अलविदा अम्बर, सधै 'अम्मर' रहने छौ

२५ जेष्ठ, काठमाडाैं । नेपाली गीत संगीतकाे मात्र हाेइन सिंगाे राष्ट्रियताको एउटा युग हो-अम्बर गुरुङ । प्रवासमा जन्मिएर नेपाली माटोलाई सुुघेको ब्यक्ति : जसका शब्दहरुले देश गायो संगीतले माटो हाँस्यो अनि समग्रमा देश नाचिरह्यो ।

तारा जस्तै उदीयमान अम्बर नेपाली गीत संगीतकै पहिलो पुस्ताकै प्रभावशाली संगीतकार हुन् ।  बाबु उजीरसिंह गुरुङ र आमा रेणुकुमारी गुरुङको कोखबाट १९९४ साल फागुन १४ गते भारतको दार्जिलिङ लालढिकीमा जन्मिएका हुन्, उनी ।

तीन छोरा र एक छोरीका पिता गुरुङले आई.ए सम्मको औपचारिक शिक्षा हासिल गरेका थिए । नेपाली गीत र संगीत अहिले पनि उनैले कोरिदिएका डोबहरुमा बामे सरिरहेको छ ।

उनले संगीत दिएका तथा गाएका एक हजार भन्दा बढी गीतहरु रेकर्ड भइसकेका छन् । उनका ती कालजयी गीत संगीतले नेपालको सुगम संगीतमात्र होइन स्वदेशगानले समेत भण्डार भरिएको छ ।

गुरुङले झण्डै ५० वर्षअघि अर्थात सन् १९६१ मा प्रवासी नेपाली साहित्यकार आगमसिंह गिरीको रचनामा पहिलो पटक 'नौ लाख तारा उदाए....' गीत गाएका थिए । यहीबाट उनको सांगितिक यात्रा सुरु भयो ।

हुने विरुवाको चिल्लो पात भनेझै गुरुङको यो गीतले यति धेरै सफलता प्राप्त गर्यो की एक हप्तामै पाँच सय भन्दा बढी प्रति विक्री भयो । दार्जिलिङका नेपालीहरुको कथा ब्याथा र त्यहाँ रहेका नेपालीहरुको पीडालाई समेट्दै नेपाली अस्तित्वलाई कायम राख्न यो गीत गाएका थिए उनले ।

तर, नेपाली पहिचान समेटिएको यो गीतलाई राजनीतिक रंग दिइएर भारतमा गीतलाई बज्न प्रतिवन्ध लगाइयो । गीत भारतविरोधी भन्दै अल इन्डिया रेडियोमा प्रतिबन्धित भएको थियो । दार्जिलिङमा नेपाली भाषाले संवैधानिक मान्यता नपाउन्जेल प्रतिबन्ध कायम नै रह्यो ।

प्रवासमा रहेर पनि देशलाई औधी माया गर्ने गुरुङले दार्जिलिङमा रहदा नेपाली अस्तित्व र जातिय पहिचानलाई जोगाइराख्नका निम्ती जस्तो सुकै अड्चनहरुलाई पनि सहजै सामना गर्दै गए । सुरुमा व्रिटिसहरुको साम्राज्य त्यसपछि भारतीयहरुको दबदबा सहँदै बसेका नेपालीहरुमा जनचेतना जगाउनका निम्ती अर्को कठोर संघर्ष सुरुवात गरे उनले ।

यतिसम्म कि एउटा गीत त उनले रेकर्ड सम्म गर्न पाएनन् । ‘सुगौली सन्धी विर्सेको छैन भनिदे’ बोलको गीत सबैतिर प्रतिबन्ध लगाइयो ।

नेपाली भाषाको मान्यताको माग गर्दे,अस्तित्व पहिचान र नेपाली पन जोगाउनका निम्ती चर्चित कवि आगमसिंह गिरीले यसको रचना गरेका थिए । उनको रचनामा रहेको यो गीतलाई गुरुङले २३ वर्षको उमेरमा दार्जिलिङमा गाएका थिए ।

तर यो गीतमा समेत राजनीतिक रंग पोतेर रेकर्ड गर्न दिइएन । यही गीत गाएवापत गुरुङ र गिरीलाई जेल समेत हालिएको थियो । प्रवासमा नेपाली पहिचान र अस्त्विलाई जोगाउनका निम्ती देश प्रेमले ओतप्रोत भएका गीत हरु गाउनु उनको पहिचान जस्तै बनेको थियो ।

उनले लक्ष्मीप्रसाद देवकोटाको गीति नाटक कुन्जिनी, मुनामदनमा संगीतांकन गरेका छन् । सत्यमोहन जोशीका चार नाटकलगायत माधवप्रसाद घिमिरेको मालती मंगलेमा समेत सँगीत दिएका छन् स्व. गुरुङले । 
उनले चलचित्र मनको बाँध, जीवनरेखामा पृष्ठसँगीत र पाश्र्व सँगीत दिएका छन् भने आदिकवि भानुभक्त वृतचित्रमा पनि पाश्र्व संगीत, स्वर दिएका छन् ।

सांगीतिक जीवनको थुप्रै उतारचढाव आरोह अवरोह हरु पार गरेका उनले पछिल्लो राष्ट्रिय गान 'सयौ थुगाँ फूलका हामी एउटा माला नेपाली' गीतमा संगीत भरेका थिए ।

उनको लेखन, संगीत र गायनमा आज पनि हजारौ गीतहरु रेकर्ड भएका छन् । जुन अहिले पनि अजर अम्मर र कर्णप्रिय छन् ।

