विल्सनविक्रम राई कसरी तक्मे बूढो बने ? एक संघर्षमय कथा

उनी सानै थिए, ८ वर्षका । पढ्न मनै नलाग्ने । कसरी हुन्छ – कक्षा बंक गर्नुमा उनलाई ठूलो उपलब्धि हासिल गरेझैं लाग्थ्यो । वर्षौं उनले त्यसै गरे । घरमा टेलिभिजन थिएन । उनी टेलिभिजन भनेपछि हुरुक्कै । नहेरी बस्न नसक्ने । छिमेकीको घरमा टेलिभजन थियो । बासै उतै हुन्थ्यो ।

एकदिन ‘शोले’ भन्ने हिन्दी चलचित्र नकाटी पूरै दिने भन्ने हल्ला गाउँभरि चल्यो । सिनेमा पूरै आउने भनेपछि उनलाई हुटहुटी भयो । अबेर रातिसम्म बसेर हेरे । आफू पनि हिरो भएर भिलेनलाई त्यसैगरी कुट्न पाए हुन्थ्यो भन्ने लाग्यो । घरमा बुबा बम्किए । नमज्जाले पिटाइ खाए । त्यसरी पिटाइ खानु उनका लागि दाल भात भइसकेको थियो । तर, त्यो दिन भने उनलाई बुबाले अनौठो सजाय दिए । अबेर राति भइसकेको थियो । नुहाएर मात्रै घर छिर्न अह्राए । केटाकेटी उमेरमा यसै पनि नुहाउन गाह्रो, त्यसमा पनि रातिको समय । त्यो पनि कलमा पानी पेलेर नुहाउनु पर्ने । त्यो पनि बाल्टिनमा पानी हालेर होइन, कलमै थापिएर । उनी नुहाएरै घरभित्र पसे ।

पूर्वी पहाडलाई घामको झुल्कोले लपेट्यो । उनी उठे । तर, त्यो बिहानीले उनलाई हिरो बनाएर उठायो । सिनेमाको हिरोझैं स्लो मोसनले टक्टक् हिँड्न थाले । सर्टको टाँक खोलेर, खल्तीमा हात हालेर हिँडे । यो क्रम चलिरह्यो ।

पाँच मिनेट परको पसल जाँदा हिरोझैं स्लो मोसनमा हिँड्दा उनलाई आघा घण्टा लाग्थ्यो ।

एकदिन बुबाले नुन किन्न पठाए । राजेश हामालझैं ढल्किँदै पृष्ठभूमिमा म्युजिक बजेको कल्पना गर्दै त्यही तालमा उनी नुन किन्न गए । ठ्याक्कै आधा घण्टा लाग्यो । फर्किन आधा घण्टा । बुबाले ढाड सेकिने गरी पिटे । तर, उनी हिरो बन्न छाडेनन् । हिरोझैं ढल्किएर हिँड्ने बानी लाग्यो । कैयौं पटक पिटाइ खाए ।

नयाँ बानेश्वरको बेकरी क्याफेमा भेटिएका विल्सनविक्रम राई (तक्मे बूढो) ले हाउभाउसहित आफ्नो बाल्यकाल सुनाए । उनी ढाँट्दैनन् । विगत सम्झिँदै वर्तमानमा बाँचेर भविष्यको जीवन बाटो खोतले हामीसँग ।

झापामा विसं २०४३ माघमा जन्मिएका विल्सनलाई मैले पहिलो प्रश्न गरें, “माध्यमिक तहसम्मको अध्ययन झापामै गर्नुभो ?”

“मैले धेरै पढेको छैन । सालेप मात्रै हो,” उनले भने ।

“बुझ्नु भएन ? सालेप भनेको साधारण लेखपढ,” उनले आफैं उत्तर दिए, “मेरा आफ्नै बाध्यता थिए । मैले पढ्न पाइनँ । अहिले पढ्नुपर्छ जस्तो लागेको छ । शायद अब पढ्छु पनि होला ।”

उनी सानै छँदा आमा बितिन् । आमालाई रोग लाग्दा बुबाले बचाउन हजार प्रयास गरे । भएको जग्गा–जमिन सबै बेचेर उपचार गरे तर बचाउन सकेनन् । आमाको न्यानो काख उनका लागि कल्पना र सपना मात्रै भयो ।

बुबाले अर्को विवाह गरे । उनी झन् दपेटिएको अनुभूत गर्न थाले । जमिन बेचिसकेका थिए । परिवारको आर्थिक अवस्था राम्रो थिएन । बुबाले गाडी चलाउन थाले । त्यतिबेला उनी १० वर्ष पनि पुगेका थिएनन् । पढाइ त्यहीँ रोकियो । जीवनको अर्को अध्याय सुरु भयो ।

