बोलीको ठेगान नभएका प्रचण्ड र बाबुराम

रवीन्द्र श्रेष्ठ । प्रचण्डले बाबुरामलाई साक्षी राखेर (दुबै संगै बसेर) २०६२ माघ २५ गते कान्तिपुर दैनिकमा लामो अन्तरवार्ता दिएका थिए । त्यसमा उनले स्पष्ट शब्दमा भनेका थिए — ‘संविधानसभावाट राजतन्त्र चाहिन्छ भन्यो भने हामी स्वीकार्छौ, सक्रिय राजा चाहिन्छ भन्यो भने पनि मान्छौ, गणतन्त्र भन्यो भने त्यो पनि मान्नु पर्छ, संवैधानिक राजतन्त्र, वहुदलीय प्रजातन्त्र त्यो भन्छ भने पनि हामी तयार छौं, जनताको मत मान्छौ ।’

यस विवादास्पद अन्तरवार्ताबारे पार्टीभित्र गम्भीर विवाद भयो । संविधानसभामा जाने हो भने देशका मुख्य दलहरुबीच न्यूनतम राजनैतिक सहमति हुनुपर्ने र लोकतान्त्रिक गणतन्त्रको न्युनतम सहमति विना संविधानसभाले राजतन्त्र नै राख्ने भने पनि मानेर जाने गरी सहमति गर्न नहुने कुरा उठे । किनभने त्यो वेला कांग्रेसले गणतन्त्र स्वीकार गरिसकेको थिएन । गणतन्त्रमा जान्छ वा जांदैन भन्ने निश्चित थिएन । तर प्रचण्ड बाबुरामले त्यो अन्तरवार्ताको गम्भीर कमजोरी सच्याउन मानेनन् ।

संविधानसभाले गणतन्त्रको घोषणा गरेर ऐतिहासिक काम गरिसकेको छ । देश ०४७ को संविधानभन्दा एक कदम अगाडि बढिसकेको छ । तर प्रचण्डको भाँडभैलो वुद्धि र ठेगान नभएको बोली यथास्थितिमै छ । व्यक्तिगत स्वार्थका लागि देशलाई बन्धक बनाउने प्रक्रिया जारी छ । त्यो वेला संविधानसभाले सक्रिय राजतन्त्र वा संवैधानिक राजतन्त्र राख्ने भने पनि मान्ने भनेर बोलेका प्रचण्ड बावुराम अहिले आएर संविधानसभामा भएको जनताको मत नमान्ने भन्दै हिंडेका छन् । 

जबसम्म प्रचण्ड बाबुरामको बोली र वुद्धिको ठेगान लाग्दैन, तबसम्म देशले न त शान्ति पाउँछ न त क्रान्ति नै । यी दुई जना मिलेर देश र जनतालाई न मर्नु न बाँच्नु बनाइराख्न खोज्दैछन् । शायद अहिले त्यो अन्तरवार्ता दिएकै होइन, पत्रकारहरुले त्यतिकै छापेका भन्ने हुन् कि ? वा दिल्लीको देशी बोतलले जिब्रो लड्खडाएको भन्ने हुन् कि ? अहिले बोलेका उनीहरुका कुरामा पनि कसरी विश्वास गर्ने ? एक जना वाईसीएलका भाइले भन्थे, बन्दुक बुझाएका प्रचण्ड बावुरामले यो लाठी पनि खोसेर हामीलाई वीचमा छाड्ने हुन् कि ? यस्तै अविश्वास एमाले कांग्रेस मधेसवादी र जनजातीवादी सबैलाई हुने नै होला ।

सोही अन्तरवार्तामा प्रचण्डले अर्को गम्भीर कुरा पनि गरेका थिए । प्रचण्डले भनेका थिए — ‘म (प्रचण्ड), बावुरामजी, बादलजी, महराजी, यो टिम सत्ताको शक्ति अभ्यासमा लाग्दैनौं । संविधानसभावाट सत्ता आए पनि हामी त्यसमा जांदैनौ । हामी स्टेट्सम्यानसीपमा जान्छौं र नयां कमरेडहरुलाई पठाउँछौं ।’ के बन्ने भन्ने प्रश्नको जवाफमा प्रचण्डले गणेशमान जस्तै बन्ने भन्ने उत्तर दिए भने बाबुरामले गान्धी बन्ने भन्ने जवाफ दिए । बोलीको ठेगान नभएका यी दुबैले ०६२ देखि अहिलेसम्म के गरे सबैका सामु छ । अहिले सत्ताको कुर्सीका लागि नै यी दुबैले देशलाई समेत अर्को जातीय युद्धमा धकेल्न खोज्दैछन्, दशांै हजार जनताको बलि दिन खोज्दैछन् ।
- दृष्टि न्युज