‘प्रचण्ड’ले यसरी मिलाए वरीयताको विवाद, पुछारमा जयपुरी

काठमाडौं, २९ जेठ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्री) भित्रको वरीयताको बिबाद अन्त्यतिर गएको छ ।

नारायणकाजी श्रेष्ठ र रामबहादुर थापामध्ये कसलाई दोस्रो वरीयतामा राख्ने विषयमा माओवादी केन्द्रभित्र बिबाद थियो । त्यो बिबादले अब खासै महत्व नराख्ने जनाइएको छ । प्रदेश भेलामा शीर्ष नेताहरूलाई गराइने आशन ग्रहणबाट वरीयताको बिबाद अन्त्य भएको देखिएको हो ।

आशन ग्रहण गर्दा होस वा पार्टी बैठकमा नारायणकाजी श्रेष्ठ सधै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दाहिनेतर्फ गइ बस्ने गरेका छन् । रामबहादुर थापा भने देब्रेतर्फ बस्ने गरेको एक नेताले बताए । अरु नेताहरू सोही अनुसार बस्ने गरेका छन् ।

वरीयताको बिबाद अध्यक्ष दाहालले कुटनीतिक रुपमा अन्त्य गरेको एक नेताले बताए । ‘प्रदेश भेलाहरू चलेका छन्’, ती नेताले भने, ‘भेलामा अध्यक्ष प्रचण्डपछि नारायणकाजी र त्यसपछि रामबहादुर थापा हुँदै अरु नेताहरूलाई आशन ग्रहण गराइन्छ । उहाँहरूले यो वरीयतालाई स्वीकार गर्नुभएको छ ।’

माओवादी केन्द्रको हेडक्वार्टरमा रहेका ९ जना नेताको वरीयताका विषयमा बिबाद रहेको भनिए पनि त्यसले खासै असर नगर्ने ती नेताको भनाइ छ ।

अध्यक्ष प्रचण्डपछि नारायणकाजी श्रेष्ठ, तेस्रो स्थानमा रामबहादुर थापा, र चौथो स्थानमा महासचिव कृष्णबहादुर महरा रहेको बताइएको छ ।

देब गुरुङ पाँचौं वरीयतामा परेका छन् भने मातृका यादव छैठौं, मणि थापा सातौँ, तिलक परियार आठौँ, र जयपुरी घर्ती नवौँ वरीयतामा रहेको स्रोतको दाबी छ ।
- दैनिक नेपाल