० ० ०

बेकरी क्याफेको आफ्नै विशेषता छ । त्यहाँ काम गर्ने अधिकांश कर्मचारी बोल्न सक्दैनन् । राईले गर्मी छल्न चिसो पेय पदार्थ मगाए । उनी त्यहाँका कर्मचारीसँग राम्रै घुलमिल भएर हो या कलाकारिताको क्षमताले– इसारै इसारामा राम्रो संवाद गर्दा रहेछन् ।
“सानो हुँदा के सपना देख्नुहुन्थ्यो ?” मैले अर्को प्रश्न तेस्र्याएँ ।

“चलचित्रमा काम गर्ने । त्यही भएर त नपढेको,” उनले फेरि हँसाए ।

“हुन त मैले पढेको छैन भन्दा कसैले पनि पत्याउँदैन,” अंग्रेजीमा फररर बोल्न सक्ने उनले भने, “बोर्डिङमा पढेकोले होला– मलाई अंग्रेजी बोल्न आउँछ । तर, म बोल्दिनँ,” जानी–नजानी अंग्रेजीमा बोल्नेलाई व्यंग्य गर्दै उनले थपे, “तर म बोल्दिनँ, अंगे्रजी बोलेर चिप्लिनुभन्दा नेपाली बोलेर छाती फुलाउनु नै राम्रो ।”

० ० ०

विल्सन ९ वर्षका थिए । उनमा चलचित्रको भूत सवार भइसकेको थियो । जसरी हुन्छ– उनलाई अभिनय गर्नु थियो । स्टार कलाकार बन्नु थियो । त्यही समय झापामा चलचित्र ‘साथी’को सुटिङ युनिट आयो । उनी सुटिङ स्पट गए । उनले टेलिभिजनमा देखेका राजेश हमाल हिरो थिए । उनी ‘आँ’ गरेको गर्यै भए ।

त्यसमा बाल कलाकारको खोजी भइरहेको थियो । उनलाई चलचित्रमा खेल्नु थियो । जे मनमा लागेको छ, त्यो सिधै भन्ने उनले सिधै राजेश हमाललाई भेटे र भने, “आई उड लाइक टु प्ले द मुभी, आई वान्ट टु बी एन एक्टर ।”

उनको साहस देखेर राजेश हमाल छक्क परे । मुस्कुराए र धाप मारे । उनीसँग अझै पनि त्यो बेला राजेश हमालसँग खिचेको फोटो सुरक्षित छ ।

विल्सनले त्यो चलचित्रमा ‘बे्रक’ पाए । सपना पूरा भयो । खुसीको सीमा रहेन । एकदिन लगाएर सुटिङ गरे । सुटिङ पहिलो पटक देखेको र गरेको । रिफ्लेक्टरलाई नै क्यामरा ठानेछन् । निर्देशकले जे भन्छन् उनले त्यही गरे । पछि पो थाहा पाए त्यो त क्यामरा होइन, रिफ्लेक्टर पो रहेछ ।

झापा मोफसलको सहर । त्यसमा पनि उनी आधा गाउँले । त्यो समय नेपाली चलचिको ‘गोल्डेन युग’ । राजेश हमाल त्यो समयका ‘मोस्ट डिमान्डेड’ नायक । अनि तिनै नायकसँग विल्सनको हिमचिम । गाउँ पूरै हल्लियो– राजेश हमालले विल्सनलाई चिन्छन् भनेर । चलचित्रमा सँगै काम गरेको भनेर । विल्सनको पूरै गाउँ ‘साथी’ रिलिज डेटको व्यग्र प्रतीक्षामा बस्यो ।

चलचित्र रिलिज हुने भयो । उनले पहिलो दिनमै हेर्न भ्याए । पूरै एकदिन लगाएर सुटिङ गरेको, उनलाई त झुलुक्क एकपटक मात्रै पो देखाउँछ । फेरि देखाउला भन्यो, देखाउँदैन त । अब त आउला भन्यो, आउँदैन । कि राजेश हमाललाई देखाउँछ, कि कुकुरलाई । चलचित्रमा फेरि उनी देखिएनन् । उनी निराश भए ।

‘साथी’सँग जोडिएको अर्को कथा पनि सुनाए उनले । गाउँभरि राजेश हमालसँगै विल्सनले पनि खेलेको छ भन्ने हल्ला चलेपछि उनका बुबालाई साथीहरुले चलचित्र हेर्न हल लगेछन् । सुटिङ भन्दै एक महिनासम्म हिँडेको केटो एकपटक मात्रै झुलक्क देखिएपछि साथीहरुले जिस्काएछन्, “तेरो छोरो त कुक्कुर जत्तिको पनि रहेनछ, तँलाई त कुकुरलाई जति पनि देखाएन ।”