गुङको अक्षरका आवाजहरू गीति संग्रह, कहाँ गए ती दिनहरू संस्मरण, निबन्ध, कहिले लहर कहिले तरंग गीति क्यासेट, सम्हालेर राख संयुक्त गीतिसँग्रह लगायत धेरै गीतमा शब्द, संगित तथा स्वरहरु भरेका छन् ।

गीतकार गोपाल प्रसाद रिमालको शब्द रचनामा २०१४ सालमा गाइएको सैनिक गान रातो र चन्द्रसूर्यका गीतकार तथा संगीतकार अम्बर गुरुङलाई नेपाली सेनाले दज्र्यामी चिन्ह प्रदान गरी सम्मान गरेको थियो ।

१ जनवरी २०१४ हङकङमा हिमालयन टोन्स म्युजिक एकेडेमीले आयोजना गरेको “अम्बर गुरुङ रात्री” मा आयोजकका तर्फबाट संगीतकार गुरुङलाई अभिनन्दन गर्दै “महासंगीतकार” को घोषणा गरियो ।

विगत पाँच दशक यता सङ्गीत साधनामा निरन्तर लगनशील रही सांगीतिक माध्यमद्वारा नेपाली कला र संस्कृतिको उत्थानका साथै नेपाली भाषा साहित्यको श्रीवृद्धि गर्न सशक्त योगदान गरेबापत वि.सं. २०५४ सालको जगदम्बाश्री पुरस्कारबाट सम्मानित गरिएको थियो ।

उनले २०२८ सालमा गोरखा दक्षिणबाहु चौथो, सन् १९९४ मा गिरी पुरस्कार गुठी दार्जिलीङबाट १ लाख नगद र प्रमाणपत्र सहित सम्मान, वि.सं. २०३८ सालमा इन्द्रराज्यलक्ष्मी पुरस्कार, २०४७ सालमा छिन्नलता गीत पुरस्कारबाट सम्मानित गरिएको थियो ।

नेपाली गीत संगीत अनि राष्ट्रियताका धरोहरः जसले देशगाए अनि प्रवाशमा रहेर पनि स्वाभिमानका निम्ती नहारेका गुरुङका यी अपराजित पाइलाहरु जसले राष्ट्रियताका एउटा युग स्थापित गरायो ।

गुरुङको संघर्षका कथा 
वरिष्ठ संगितकार अम्बर गुरुङले चर्चित प्रवासी कवि आगमसिंह गिरीको संगत पाएसँगै आफ्नो संगीत यात्रा सुरु गरेका थिए । सैनिक परिवारमा जन्मिएका गुरुङ गित संगीततर्फ लाग्दा उनको परिवार कसैले पनि रुचाएका थिएनन् ।

परिवारबाटै संर्घष गरेर गीत संगीततर्फ हानिएका उनले वाहिरी वातावरणमा कडा संघर्षसँग जुहारी खेल्नु पर्यो । यसरी परिवारको चाहना र रोजाई विपरीत गीत संगीततर्फ लागेका गुरुङलाई नौलाख तारा उदाए गीतले चर्चितमात्र बनाएन नेपाल आउने सौभाग्य समेत दिलाएको थियो ।

दार्जिलिङमा यो गीत निकै चर्चित भएपछि तत्कालिन राजा महेन्द्रको आमन्त्रणमा उनी पहिलो पटक सन् १९६८ मा नेपाल आएका थिए ।

राजाको निमन्त्रणामा सन् १९६८ मा नेपाल आइसकेपछि त्यतिखेर भर्खरै खुलेको नेपाल प्रज्ञा प्रतिष्ठानमा निर्देशकको जिम्मेवारी सम्हाल्दै, विभिन्न संघ संस्थाहरुमा आबद्ध रहँदै अहिले पनि नेपाली गीत संगीतको उन्नतीका निम्ति लागि परे ।

पारिवारिक समर्थन र सहयोगका बावजुद पनि सांगीतिक क्षेत्रमा निरन्तर लागिरहन तत्कालीन राजाको आमन्त्रण नै निर्णायक बन्यो । नेपाल आइसकेपछि पनि निकै संघर्षका दिनहरु उनले बिताएका थिए । 
यतिसम्म कि संघर्षसँग हार मानेर जीवन नै त्याग गर्ने मनस्थितीमा समेत पुगेका थिए ।

गुरुङ सफल हुनका लागि जीवनमा मानिसले एकपटक दुःख पाउनैपर्ने मान्यता राख्थे । जीवनका हरेक अप्ठेरा मोडहरुबाट पनि कति विचलित नभई देश प्रेममा आफूलाई समर्पित गरेका उनी नेपाली हुन पाएकोमा गर्व गर्व गर्थे । देशका लागि सानै भएपनि केही न केही गर्नुपर्ने उनको मान्यता थियो । निकै संघर्ष, आरोह अवरोहहरु पार गर्दे नेपाली गीत संगीत मार्फत स्वाभिमानको विम्ब काेरेका गुरुङले बाबुआमालाई आफ्नो सांगीतिक सफलता देखाउन भने पाएनन् ।

देशको एउटा सांगीतिक नक्षत्र, जसले जीवनको अन्तिम क्षण सम्म पनि हरेक युवालाई देशका लागि केही न केही गर्नुपर्छ भनी प्रेरित गरिरह्यो । स्वाभिमानी संगीतज्ञप्रति नेपालीपत्र हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछ । अलविदा अम्बर । सधै अमर रहिरहनेछौ ।
- नेपाली पत्र