइन् । विद्यार्थीलाई मिठाइ बाँडेर माया पनि साटिन् ।

त्यहाँको स्कुल र विद्यार्थी देखेर उनलाई दुख लाग्यो । ‘मलाई यहाँ घरमै बस लिन आउँछ, त्यहाँ २ घण्टाको बाटो हिँडेर स्कुल जानुपर्ने अवस्था छ,’ उनले सुनाइन् । ती बच्चाहरुको दुख र कठिन यात्रा देखेर जीवनमा केही परिवर्तन आएको उनी बताउँछिन् ।

कुरा मोडियो । सोधेँ, भविष्यको लक्ष्य के छ त ? ‘साइकलमा वल्र्ड टुर गर्ने र सफल कलाकार,’ पोखराको सेन्टमेरिज स्कुलमा पढ्ने सालुले सुनाइन् ।

‘मलाई यहाँ घरमै बस लिन आउँछ, मुगुका साथीलाई २ घण्टाको बाटो हिँडेर स्कुल जानुपर्ने अवस्था छ,’ सालुले भनिन्,‘एउटै देशमा पनि कति फरक छौं है हामी ?’
समाधानन्युज