कार्यक्रम आयोजकले गल्ती गर्दा राष्ट्रपति बाटैमा उभिनुपर्‍याे

ललितपुर असार ३ – राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार बिहान ललितपुर सातदोबाटोमा भएको एक कार्यक्रममा सहभागी हुन पुग्दा केहीबेर बाटैमा उभिनुपर्यो । 

सातदोबाटोको पौडी पोखरीमा अपांगता भएका व्यक्तिको लागि पौडी प्रतियोगिता आयोजना गरिएको थियो । आयोजकले राष्ट्रपतिलाई उद्घाटनको लागि आमन्त्रण गरेका थिए । अपांगता भएकाहरुलाई हौसला बढाउन राष्ट्रपति बेलैमा कार्यक्रमस्थल पुग्नुभयो । 

उहाँ गाडीबाट ओर्लने बित्तिकै आयोजकले राष्ट्रियगानको धुन बजाइदिए । त्यतिबेला राष्ट्रपति मञ्चतर्फ अघि बढ्दै हुनुहुन्थ्यो । राष्ट्रपति लगायत अतिथिलाई मञ्चमा आसन ग्रहण गराएपछि मात्र राष्ट्रियगान बजाउनुपर्नेमा आयोजकले राष्ट्रपति गाडीबाट ओर्लने बित्तिकै राष्ट्रिय धुन बजाइदिएका हुन् । 

राष्ट्रिय गान बजेपछि हिँड्न मिलेन । त्यसैले मञ्चतर्फ अघि बढ्दै गर्नुभएकी राष्ट्रपति भण्डारी बाटौमै उभिनुभयो । अरु अतिथि र सहभागीले पनि त्यसै गरे । 

‘आयोजकले गम्भीर गल्ती गरे’ कार्यक्रममा सहभागी एक सुरक्षा अधिकारीले भने, ‘राष्ट्रपति मञ्चमा पुगेपछि मात्र राष्ट्रियगान बजाउनुपर्नेमा उहाँ लगायत अरु विशिष्ट व्यक्तिलाई अप्ठेरो पर्नेगरी आयोजकले सुरुमै बजाइदिए ।’
- उज्यालो अनलाइन