फेसबुकमै एनआरएन अध्यक्षको राजिनामा माग, अध्यक्ष केसी भन्छन् आरोप कपोलकल्पित

योगेन्द्रमिलन छन्त्याल, पोर्तुगल । गैह्र आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद पोर्तुगलको आय व्यय विवरणबारे फेसबुकमा निक्कै टिकाटिप्पणी भएका छन् । पारदर्शीताबारे लेखिएका स्टाटसमा पक्ष विपक्षमा दोहोरी चलेको छ ।

एनआरएनको आलोचना गर्नेहरुले स्वच्छ बहसका लागि लेखिएका कमेन्टहरु संघका अध्यक्ष भीम केसीद्वारा डिलिट वा हाइड गरेको आरोप लगाउदै राजीनामा दिनुपर्ने कमेन्ट पोष्ट गरेका छन् । दर्जनौ व्यक्तिहरुले विभिन्न पोष्टमा उनीहरुलाई एनआरएनको फेसबुक वालमा ब्लक गरेको उल्लेख गरेका छन् ।  

संघका एक सदस्यले बैठकमा आयव्यय विवरणबारे कुनै छलफल नभएको बताएका छन् । केही दिनअघि एनआरएन पोर्तुगलको कोषमा पदाधिकारीको लुछाचुंडी भएको कुरो सार्वजनिक भएपछि यसबारेको विवाद छताछुल्ल भएको छ ।  

केसीले एनआरएनको टाइमलाइनमार्फत संस्थाभित्र कुनै मनमुटाव, लुछाचुडी नभएको तथा सम्पूर्ण आम्दानी खर्चका विवरण तथा प्रमाणहरु सुरक्षित रहेको उल्लेख गरेका छन् । उनले आरोप कपोलकल्पित भएको बताएका छन् र लेखेका छन् 'संस्थाले आफ्नो आय-व्यय बिधान अनुसार साधारण-सभा र अधिवेशनमा सदस्यहरुसमक्ष पेस गर्ने छ ।'

केसीको यो स्टाटसलाई गणेश पाण्डेले अर्थहीन काइते विज्ञप्तिको संज्ञा दिएका छन् । फेसबुक कमेन्टलाई डिलिट, हाइड र ब्लक गरेर केसी कायर बनेको उल्लेख गरेका छन् ।  उनले अध्यक्ष केसीको राजिनामा पनि मागेका छन् ।   

खेमराज रानाभाटले बैङ्क स्टेटमेण्टसहित सकेसम्म छिटो आयव्यय विवरण सार्वजनिक गर्न अनुरोध गरेका छन् । रानाभाट लेख्छन् : ' एनआरएन जस्तो सबै गैह्रआवासीय नेपालीको साझा संस्थाको आयव्यय माथि प्रश्न उठेपछि त्यसलाई सामाजिक रुपमा प्रष्ट राख्नै पर्छ । आयव्यय देखाउने केबल साधारण सभा र महाधिवेशनमा हो र अरु बेला जे गरे पनि हुन्छ भन्ने आशयको एनआरएन पोर्तुगलको अध्यक्षको प्रतिक्रिया सरासर गलत र गैरजिम्मेवार छ । यसरी सार्वजनिक संस्थाको पद लिएका व्यक्तिहरुलाई छुटकारा मिल्दैन ।'

रमेशराज बाँस्तोलाले केही समयअघि एनआरएन कोषाध्यक्ष, महासचिव र उपाध्यक्षद्वारा धम्कि दिएको र संघका युरोप संयोजक कुल आचार्यले माफी माग्दै उनीहरुलाई कारबाही गर्ने आश्वासन दिएको तर आचार्य पनि उही ड्याङको मूला भएको उल्लेख गरेका छन् । 
केही समय अगाडि बाँस्तोलाविरुद्ध वक्तव्यबाजी गर्ने एनआरएन प्रवक्ता हेमराज सुवेदीविरुद्ध सामाजिक संजालमा आवाज उठेपछि उनले नानाभाँतीका अप शब्द प्रयोग गरेको र नेपाली कामदारको पैसा ठगी गरेको प्रसंग पनि उठेका छन् ।

संस्थागत व्यवस्थापनमा अनुभव संगालेकाहरु भन्छन् : 'सार्वजनिक पदमा रहेका व्यक्ति अनुशासित हुनैपर्छ । संस्थागत गतिविधि पनि पारदर्शी हुनुपर्छ । यी सबै प्रश्नको चित्तबुझ्दो जवाफ आउनैपर्छ एनआरएनका पदाधिकारीहरुबाट ।'  

विवाद कहाँ पुगेर टुङ्गिन्छ केही समय प्रतीक्षा गर्नुपर्ने देखिन्छ ।