भारतमा मजदुरी गर्दागर्दै एक नेपाली युवकको मृत्यु

जाजरकोट, जेठ २१ । मजदुरीका लागि भारत पुगेका जाजरकोटको खगेनकोट–६ का २७ वर्षीय हरिबहादुर नेपालीको काम गर्दागर्दै मृत्यु भएको छ ।  सडकको काम गर्दैगर्दा एक्कासि कामको चापले पेट दुखेपछि बिरामी भएका थिए । 

बिरामीलाई उपचारका लागि कुरदारस्थित अस्पतालमा भर्ना गरी उपचार गर्दागर्दै रगत उल्टी गरी बिहीबार दिउँसो करिब ४ बजे मृत्यु भएको हरिबहादुरको साथमा रहेका जनक नेपालीले बताए ।  

हरिबहादुर चैत २३ गते भारत गएका थिए। उनका दुई छोरी, एक श्रीमती र आमा रहेका छन् । कमाई गरी घर फर्कने तयारी गरेको एक हप्ताभित्र हरिको मृत्युले सिङ्गो गाउँ शोकमा डुबेको छ। कमाई गरेर सबै परिवारलाई पाल्ने उनकै जिम्मा थियो । रासस