१० माओवादी घटकहरुबीच एकता, नयाँ पार्टीको नाम नेकपा माओवादी केन्द्र

विभिन्न समयमा विभाजित भएका माओवादीका घटकहरुबीच बिहीबार एकता भएको छ ।

एकतासँगै साझा पार्टीका रुपमा 'नेकपा माओवादी केन्द्र' भन्ने नयाँ पार्टीको घोषणा गरिएको छ।

संघर्षका सबै रुपको प्रयोग गर्ने भन्दै सडक, सदन र सरकार सबैलाई उपयोग गर्ने नीति पारित गरेको उक्त पार्टीको एक वर्ष भित्रै महाधिवेशन गरिने बताइएको छ।

माओवादीमा एकछत्र रुपमा नेतृत्व गर्दै आएका प्रचण्ड नयाँ नामाकरण गरिएको पार्टीको पनि अध्यक्ष बनेका छन्।

विगतमा सशस्त्र विद्रोह नै गरेका माओवादीहरु विभिन्न चरणमा विभाजित भएका थिए।

विभाजित सबै माओवादीहरुलाई पुन: एक ढिक्का गर्ने प्रयासमा लागेका अध्यक्ष प्रचण्ड केही हदसम्म सफल भएको ठानिएको छ।

मोहन वैद्य, बाबुराम भटराई, नेत्र विक्रम चन्द लगायतलाई पुन: पार्टीमा ल्याउन नसके पनि उनले रामबहादुर थापाको नेतृत्वमा पुनर्गठित नेकपा क्रान्तिकारी माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट, मातृका यादवको नेकपा (माओवादी) / विप्लव माओवादी त्यागेका तिलक परियारको समूहलाई भने एकता प्रक्रियामा समावेश गरेका छन्।

बिहीबार सम्पन्न एकता अधिवेशनपछि आयोजित घोषणा सभामा बोल्दै प्रचण्डले भने, "माओवादीलाई विभाजित गर्दै लगे पछि परिवर्तनका एजेण्डा ध्वस्त पार्न सकिन्छ र कुनै न कुनै कुनाबाट राजतन्त्र फर्काउन सकिन्छ भन्ने सपना देखेकाहरुको पराजयको शुरुवात भएको छ। उनीहरुको सपना कदापि पुरा हुने छैन।"

सशस्त्र विद्रोहबाट भएका उपलब्धिलाई प्रचण्डको नेतृत्वमा रक्षा गर्न नसकिएको भन्दै माओवादी पार्टीभित्र विभिन्न समयमा फुट आएको थियो।

विभाजित खेमाका नेताहरु मध्ये पार्टी अध्यक्षलाई नै पाखा लगाएर प्रचण्डसँग मिल्न आएका भनिएका नेता रामबहादुर थापाले एकतामा जानुको कारण बारे भने "राजनैतिक र वैचारिक रुपमा हाम्रा धारणाहरुमा एकरुपता कायम भयो त्यस कारणले हामी एकतामा जोडिएका हौं।"

एकताको घोषणासँगै सबैले आफू संलग्न रहेका पार्टी त्यागेका छन्।

नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र दिइएको छ।

तर उक्त पार्टीमा अध्यक्ष प्रचण्डबाहेक अरु कुनै पनि पदको छिनोफानो गरिएको छैन।

पार्टीको आगामी रणनीतिबारे अध्यक्ष प्रचण्डले भने "नेपाली जनताका पुरा हुन बाँकी मुद्दाहरुलाई संविधान संशोधन गराउन बल गर्ने, सडक बाट लिइने क्रान्तिको तयारीलाई प्राथमिकता दिने र सदन र सरकारलाई पनि अधिकतम उपयोग गर्ने नीति हामीले पारित गरेका छौं।"

विभाजित पार्टीबाट आएका सबै केन्द्रिय सदस्यहरु नयाँ पार्टीमा पनि उही हैसियतमा हुनेछन्।

एक वर्षभित्र महाधिवेशन गर्ने योजना रहेको र त्यसका लागि ६ सय ९९ जनाको आयोजक समिति समेत बनाइएको बताइएको छ।
बीबीसी नेपाली