‘ल्याण्ड लाइन’ टेलिफोनको नम्बर १० अंकको हुँदै

काठमाडौं, जेठ २२ । नेपाल दूरसञ्चार प्राधिकरणले ‘ल्याण्ड लाइन’ नम्बर र म्यासेज सेवा प्रणाली परिवर्तन गर्ने तयारी गरेको छ। दूरसञ्चार सेवाको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नेपालको सेवालाई पनि अघि बढाउन प्राधिकरणले यो कदम चालेको हो। 

यस प्रक्रियामा ल्याण्ड लाइन नम्बर १० अंकमा परिवर्तन गरिनेछ। त्यस्तै ४ अंकको एसएमएस सेवामा पनि परिवर्तन गरिने छ। साथै मोबाइल सेवा र एसएमएस सेवाको कोडमा पनि केही परिवर्तन गरिने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार मोबाइल सेवाको कोड परिवर्तन गरिए पनि मोबाइल नम्बर भने १० वटा अंक नै रहने र मोबाइल नम्बर पुरानै हुनेछ। 

‘ल्याण्डलाइन नम्बर परिवर्तन प्रस्ताव पहिले नै गरिएको थियो,’ नेपाल दूरसञ्चार प्राधिकरण्का प्रवक्ता मीन प्रसाद अर्यालले भने, ‘उक्त प्रस्तावलाई पुनः छलफल गरेर अघि बढाउने प्रयास गरेका हौँ। निश्चय नै केही समयमा हामी यस विषयमा अघि बढ्ने छौँ।’

यस विषयमा छलफल भइरहेको कारण यसलाई कार्यान्वयन गर्न केही समय लाग्ने उनले बताए। नेपाल टेलिकम, एनसेल, युनाइटेड टेलिकम (यु.टि.एल), स्मार्ट टेलिकम (स्मार्ट सेल), एसटिएम टेलिकम र नेपाल सेटेलाइट (हेलो नेपाल) गरी जम्मा ६ वटा मोबाइल सेवा प्रदायक कम्पनी छन्। यी कम्पनीमध्ये नेपाल टेलिकमले मात्र ल्याण्ड लाइन सेवा दिँदै आएको छ। 

हाल काठमाडौँ उपत्यकाका ल्याण्ड लाइन नम्बरमा क्षेत्रगत कोड बाहेक ७ वटा अंक प्रयोग हुँदै आएको छ भने उपत्यका बाहिरका विभिन्न जिल्लामा ६ देखि ७ वटा अंक प्रयोग हुँदै आएको छ। नम्बर परिवर्तन गरिएपछि १० वटा अंकभित्रै क्षेत्रगत कोड पनि समावेश हुने प्राधिकरणले जनाएको छ। 

उपत्यका बाहिर लागू गरिने १० वटा अंकको नम्बरमा पहिलो २ वटा अंकले सेवाको प्रकारलाई जनाउनेछ, अर्को २ वटा अंकले ठाउँको कोड, त्यस्तै अन्तिमको २ वटा र ५ वटा अंकले अपरेटर कोड र फोन नम्बर जनाउने छ। 

उपत्यका भित्र पनि १० वटा अंकमा पहिलो २ वटा अंकले सेवाको प्रकारलाई जनाउनेछ भने त्यसपछिको १ वटा अंकले ठाउँको कोड, पछिको १ वटा अंकले अपरेटर कोड र अन्तिम ६ वटा अंकले फोन नम्बर जनाउने छ।

‘अंक २ लाई सुरुवाति अंकको रुपमा प्रयोग गर्ने भनेर प्रस्तावित गरेका छौँ,’ अर्यालले भने, ‘काठमाडौंका लागि एरिया कोड १ वटा अंकको मात्र हुनेछ।’ संस्थागत एसएमएस प्रणालीलाई ४ वटा अंकबाट पाँच वटामा लग्ने तयारी गरिरहेका उनले बताए। उनका अनुसार केही संस्थाको सिस्टम अपग्रेड नभएका कारण पूर्ण विवरण आउन बाँकी रहेको छ। 

के छन् त यसका फाइदा र बेफाइदा ? 

यसले पहिले प्रयोगमा आएका पुराना नम्बरलाई फुकुवा गरी नम्बरमा एकरुपता ल्याउन मद्दत गर्नुका साथै नयाँ सेवा प्रदायक कम्पनीलाई पनि यसमा समावेश गर्न सहज गर्छ। प्रयोगकर्तालाई विभिन्न ठाउँको नम्बर सम्झन गाह्रो पर्ने भएका कारण नयाँ प्रणालीमा सम्झिन सहज हुनेछ। साथै विभिन्न क्षेत्रका नम्बरलाई व्यवस्थापन गर्न सहज हुनेछ। 

यसका केही बेफाइदा पनि देखिएका छन्। अब आउने ल्याण्ड लाइन नम्बर १० अंकको हुने भएका कारण प्रयोगकर्तालाई नम्बर डायल गर्न समय बढी लाग्ने छ। साथै यसका विषयमा प्रयोगकर्ता माझ जानकारी तथा सूचना फैलाउनु पनि चुनौतीको विषय बन्न सक्छ।

१० अंक प्रणाली ल्याएपछि इन्टरनेट सेवा प्रदायक कम्पनीले पनि इन्टरनेटमा आधारित भएर दूरसञ्चार सेवा प्रदान गर्न सक्ने प्राधिकरणको भनाई छ। इन्टरनेटमा आधारित भएर सेवा प्रदान गर्दा केही फरक आउने सक्नेछ। 

नेपाल टेलिकमले प्रदान गर्दै आइरहेको टोल फ्रि सेवाको नम्बरमा पनि केही परिवर्तन गरिने भएको छ। १६६० बाट सुरु हुने टोल फ्रि नम्बरलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार १८०० बाट सुरु गर्न प्रस्तावित गरिएको अर्यालले बताए। 

१० अंक प्रणाली लागू भएपछि मात्र राष्ट्रिय र अन्तर्राष्टिय कल शुल्कमा परिवर्तन हुने की नहुने भन्ने विषयमा जानकारी हुने अर्याल बताउँछन्। प्राधिकरणले केही समय यता ‘फोर जी’ सेवा विस्तार, इन्टरनेट सेवा विस्तार, अवैधानिक मोबाइल फोन ब्लक लगायत प्रक्रिया अघि सारेको छ। 
- सेतोपाटी