बुवाको रिसको पारो चढेछ । घरमा आएर विल्सनलाई पिट्नुसम्म पिटे ।

लामै रोलको आशा गरेर हल पुगेका उनी अहिले हाँस्दै भन्छन्, “पज गरेर हेर्दामात्रै देखिन्छु त्यहाँ म । अहिले पनि बेला–बेलामा पज गरेर हेरिरहन्छु ।”

उनीसँग अर्को पनि त्यस्तो घटना जोडिएको छ, जुन उनी सधैं सम्झिरहन्छन् ।

झापामा ‘शिखर साँझ’ भन्ने कार्यक्रम थियो । त्यो कार्यक्रमका लागि हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, किरण केसी, राजाराम पौडेल अतिथि सदनमा बसेका थिए । मह जोडीलाई भेटेर सँगै पफर्मेन्स विचार गरे । उनी स्टेजमै पुगे, सुरक्षाकर्मीले रोक्न खोजे । उनले अनुरोध गरेर भित्र छिरेर भने, “मलाई पनि प्रस्तुतिमा राख्न पर्यो ।”

उनीहरुले सोधे, “बाबु तिमी के गर्छौ ?”

“जे भन्नुहुन्छ, म त्यही गर्छु । डान्स भने डान्स गर्छु, गीत गाउन भने गीत गाउँछु, डाइलग डेलिभर गर्न लगाए त्यही गर्छु,” उनले खरर भनेछन् ।

८–९ वर्षे फिस्टेको साहस देखेर उनीहरुले मौका दिए । ‘सी यु अन सन डे’ भन्ने राम श्रेष्ठको गीतमा नाचे । सबैले मन पराए । पछि पो उनलाई त्यहाँको भीड देखेर अचम्म लाग्यो ।

त्यो कार्यक्रमपछि त उनको क्रेज नै बढ्यो । गाउँमा हल्ला चल्यो– विल्सनलाई राजेश हमालदेखि हरिवंश, मदनकृष्णसम्मले चिन्छन् । उनी झापाको स्टार कलाकारमा दरिइसकेका थिए ।

० ० ०

एकदिन विल्सनले काठमाडौं आएर चलचित्रमा अभिनय गर्ने निर्णय गरे । घरमा भन्दा परिवारले अनुमति दिँदैनथ्यो– पक्का थियो । त्यसैले उनी कसैलाई नभनी काठमाडौं आए भागेर । बुबा सवारी चालक भएकाले मोटे गुरुजीको छोरो भनेपछि उनलाई सबैले चिन्थे । क्याबिनमा बसेर स्टाफ खाना खाँदै उनी काठमाडौं उत्रिए । पैसा थिएन । रित्तो हात काठमाडौं ओर्लिएका थिए । उनीसँग एउटा नाइकी झोला थियो । त्यसमा एक जोर लुगामात्र कोचेका थिए । त्यो झोलाभित्र सपनाको ठूलो पोको पनि थियो ।

काठमाडौं आएर एकजना साथीसँग बस्न थाले । उनको ध्यान चलचित्रमै थियो । चलचित्रकर्मी र सुटिङ स्पट खोज्न थाले । काठमाडौंमा बस्न त्यति सहज थिएन । दुई छाक टार्नमात्रै पनि पहाड थियो । उनी साँझ–साँझ डान्स रेस्टुराँमा नाच्ने काम गर्न थाले । १२ वर्षको बालकलाई कानुनले काम गर्न दिँदैनथ्यो । त्यसैले श्रम ऐन आकर्षित हुन्छ भनेर उनलाई नाचुन्जेलमात्रै होटलमा राख्थे । नाचेर सक्नेबित्तिकै साहूले निकालिहाल्थे ।

दौरा, सुरुवाल, वेस्टकोट र भातगाउँले टोपीमा ठाँटिएर नाँच्दा उनी ‘क्युट’ देखिन्थे । त्यसैले धेरै पैसा झथ्र्यो । साँझ अबेरसम्म नाच्थे । दिनभरि सुटिङ हेर्थे । सुटिङ हेर्न उनी दिनहुँ चोभार पुग्थे । सुटिङ हेर्दा उनलाई अर्कै दुनियामा पुगेको भान हुन्थ्यो । कहिल्यै पनि सुटिङ हेरिरहेको जस्तो लाग्दैनथ्यो, आफैं हिरो हुँ भन्ठान्थे ।

