म्याग्दी र बागलुङको एनसेल टावरमा आगजनी

जेठ ३०, बागलुङ । म्याग्दी र बागलुङ सहित ७ जिल्लामा रहेको एनसेल टावरमा आगजनी भएको छ ।

धौलागिरीका बागलुङको बिहु माथि रहेको टावर र म्याग्दीको बेनी नगरपालीका ४ बञ्चरेडीलमा रहेको टावरमा आगजनी भएको निजी क्षेत्रको मोवाईल सेवा प्रदायक कम्पनी एनसेलले जनाएको छ । शनिबार साँझ भएको आगोलागीबाट म्याग्दीमा टावरमा विद्युत आपूर्तीका लागि जडान गरिएको जेनेरेटरमा पूर्ण रुपमा क्षती पुगेको छ । 

बागलुङको बिहुँ माथिको टावरका तीन वटा बक्समा क्षति पुगेको पाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक चक्रवहादुर सिहंले कैफियतलाई बताए । तर, त्यहाँ बक्स आफै जलेको या जलाइएको बारे खुलेको छैन, उनले भने, यस बारेमा अनुसन्धान जारी छ । उक्त टावर पछिल्ला केही महिना यता सञ्चालनमा नरहेको अवस्थामा रहेको पाइएको उनले बताए ।

म्याग्दी र बागलुङ सँगै दाङ, सल्यान, गोरखा, लमजुङ, धनकुटा, कास्की, झापा जिल्लामा रहेको कम्पनीको दश वटा टावरमा एकैसाथ आक्रमण भएको भन्दै एनसेलले आईतबार विज्ञप्ती निकालेर दुःख व्यक्त गरेको छ । लमजुङ लगायतका केही ठाउँमा आगजनीको घटनाको नेत्रबिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेकपा माओवादीले जिम्मा लिए पनि बागलुङ र म्याग्दीमा भने कसैले जिम्मा लिएका छैनन् । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

‘क्षति पु¥याइएको संरचनाले जिल्लाका ग्रामीण क्षेत्रमा जनतालाई आरभूत र आकस्मिक सञ्चार सेवा प्रदान गरिरहेका थिए’, एनसेलले भनेको छ, ‘१० वटा टावरमा पुगेको क्षतिले ग्रामीण क्षेत्रका करिब २ लाख ५० हजार ग्राहकलाई प्रत्यक्ष रुपमा सम्पर्क बिहीन बनाएको छ ।’ ‘संचार जस्तो अत्यावश्यक सेवा प्रदान गर्ने महत्वपूर्ण मोबाईल सेवा पूर्वाधारमा भौतिक आक्रमण गर्नु गैरकानूनी तथा गम्भीर अपराध हो,’ एनसेलका सुरक्षा निर्देशक महेन्द्र भट्टचनले भने ।

टावरमा भएको आगजनीबाट कति क्षति भयो पूर्ण विवरण आइनसकेको कम्पनीले जनाएको छ । कम्पनीले विज्ञप्ती निकाल्दै क्षति पुगेका टावर यथासक्य छिटो पुनस्र्थापना गरी सेवा सूचारु गरिने बताएको छ ।
- कैफियत डट कम