७४ प्रतिशत अंकमै एसएलसी बोर्ड फर्स्ट भएका पूर्वसचिव किशोर थापा

२२ चैत, काठमाडौं । हरेक वर्षको दुईवटा सिजनमा मिडियाले नेपाल सरकारका पूर्वसचिव किशोर थापाको खोजी गर्छन् । एकपटक एसएलसी परीक्षाका बेला र अर्कोपटक एसएलसीकै रिजल्टका बेला ।

किशोरलाई सोधिन्छन्, ‘तपाईंका पालाको एसएलसी कस्तो थियो, परीक्षाको तयारी कसरी गर्नुभएको थियो, बोर्ड फर्स्ट ल्याउने लक्ष्य थियो कि थिएन, बोर्ड फर्स्ट हुँदा कस्तो लाग्यो ? आदि, इत्यादि ?’

नेपाल सरकारको सचिव जस्तो उच्च पदमा पुगेर रिटायर्ड भएका व्यक्तिलाई उही एसएलसीको प्रश्न तेस्र्याइरहँदा कत्तिको झ्याउ लाग्दो हो ?

‘अहँ,’ किशोरले जवाफ दिए, ‘मानिसहरुले मलाई पूर्वसचिवभन्दा एसएलसीको पूर्व बोर्डफर्स्ट भनेर चिन्ने गरेकोमा मलाई गर्व लाग्छ । जवाफ दिन पनि रमाइलो लाग्छ ।’

हुन पनि नम्बर वान भनेको नम्बर वान नै हो नि ।

त्यो जमानाको एसएलसी

२०३१ सालका एसएलसी बोर्डफर्स्ट हुन् थापा । त्यो जमानामा स्कुल शिक्षाको माहोल अर्कै थियो । देशमा सरकारी लगानीका स्कुल मात्रै थिए, निजी खुलेकै थिएनन् । किशोर कीर्तिपुरको ल्याबरोटेरी स्कुलमा पढ्थे ।

कक्षा ५ मा पढ्दा उनले पत्रिकामा भक्तबहादुर आलेको अन्तरवार्ता पढे । भक्तबहादुर २०२५ सालका एसएलसी बोर्ड फर्स्ट थिए र त्यतिबेला त्रिविमा मेकानिकल इन्जिनियरिङ विषयको प्राध्यापन गर्थे ।

‘त्यही अन्तरवार्ता पढेपछि मेरो मनमा एसएलसीमा बोर्ड फर्स्ट हुने अभिलाषाले जन्म लियो,’ किशोर भन्छन् ।

पढाइमा जेहेन्दार थिए किशोर । तर कक्षा आठसम्म पुग्दा उनी कक्षामा प्रथमसमेत हुन सकेनन् । त्यसैले ‘बोर्ड फर्स्ट भएर पत्रिकामा अन्तरवार्ता दिने’ अभिलाषा उनको मनभित्रै मुर्झाउन थाल्यो । स्कुलमै प्रथम हुन नसक्नेले देशभरीको प्रथम हुने सपना देखेकोमा उनले आफैंलाई गिज्याउन थाले ।

तर, आठ कक्षामा पुगेपछि उनको पढाइले ‘पिकअप’ लियो । सँगसँगै बोर्ड फर्स्ट सपना पनि ब्यूँतिन थाल्यो । आठ र नौ कक्षामा लगातार प्रथम भएका उनले एसएलसीको सेन्टअपमा त कमालै गरे ।

सेन्टअपमा उनी ८४ प्रतिशत अंक ल्याएर उत्तिर्ण भए । जबकि त्यो बेला एसएलसीका बोर्ड फर्स्टले पनि ८० प्रतिशत छुवाउन सक्दैनथे ।

किशोर भन्छन्, ‘अहिलेजस्तो एसएलसीमा ८०-९० प्रतिशत आउने जमाना थिएन । उत्तरपुस्तिका चेकिङ एकदमै टाइट हुन्थ्यो । मैले सेन्टअपमा ८४ प्रतिशत अंक ल्याउँदा सबै अचम्भित बनेका थिए ।’