उनी दैनिक सुटिङ नहेरी बस्न सक्दैनथे । मीनभवनमा कोठा थियो, सुटिङ हेर्न बालाजुको एनएफडीसी स्टुडियो पुग्थे । त्यहाँ रातभरि सुटिङ हेर्थे । सुटिङ नसकिएसम्म उनी छाडेर हिँड्दैनथे । उनी सबैसामु ‘नोटिस’ भइसकेका थिए । सुटिङ सकिएपछि गाडीले सबैलाई घरनजिकैको चोकचोकमा पु¥याइदिन्थ्यो । तर, विल्सनलाई कसैले छाडिदिएन । उनी राति बालाजुबाट हिँडेर मीनभवनको कोठासम्म आइपुग्थे ।
उनी निर्माता–निर्देशकसँग भूमिका माग्थे । अडिसन दिन्थे । तर, बाल कलाकारमा खेल्न उमेर घर्किसकेको थियो भने नायक वा नायकका साथीको भूमिका गर्न उमेर पुगेको थिएन । यहीकारण उनी अडिसनमा फेल हुन्थे । तर, हिम्मत हारेनन् । सास छउन्जेल आश हुन्छ भन्ने लाग्थ्यो र मन दह्रो बनाएर फेरि अर्को पटकका लागि तयारी गर्थे । यो क्रम चलिरहको थियो ।

एकदिन उनले उसैगरी नयाँ निर्देशकसँग भूमिका मागे । ती निर्देशकले भनेको विल्सन अहिलेसम्म सम्झिन्छन् । निर्देशकले भनेछन्, “बाबु तिमीलाई कस्तो रोल दिऊँ ? हिरो बनाउन जुँगाको रेखी पनि बसेको छैन, बाल कलाकार बनाऊँ भने ज्याकी च्यानलाई हिरो बनाउनु पर्छ । अब दुई–चार वर्षपछि आऊ ।”

उनलाई लाग्यो– मैले त्यहाँ खनिरहेको छु, जहाँ पानी आउँदैन । मेरो संघर्षको प्रतिफल आउँदैन । दुई–चार वर्ष त्यसरी कसरी बस्नू ?
उनी घर फर्किए ।

० ० ०

घरको जेठो छोरो । आमाको निधन भइसकेको थियो । बाबुले अर्को विवाह गरेका थिए । उमेर सानै भए पनि उनको काँधमा ठूलो जिम्मेवारी थियो । उनी तीन–चार वर्ष घरमै बसे । तर, उनलाई फिल्मको नशाले छाडेको थिएन । बरु झन् बढिरहेको थियो ।

१८ वर्ष पुगेपछि उनी फेरि पुरानै सपना बोकेर काठमाडौं फर्किए । पुरानै दैनिकी सुरु भयो । सुटिङ हेर्ने र कोठा फर्किने चक्र घुमिरह्यो । काठमाडौंमा एक्लै बस्न निकै कठिन थियो । त्यसैले एउटा साथीको कोठामा बस्न थाले । कोठा भाडा १५ सय थियो । महिनाको अन्तिमतिर साथी कोठा छाडर भाग्यो । तीन महिनाको भाडा तिर्नुपर्ने रहेछ । पसलमा उधारो पनि बाँकी रहेछ । त्यो कोठामा उनको केही पनि थिएन । घरभेटीले भाडा मागे । उनी बिलखबन्धमा परे । त्यो कोठा निल्नु न ओकल्नु भयो । उनले भाडा तिर्छु भने ।

कोठा भाडा तिर्ने आँट नभएर रुम सेयर गर्न लागेका विल्सनलाई आफ्नै साथीले फसायो । चाहेको भए उनी त्यहाँबाट भाग्न पनि सक्थे । तर, उनको ब्रह्मले त्यसो गर्न दिएन । उनले सोचे, “भोलि म स्टार कलाकार भएँ भने यो घरका भित्तामा मेरो पोस्टर टाँसिएला । अनि त्यो पोस्टरको तल यो मेरो घरको भाडा नतिरी भाग्ने भाग्ने मान्छे हो भनेर लेखियो भने मेरो इज्जत लिलाम हुनेछ !”

उनले एक वर्ष लगाएर त्यो घरको भाडा तिरे । कोठाभन्दा पनि त्यो छिँडीजस्तो थियो । चिसो, अँध्यारो छिँडी उनलाई प्यारो पनि थियो । किनकि त्यो कोठामा उनले कहिल्यै नदेखेको मोटो रकम तिरेका थिए । त्यो कोठामा उनले आफ्नाबारे लेखिएका पत्रिकाका कटिङको थाक थियो ।

कोठामा एक्लै बस्दा उनी कैयौं पटक भोकै सुते । एउटा चाउचाउ किनेर ल्याउँथे । आधा राख्थे र आधामा एक जग पानी हालेर उमाल्थे, खान्थे । दिनभरि सुटिङ हेरेर आयो, बिहान राखेको आधा चाउचाउ उमाल्यो, खायो । दिन यसैगरी बिते ।

दोस्रो पटक काठमाडौं आएपछि उनी उमेरले केही परिपक्व हुँदै थिए । उनले सानोतिनो रोल गर्न थालेका थिए ।

