गुरिल्ला योद्धा चे ग्वेभाराको जीवनी

गुरिल्ला योद्धा चे ग्वेभाराको जन्म ई.सं. १४ जुन १९२८ मा पिता अर्नेस्टो ग्वेभारा लिन्च र माता सेलिया डेला सेर्नाको कोखबाट अर्जेन्टिनाको रोजारियामा भयो । उनी मध्यम बर्गका शिक्षित परिवारमा जन्मे उनका बाबु अर्जेन्टिनाका निरङ्कुश शासक पेरोका विरोधी थिए । उनी भुमिगत लडाइ लड्ने सङ्गठनसँग आबद्ध थिए । आमा पेरो विरोधी प्रदर्शनमा भाग लिँदा दुईपटक गिरफ्तारीमा परेकी थिइन् । 

चे सानै देखि चिकित्सक बन्ने आकांक्षा बोकेर हिडेका थिए । उनी अध्ययनका क्रममा चिकित्सक बने पनि । तर मानवीय संवेदनाका धनी चे गरिब जनताको शोक, भोक र सन्तापबाट मर्माहत भई स्टेथेस्कोप फालेर बन्दुक समाते । 

उनले अमेरिकी साम्राज्यवादको नाङ्गो हस्तक्षेप देखे । त्यस बेला अमेरिकामा चिकित्सक अमेरिका समर्थित तानाशाहहरुको जगजगी थियो । त्यहाँ निर्धन जनता र मजदुरमाथि अमेरिका तथा विदेशी कम्पनीद्धारा भइरहेको शोषण दमनलाई उनले नजिकैबाट नियाले । त्यसैले उनले बन्दुक समातेर अमेरिकी साम्राज्यबादका विरुद्धको क्रान्तिमा होमिए । 

उनले फिडेल क्यास्ट्रोसँग मिली बाटिस्टा शाषनका विरुद्धमा मोर्चा कसे र क्युवालाई मुक्त गरेरै छाडे । स्वयम् दमका रोगी चे कुशल चिकित्सकका साथै कुशल लडाकु पनि थिए । युद्धका क्रममा उनी घाइतेको उपचार गर्थे, भारी बोक्थे, बन्दुक बोकेर लड्थे । उनी कमान्डर थिए । चे भन्थे, “क्रान्तिकारी राजनेताले साधुको जीवन बिताउनुपर्छ, आडम्बरहीन भएर बाँच । समाजवादमा पुँजीवादी वातावरण सिर्जना गर्ने प्रयास नगर ।” 

क्युवाको मुक्तिपछि उनी क्युबाको नेसनल ब्याङ्कको गभर्नर बने, भुमिसुधार मन्त्री भए, अनेकौं देश डुले तर सम्पतिका नाममा एक सरो धागो पनि जोडेनन् । उही खाकी ड्रेसमै सधैं उनी रमाए । उनी कठिन परिश्रम गर्थे, मजदुर र किसानहरुलाई प्रशिक्षित पार्थे । 

उनले क्युबामा क्रान्ति हुनुपूर्व नै फिडेल क्यास्ट्रोसँग सर्त राखे, “क्युबामा क्रान्ति सम्पन्न भएपछि कुनै पनि बहानामा मलाई यहाँ रोकिनै छैन । मैले भन्नासाथ मलाई दक्षिण अमेरिकामा क्रान्ति सम्पन्न गर्नका लागि जान दिनुपर्छ” । उनलाई कुनै पनि किसिमको मानसम्मान र ओहोदाले रोक्न सकेन र सर्तबमोजिम उनी बोलिभिया गए । 

२७ जनाको डफ्फासहित बोलिभियाको जङ्गलमा गुरिल्लायुद्ध लड्न पुगेका चे अन्तमा एकजना विश्वासघाती किसानका कारण शत्रुको घेरामा परे । अमेरिकी सि.आइ.ए. एजेन्टमार्फत तालिमप्राप्त रेन्जरका आधा दर्जनभन्दा बढी गोलीबाट उनको हत्या भयो । सि.आइ.ए. र निरङ्कुश शाषकहरुले उनका विरुद्धमा कानुनी कारबाही चलाउने आँट गर्न सकेनन् । पछि अमेरिका स्वयंले स्विका¥यो, “चेमाथि मुद्दा चलाउनुको अर्थ भुकम्प निम्त्याउनु थियो ।” त्यस्तो क्रान्तिकारीलाई अदालतको कठघरामा उभ्याउनु असम्भव थियो ।”

चे एक अन्तर्राष्ट्रियवादी क्रान्तिकारी योद्धा थिए । सरलता, निरन्तरता, दृढता र उच्च मनोबल उनको परिचय बन्न पुग्यो । उनका लागि भूगोल एउटै थियो, कुनै देशका सिमानाको अर्थ थिएन । 

अर्जेन्टिनाको भूमिमा नयन खोल्दै, त्यहींको माटोमा शिक्षाको घाम तापी ग्वाटेमालाबाट क्रान्तिको कखरा सिकी मेक्सिकोबाट क्युबामा गई क्रान्ति सम्पन्न गर्ने महान् अन्तर्राष्ट्रियवादी चेले कङ्गोमा क्रान्तिको बीज छरेर बोलिभियाको क्रान्तिमा इ.स. ९ अक्टोवर १९६७ मा सहादत प्राप्त गरे ।