पक्राउ पर्ने डरले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अष्ट्रेलिया नगएको खुलासा

काठमाडौं, ९ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अष्ट्रेलिया भ्रमण अचानक स्थगित हुनुबारे नयाँ रहस्योद्घाटन भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा भ्रमण स्थगित गरेको बताइएपनि त्यसको भित्री कारण भने अर्कै छ । द्वन्द्वकालिन मुद्दामा पक्राउ पर्ने ‘डर’ले उनले अन्तिम समयमा भ्रमण स्थगित गरेको स्रोतले बतायो ।

प्रचण्डको अष्ट्रेलिया भ्रमण रोक्नुपर्ने माग गर्दै अष्ट्रेलिया सरकारमा उजुरी नै परेको थियो । प्राप्त रिपोर्टअनुसार नेपाली मूलका अष्ट्रेलियन नागरिकले प्रचण्डविरुद्ध न्यूसाउथवेल्सका प्रिमियर माईक बेयर्डसमक्ष उजुरी गरेका थिए । उक्त उजुरीमा तत्कालै तदारुकता देखाउँदै न्यूसाउथवेल्स सरकारले कारबाही अघि बढाएको पाइएको छ । अष्ट्रेलियन प्रहरीले समेत यस विषयमा चासो देखाएको थियो ।

न्यू साउथवेल्सका प्रिमियरलाई गरिएको उजुरीमा प्रचण्डकै कारण १५ हजार मानिसको ज्यान गएको, १ लाख ५० हजार मानिसले जनयुद्धका क्रममा विस्थापित बनेको र अष्ट्रेलिया आएर पनि हत्या हिंसालाई नै बढावा दिने जिकिर गरिएको थियो । यसैगरी अमेरिकाले तत्कालीन नेकपा माओवादीलाई अन्तर्राष्ट्रिय आतंकवादी संगठनको सूचीमा राखेको पनि उजुरीमा उल्लेख गरिएको छ ।

सिड्नीमा शनिबार आयोजना हुन लागेको जनप्रगतिशील मञ्च अष्ट्रेलियाको कार्यक्रमको पोष्टर समेत साथमै राखेर दिइएको उजुरीमा नेपालमै पनि उनीविरुद्ध ३७ वटा मानवअधिकार उल्लंघनको विषयमा मुद्दाहरु विचाराधीन रहेको लेखिएको छ । यससँगै उजुरीमा माओवादी युद्धकै कारण नेपालीहरु विदेशमा शरणार्थी हुन बाध्य भएको र खाडी मुलुकहरुमा श्रम बेच्न बाध्य बनेको पनि उल्लेख गरिएको छ ।

अष्ट्रेलियाको माइनेपाली टिभीका प्रमुख चीरञ्जीवि देवकोटाले सार्वजनिक गरेको पत्र

यसअघि नेपाली सेनाका कर्नेल कुमार लामा बेलायतमा गएकै बेला पक्राउ परेका कारण प्रचण्ड पनि युद्धकालिन मुद्दामा फस्ने डरले अष्ट्रेलिया जानबाट डराएका हुन् । द्वन्द्वकालिन मुद्दाको टुंगो नलागिसकेकाले प्रचण्डलाई अष्ट्रेलिया नजान उच्चस्तरबाट समेत सुझाव आएको स्रोतले बतायो । प्रचण्डविरुद्ध उजुरी परेको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई अष्ट्रेलिया सरकारले जानकारी गराएको थियो । थप विपत निम्तिन सक्ने डरका कारण प्रधानमन्त्री ओलीले प्रचण्डलाई अष्ट्रेलिया जान ठीक नहुने सल्लाह दिएका थिए । सत्यनिरुपण आयोगका अधिकारीहरुले पनि प्रचण्डलाई अष्ट्रेलिया भ्रमणमा जानु अहिले उपयुक्त नहुने सुझाव दिएको थियो ।

द्वन्द्वकालका घटनाहरुमा मानवअधिकार उल्लंघन, हत्या, अपहरणजस्ता मुद्दा अहिलेसम्म किनारा नलाग्दा नेताहरुमाथि अन्तर्राष्ट्रिय न्यायिक क्षेत्रले निगरानी गरिरहेको छ । कर्णेल कुमार लामा दुई वर्षअघि बेलायतमा पक्राउ परेपछि माओवादी र कांग्रेसका कुनैपनि उच्चस्तरका नेता युरोप–अमेरिकाको भ्रमणमा गएका छैनन् । यसअघि एमाओवादीका नेता एवं हालका वनमन्त्री अग्नी सापकोटालाई पनि अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको थियो ।

‘नेपालकै कारण यस्तो अवस्था आइलाग्यो’

मानवअधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले भने नेपालकै नेताहरु विदेश जानबाट भाग्नुपर्ने अवस्था आएको बताउँछन् । ‘हाम्रो घरेलु कानुन अन्तर्राष्ट्रिय कानुन अनुरुप नभएको अवस्थामा नेपाल यातनाविरुद्धको अन्तर्राष्ट्रिय कानुनको पक्षराष्ट्र भएकोले उक्त कानुनका कुनैपनि पक्षराष्ट्रले यातनासम्बन्धी मामिलामा जो कोही नेपाली नागरिक उपर अन्तर्राष्ट्रिय क्षेत्राधिकार प्रयोग गरेर उनीहरुको देशमा कारवाही प्रक्रिया अगाडि बढाउन सक्छन् ।’ विदेशी भुमिका नेपाली सेनाको कर्णेल कुमार लामा पक्राउ पर्नु राष्ट्रकै बेइज्जत भएको उनको भनाई छ ।

पत्नी सीतासहित प्रचण्ड बुधबार दिउँसो १२ बजेर ३० मिनेटमा अष्ट्रेलिया उड्ने तयारीमा रहेका प्रचण्डले त्यसको चार घण्टा अघि मात्रै भ्रमण रद्द गरेका थिए ।
- दैनिक नेपाल