“मैले सयौं सिनेमामा काम गरें । तर, कुनैमा एउटा मात्रै हात देखिन्थ्यो, कुनैमा ढाडमात्रै, कहीँ जिन्दावाद र मूर्दावाद त कतै ‘हस् काजी साब’ भनेको,” हाँस्दै विगत सम्झिए, “कतै प्रहरीले लखेट्दा आक्कल झुक्कल देखिन्थें । कति ठाउँमा आफू हो कि होइन भनेर ठम्याउनै गाह्रो ।”
त्यसलै उनले नयाँ जुक्ति लगाएछन् । हातमा रुमाल या रिबन बाँधेपछि हातमात्रै देखिए पनि फ्याट्ट चिनिने । उनले कैयौं पटक चलचित्रमा आफ्नो अनुहार नदेखिएपछि पज गरेर हेरेका रहेछन् । “पज गर्दा पनि अनुहार राम्ररी ठम्याउन नसकिने भूमिकामा पनि छु म,” उनले मुस्काउँदै भने ।

तर, पनि उनी गलेका थिएनन् । कलाकार बन्ने उनको चट्टानी लक्ष्य मरेको थिएन । संघर्षको यात्रा चलिरह्यो ।

एनएफडीसी स्टुडियो पुग्थे, सुटिङ हेर्थे । जताततै राजेश हमालको वाहवाही थियो । एउटै स्टुडियोमा तीन वटा सेट तयार हुन्थे राजेशका लागि ।
विल्सन सम्झन्छन्, “एउटाको डाइलग बोल्ने, डे«स चेन्ज गरेर फेरि अर्को सेटमा प्रहरीको युनिफर्म लगाएर अर्को डायलग बोल्नुहुन्थ्यो । त्यहाँ सकेर अर्कोमा । छेवैमा म फलानो तारिखमा दुबई आउँदैछु, त्यही भेटौंला भनेर भिडियो अन्तर्वार्ता पनि दिइहाल्ने । छेवैमा घण्टौं कुरेर बसेका सञ्चारकर्मीलाई अन्तर्वार्ता दिने । उहाँको यस्तो व्यस्त जिन्दगी देखेर म पनि त्यही जिन्दगीको परिकल्पना गरेर रोमाञ्चित हुन्थें । वाह ! जिन्दगी भनेको त यो पो हो भन्ने लाग्थ्यो । मलाई पनि त्यस्तै व्यस्त जीवन जिउने रहर पलाउँथ्यो । जुन सपनाका लागि मैले धेरै बसन्तहरु बिताएको थिएँ ।”

‘सम्झना’ सिनेमा उनले राम्रो रोल पाए । एक्सन नायक निलिख उप्रेतीसँगै उनी पनि मुख्य अभिनयमै थिए । त्यो सिनेमा गर्दा उनलाई लाग्यो– म अब नायक भएँ । तर नतिजा उल्टो आयो । उनले अपेक्षित चर्चा पाएनन् । सपनामा तुषारापात भयो ।

घरपरिवार तथा आफन्तले सिनेमाको पछि लागेर विल्सन बिग्रियो, यसले केही गरेन भनिरहन्थे । उनी सुनिरहन्थे । विदेश जान दबाब आइरहेको थियो । बुबाले केही नभने पनि काका र दिदीहरुले उनलाई छाडेनन् ।

अन्ततः उनी सपना त्यागेर मलेसिया गए । वेटरको काम गर्ने भनेर गएका विल्सनलाई त्यहाँ लेबरको काम थमाइयो । बरफमा राखेको सिंगो सुँगुर बोकेर उनी पाँचौं तलासम्म पुग्थे । दोस्रो तलामा पुग्दा उनी सुँगरमा टाँसिएको बरफ पग्लेर झरेको पानी हो कि पसिना– पत्तै पाउँदैनथे । चौथो तलामा पुग्दा बरफ आँसु बनेर झथ्र्यो ।

दुःख सहन नसकेर उनी हरेक रात आँसुको पोखरीमा पौडिन्थे । नेपाल सम्झन्थे । स्टार कलाकार बन्ने आफ्नो सपना सम्झन्थे र रुन्थे । साथीहरु ‘तिमीजस्तो कलाकार नेपाल बसेर कलाकारितामा संघर्ष गर्नुपर्छ’ भनेर उकास्थे । उनको हरेक दिन मनले भन्ने पनि त्यही थियो । उनलाई मलेसिया जाँदा ऋण दिने दिदीलाई फोन गरेर आफ्नो इतिबृतान्त कहे । दिदीले फर्केर आइज भनिन् । उनले फर्किने निधो गरे ।
कम्पनीमा गएर आफूलाई नेपाल फर्काइदिन आग्रह गरे । तर, कम्पनीले सुन्दै सुनेन । उनले दिनहुँ जिद्दी गर्न थाले । तीन महिना नपुगी हुँदैन भने । पछि उनले थाहा पाए– तीन महिनाभन्दा पहिले फर्किए कामदार पठाउने म्यानपावरले पैसा फिर्ता गर्नुपर्ने रहेछ । उनलाई अनकन्टार जंगलभित्रको थोत्रो घरमा लगेर एउटा कोठामा थुनिदिए । त्यहाँ बिरालै बिरालामात्रै थिए । एक पाउन्ड पाउरोटी र एक बोत्तल पानी दिएर उनलाई त्यहाँ सात दिन राखे ।

प्रत्येक दिन उनलाई सोधिन्थ्यो, “अब नेपाल फर्किन्छस् कि यहीँ काम गर्छस् ?”

