छोरो बनाएर नागरिकता दिलाएकै युवाले छोरी भगाए

अर्घाखाँची, जेठ १२ – आफ्नो कान्छो छोरा भनेर सुरज भट्टराईको नाममा भारतीय नागरिकलाई नेपाली नागरिकता प्रदान गर्ने अर्खाखाँचीकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।  

भारतीय युवालाई कान्छो छोरा भन्दै किर्ते नागरिकता प्रदान गरेको आरोपमा हंसपुर गाविस–८ की ६० वर्षकी हिमकला भट्टराईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका  प्रहरी निरीक्षक सुजनराज भण्डारीले बताउए ।

छोरो बनाएकैले छोरी भगाए

कान्छो छोरा बनाएर नागरिकता दिलाएका ती भारतीय युवाले हिमकलालाई अर्को पीडा पनि दिएका छन् । भारतीय युवाले हिमकलाकी छोरी लिएर भागेका छन् ।

छोरी लिएर भागेपछि मात्रै उ भारतीय नागरिक हो भन्ने थाहा भएको हिमकलाले बताउनुभयो । केही समयअघि छोरो भन्दै नागरिकता बनाएकै व्यक्तिले छोरी भगाए पछि हिमकलालाई पर्नु पिर परेको छ ।

त्यसमाथि अहिले किर्ते गरी नागरिकता दिएको आरोपमा प्रहरीले उनलाई पक्राउ पनि गरेको छ । किर्ते कागजात बनाएर भारतीय युवालाई नागरिकता दिलाएको भन्दै उजुरी परेपछि प्रहरीले हिमकलालाई पक्राउ गरेको हो ।

गाविस सचिव कमल पोख्रेलले हिमकलाविरुद्ध उजुरी दिएका थिए । गाविस सचिवको उजुरीको आधारमा हिमकलालाई पक्राउ गरेको प्रहरीको भनाई छ ।  किर्ते गरी नागरिकता लिएर भागेका व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ ।
उज्यालो