रहेनन् नेपाली राष्ट्रिय गानका संगीतकार अम्बर गुरुङ

जेष्ठ २५, काठमाण्डौ । नेपाली राष्ट्रिय गानका संगीतकार तथा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति अम्बर गुरुङको आज बिहान निधन भएको छ । ७९ वर्षीय गुरुङको ग्रान्डि अन्तर्राष्ट्रिय अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा उपचार हुँदाहुँदै आज बिहान २ बजेर ३७ मिनेटमा निधन भएको हो ।

खानेकुरा खानेबित्तिकै वान्ता भइहाल्ने समस्या भएपछि गुरुङलाई गत सोमबार ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल ल्याइएको थियो ।

गुरुङको उपचारमा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका क्रिटिकल केयर मेडिसिनका चेयरम्यान तथा इन्टरनल मेडिसिनका कन्सल्ट्यान्ट फिजिसियन, पल्मोनोलोजी तथा क्रिटिकल केयर विशेषज्ञ प्रा.डा. अर्जुन कार्कीको टिम सँगै कन्सल्ट्यान्ट ग्याष्ट्रो इन्टेरोलोजिष्ट डा. बिबेक शर्मा, कन्सल्ट्यान्ट न्युरोलोजिष्ट डा. राजु पौडेल लगायतका डाक्टरहरु संलग्न थिए ।

लामो समयदेखी मधुमेह उच्च रक्तचाप तथा पार्किन्सन्सको उपचार गराइरहेका गुरुङलाई गतसाता एस्पिरेसन न्युमोनिया, पेट तथा अन्न नलिको रक्तश्राव (युजिआई ब्लिडिङ) को उपचारकालागि भर्ना गरिएको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेको भनाइ उद्धृत गर्दै ग्रान्डि अन्तर्राष्ट्रिय अस्पतालको फेसबुक पेजमा पोष्ट गरिएको छ ।

सन् १९३८ मा भारतको दार्जिलिङमा जन्मिएका गुरुङले नेपाली संगीत क्षेत्रको उत्थानकोलागि महत्वपूर्ण योगदान दिएका छन् ।

राष्ट्रिय गानका संगितकार गुरुङले सयौंको संख्यामा लोकप्रिय र कालजयी नेपाली गीतहरुमा स्वर तथा संगीत भरेका छन् ।

उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको लोकप्रिय गीतिनाटक कुन्जिनी र मुनामदन, राष्ट्रकवि माधव घिमिरेको लोकप्रिय गीतिनाटक मालति मङ्गले लगायतका कृतिहरुमा पनि संगीत दिएका छन् ।

गुरुङका पत्नी, तीन छोरा र एक छोरी छन् ।
- कान्तिपुर