तर उनी गलेनन् । नेपाल फर्किन्छु भने ।

पीडादायी कुरा सुनाउँदा पनि उनले बीचबीचमा हसाइरहे, “शायद त्यसले मलाई वीर गोर्खाली भनेर थाहा पाएछ क्यारे ! एउटा सर्त राखेर कबुल गरायो । ल्याप्चे हान्न लगायो । राजीखुसीले नेपाल फर्किएको भन्ने कागजमा ल्याप्चे ठोकियो ।”

अन्ततः तीन महिना नभई उनी नेपाल फर्किए । विल्सनलाई प्रहरीले समात्यो भनेर नेपालमा हावा फैलियो । नेपाल आएर उनले पुरानै कर्म थाले । चलचित्रमा उनलाई जम्नु थियो । त्यहीँ संघर्ष गर्न थाले ।

‘बोके दारी’मा उनले काम पाए । त्यसबाट उनलाई धेरैले चिने । बाटो हिँड्नेहरूले फर्केर हेर्न थाले । उनलाई खुसी लाग्थ्यो । तर, त्यसमा उनलाई धेरै चित्त बुझेको थिएन । तर, ‘नाम होस्, बद्नाम होस् तर गुमनाम नहोस्’ भन्ने लाग्थ्यो । काम गरिरहे ।

फाट्टफुट्ट टेलिभिजनमा देखिन थालेपछि उनले स्टेज कार्यक्रमको उद्घोषण गर्न थालेका थिए । कोरसमा डान्स गर्थे । जे काम आउँछ, त्यही गर्थे । विल्सनलाई जसरी हुन्छ– काठमाडौंमा बाँच्नु थियो । उनले लाइट मेनको काम गरे । प्रोडक्सन म्यानेजर भएर काम गरे । हिरो–हिरोइनलाई छाता पनि ओडाए । त्यो बेला दिलीप रायमाझीको क्रेज शिखरमा थियो ।

एकपटक दिलीपलाई छाता ओढाउन खोजे । दिलीप मानेनन् । भने, “तपाईं मलाई छाता नओढाउनुस् । तपाईं भोलि नेपाली चलचित्रको सुपरस्टार हो । म तपाईंलाई भोलि मबाट टाढा भएको हेर्न चाहन्नँ । म तपाईंको साथी बन्छु ।”

विल्सनका आँखा भरिए । दिलीपको त्यो वचनले उनमा कति ऊर्जा थपियो, उनी स्वयंले अनुमान लगाउन सकेनन् ।

निखिलसँगै काम गरे पनि उनले राम्रो रोल पाइरहेका थिएनन् । त्यो बेला मंगोलियन अनुहारलाई हिरो बनाउने प्रचलन सुरु भइसकेको थिएन । “दयाहाङ दाइ आइसक्नु भएको थिएन । त्यो बेला दयाहाङ दाइको इन्ट्री भइसकेको हुन्थ्यो भने म रातारात हिट भइसकेको हुन्थें, मेरो माग चारैतिरबाट हुन्थ्यो,” उनले भने ।

विदेशबाट फर्किएपछि उनी चलचित्रको पर्खाइमा थिए । एकदिन सुरज सुब्बा नाल्बोले उनलाई ‘शायद’ नामक चलचित्र गर्नुपर्छ भने । उनले स्क्रिप्ट हेरे । राम्रो लाग्यो । चलचित्रको छायाँकन सकियो । चलचित्र राम्रो चल्छ भन्ने लागेको थियो । तर, त्यसले रिलिज डेटका लागि लामो समय कुर्नुपर्यो ।

पेट पाल्नका लागि उनले जुनसुकै काम पनि गर्न थालेका थिए । आफूमात्रै पालिएर पनि हुन्थेन, घरमा पनि पैसा पठाउनु पथ्र्यो । ५ हजार रुपैयाँ हात पर्दा उनले ५ सय राखेर ४५ सय पनि घर पठाए ।

यस्तै अवस्थाबाट गुज्रिरहेका बेला उनी कार्यक्रम उद्घोषण गर्न झापाको केर्खा पुगे । त्यो कार्यक्रममा ‘मेरी बास्सै’का निर्देशकसमेत रहेका हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा) पनि गएका रहेछन् । विल्सनले कार्यक्रमको उद्घोषण गरे । कार्यक्रम सकियो । उनले केदार घिमिरेसँग भने, “म पनि अभिनय गर्न सक्छु, मसँग एक्स आर्मी, मधेसी, तेस्रो लिंगी, तराईबासीका गरी चार वटा क्यारेक्टर छन् ।”
केदारले फोन नम्बर मागे । आवश्यक परे बोलाउँछु भने । नम्बर मागेको देखेर विल्सन छक्क परे ।

एक–दुई दिनपछि केदार घिमिरेले फोन गरेर सोधे, “कहाँ हुनुहुन्छ ?”

उनी झापामा थिए । तर भने, “काठमाडौंमा छु ।”

घिमिरेले भने, “त्यसो भए आज साँझ मेरो घर आउनुुस्, भेटेर कुरा गरौंला ।”

उनी त्यही दिउँसो प्लेनबाट काठमाडौं आएर केदारको घर पुगे ।

केदारले उनीसँग लामै कुरा गरे । उनी बसेको सोफा देखाउँदै भने, “त्यही सोफामा राखेर मैले सुलेमान शंकर ‘इकु’लाई ब्रेक दिँदा यसैगरी कुराकानी गरेको थिएँ । आज तपाईं यही सोफामा हुनुहुन्छ । तपाईले भनेका मध्ये एक्स आर्मीको क्यारेक्टर गर्नुस् । तर, म तपाईंलाई जम्मा ६ वटा भागमा मात्रै चान्स दिन्छु । तपाईलाई दशर्कले मन पराए भने ठीक छ, होइन भने टेलिसिरियलमा जबर्जस्ती कोच्याउने कुरा हुन्न ।”
केदारको सर्त उनलाई मञ्जुर भयो । सुटिङका लागि गाउँ गए । त्यो गाउँ संयोगले भूतपूर्व सैनिकहरु बसेकै गाउँ परेछ । विल्सनले कपाल सेतो पारेर ढाका टोपी लगाएका थिए । तर, त्यो सुटिङ हेरिरहेका एकजना भूपू सैनिकले ‘आर्मीले ढाका टोपी लगाउँदैन’ भनेर सेनाको टोपी दिए । त्यही टोपी लगाएर उनले दुई भाग सुटिङ गरे । तर, प्रसारणै भएन । केदारले ‘तपाईंको क्यारेक्टर प्रसारण नहुन पनि सक्छ, त्यसैले कसैलाई पनि नभन्नू’ भनेका थिए ।

उनले कसैलाई भनेनन् । भीआईपीहरुले चढ्ने जस्तो लामो गाडी सुटिङका लागि कलाकार लिन आउँथ्यो । त्यो गाडी स्वयं केदारले नै चलाएका हुन्थे । उनी पछाडि डिक्की जस्तो सिटमा गएर बस्थे ।

विल्सनले सुटिङ गरेको तेस्रो भाग हुँदा बल्ल पहिलो भाग प्रसारण भयो । पहिलो भागले नै उनलाई ‘क्लिक’ गरायो । दोस्रो भागले ‘हिट’ बनायो । तेस्रो भागसम्म आइपुग्दा उनी ‘सुपरडुपर हिट’ भए । जताततै उनको थेगो सुनिन थाल्यो । ६ भाग भनेर प्रवेश गरेका उनले ६० भाग कटेको पत्तै पाएनन् ।

पहिलो, दोस्रो र तेस्रो भाग सुगिङ गर्न जाँदा पछाडि डिकीमा बसेका विल्सन चौथो भागका लागि सुटिङ गर्न जाँदा गाडीका सबै कलाकार ओर्लिएर नमस्कार गरे र अघिल्लो सिटमा बसाए ।

‘मेरी बास्सै’बाट चर्चामा आएपछि उनलाई सबैले एक्कासि हिट कलाकार भने । तर उनी भन्छन्, “म एक्कासि होइन, वर्षौं यात्रा गरेर यहाँ आइपुगेको हुँ ।”

उनी मन्दिर जान्थे । त्यहाँ भगवान्सँग अनौठो बरदान माग्थे, “हे भगवान् ! यो वर्ष मेरो जुत्ता नफाटोस् ।”

दिनभर, रातभर हिँड्ने उनको जुत्ता महिना दिन पनि नटिक्ने भएपछि उनले यस्तो बरदान माग्थे ।

० ० ०

‘शायद’ चलचित्रबाट जिन्दगीमा ‘टर्निङ पोइन्ट’ आउला भनेर बसेका विल्सनलाई त्यसभन्दा अघि नै ‘मेरी बास्सै’ले हिट बनायो । ‘मेरी बास्सै’को तक्मे पनि ‘शायद’मा छ अरे भनेर हलसम्म जानेको संख्या ठूलै भयो । ‘शायद’मा उनले कोरियन फर्सीको भूमिका खेलेका छन् । त्यही चलचित्रबाट तक्मे त भर्खरको केटो पो रहेछ भनेर धेरैले थाहा पाए ।

‘शायद’बाट उनले नेपाली रजतपटका अधिकांश ठूला (५ वटा) अवार्ड जिते । ‘शायद’ले अवार्डको तिर्खा पनि मेटाइदियो । अवार्डको भोकमात्र मेटाएन, यसले उनको अभिनय क्षमताको मूल्यांकन पनि गराइदियो ।

तक्मे पात्र हिट भएपछि उनलाई अफरको ओइरो लाग्यो । कुन गर्नु, कुन नगर्नु भयो । सन् २०१२, ०१३ र ०१४ मा उनले राजेश हमालको जस्तै जीवन बिताए । राजेशले जस्तै एउटै स्टुडियोमा तीन वटा सेट लगाएर सुटिङ गर्ने अवस्था आयो । दिनहुँ तीन–चार वटा सिनेमाका सुटिङ गर्न थाले । सुत्न, बस्न र खानाको ठेगान भएन । एउटा लोकेसनबाट अर्को लोकेसनमा पुग्दा गाडीमा जति सुत्न पाइन्थ्यो, त्यतिमात्रै सुत्नुपर्ने दिन पनि आयो ।

जुन देशमा उनी लेबर काम गर्न गए, त्यही देशमा कलाकारको रूपमा जाँदा उनलाई सबैभन्दा ठूलो उपलब्धि लाग्छ । जुन होटलमा उनले सिंगो सुंगुर बोकेर सिँढी चड्थे, त्यही होटमा गएर छाती ढक्क फुल्छ ।

उनले कैयौं देश घुमे । जहाँ नेपाली छन्, ती अधिकांश देश पुगे । एउटै देशमा पटक–पटक गए ।

‘शायद’सँगै सुरुका सिनेमा चले पनि पछिल्ला चलचित्रले अपेक्षित व्यापार गर्न नसकेपछि उनले चलचित्रमा अभिनय गर्न छाडे । पछिल्लो पटक सुरज सुब्बासँग मिलेर ‘रातो घर’ बनाएका छन् । यो चलचित्र अहिले विदेशमा प्रदर्शन गरिरहेका छन् । अमेरिकामा सबैभन्दा धेरै पटक स्क्रिनिङ भएको चलचित्र ‘रातो घर’ नै भएको दाबी उनी गर्छन् ।

उनको अनुहार देखाएर चलचित्र निर्माण गर्न खोज्ने निर्माता÷निर्देशकदेखि उनी वाक्क भएका छन् । कमेडियनलाई मुख बंग्याएर र नाक खुम्याएर चलचित्रमा प्रस्तुत गर्नुपर्छ भनेर सधैं छायामा पार्न खोज्ने प्रवृत्ति उनलाई मन परेन । त्यसैले उनी अहिले तत्काल चलचित्रमा काम नगर्ने सोचमा छैनन् । त्यसैले ‘खासखुस’ नामक टेलिचचित्र निर्माण ताथ प्रदर्शन गरिरहेका छन् ।

० ० ०

विल्सन अभिनय मात्रै गर्दैनन् । संगीतका सुरु र तालहरुसँग पनि खेल्छन् । सुमधुर गीत पनि गाउँछन् । गीत गाउने रहरमात्रै होइन, उनको स्वर पनि राम्रो छ । उनी गीतमा स्वरमात्रै भर्दैनन्, शब्दहरु पनि कोर्छन् ।

उनको अभिनयसँगै गीतबाट प्रभावित हुने पनि धेरै छन् । उनको गीत ‘आई लभ यु सेन्तेरेम’ भन्ने गीत निकै मन पराइयो । यो गीतबाट प्रभावित भएर झापाको विनर डिस्टिलरीले आफ्नो उत्पादन चाँडै ‘सेन्तेरेम’को नामबाट बजारमा ल्याउँदैछ । उक्त कम्पनीले ‘सेन्तेरम’लाई ब्रान्डका रूपमा अघि बढाउँदैछ । ‘सेन्तेरेम’ जुस, पानी र अल्कोअल चाँडै बजारमा आउँदैछन् । उनी यसलाई आफ्नो जिन्दगीको अर्को महत्वपूर्ण उपलब्धि ठान्छन् ।

उनले ‘आई लब यु सेन्तेरेम’मा रक्सीको नशामा फसिसकेपछि मान्छे कसरी रक्सीभित्रै डुब्छ र आफ्नो जीवन बर्बाद गर्छ भन्ने देखाउँदै अन्त्यमा रक्सी छोड्ने बाचा गर्दै फेरि एक पेग घुट्क्याएर टुंग्याएका छन् ।
- बाह्रखरी डट कम