सेन्टअपको नतिजाले किशोरलाई बोर्ड फर्स्टका बलिया उम्मेदवारका रुपमा खडा गरिदियो । त्यतिबेला काठमाडौंका सिमित विद्यालयहरु एसएलसी बोर्डको दौडमा हुन्थे, जसमा आनन्दकुटी, सेन्टजेभियर्स र ल्याबरोटेरी प्रमुख थिए । ल्याबरोटरीका शिक्षकहरुले उनलाई हौस्याउन थाले । उनी पनि हौसिए ।

आशा नगरेको बोर्ड फर्स्ट

राम्रै तयारी गरेर किशोरले एसएलसी परीक्षा दिए । तर, परीक्षा सोचेजस्तो राम्रो भएन । सेन्टअपको तुलनामा परीक्षा बिग्रेको महसुस गरे उनले । फलस्वरुप बोर्ड फर्स्टको लक्ष्य बोकेका किशोर निराश भए ।

‘परीक्षा धेरै बिग्रेको त होइन, तर मैले बोर्डफर्स्टको आशा चाहिँ मारेको थिएँ,’ उनी भन्छन् । तर, रिजल्ट आउँदा रेडियोले उनको नाम फुक्यो । ७४ प्रतिशत अंकका साथ उनी बोर्डफर्स्ट भएछन् । उनको घरमा मान्छे धुइरिन थाले । बधाइको ओइरो लाग्यो ।

सो एसएलसीमा नेपाली विषयमा ७९ अंक ल्याएर उनले रेकर्ड राखेका थिए । अंग्रेजीमा ७५ र दुई वटा गणितमा उनले ९० को हाराहारीमा अंक बटुले । पञ्चायत, भुगोल जस्ता विषयमा कम नम्बर आउँदा उनको समग्र स्कोर ७४ प्रतिशतमा स्थिर भएको थियो ।

‘हिजोसम्मको सामान्य विद्यार्थी एसएलसी रिजल्ट आएपछि अर्कै व्यक्ति भएको महसुुस गरेँ,’ किशोर सम्झिन्छन्, ‘मानिसहरुको मलाई हेर्ने दृष्टिकोण नै फेरियो । ठूलो मान्छे जस्तो व्यवहार गर्न थाले । मसँग भेट्न र कुरा गर्न पाउँदासमेत मख्ख पर्थे ।’

उल्कै थियो, त्यतिबेला एसएलसी बोर्ड फर्स्टको क्रेज । भेट्न आउनेहरुमध्ये धेरैले उनलाई सोध्ने प्रश्न हुन्थ्यो, ‘अब के पढ्ने र कहाँ पढ्ने ?’ यसमा किशोरले धेरै मन डुलाएनन् । उनको पहिलेदेखि नै लक्ष्य इन्जिनियर बन्ने थियो । त्यसैले खुरुक्क अमृत साइन्स क्याम्पसमा आइएस्सी भर्ना भए, जून त्यतिबेला सबैभन्दा टप क्याम्पस मानिन्थ्यो ।

किन डाक्टर बन्न रुचाउनुभएन भन्ने प्रश्नमा उनी भन्छन्, ‘मलाई सानैदेखि डाक्टर बन्न मन भएन । हस्पिटल जाँदा बिरामीको हालत, फोहोरमैला तथा डाक्टरहरुको हस्याङ-फस्याङ देखेर नै दिक्दार लाग्थ्यो ।’

त्यतिबेलाका एसएलसीको टप टेनमा आउनेहरुलाई सरकारले मासिक सय रुपैयाँ भत्ता दिन्थ्यो । अरु सुविधा केही थिएन । अमृत क्याम्पसमा आइएस्सी पढ्दा पनि किशोरले राम्रो नतिजा ल्याए । उनी पहिलो र दोस्रो वर्षमा समग्र ७१ प्रतिशत अंकका साथ देशभरमा तेस्रो भए । आइएस्सी सकेर त्रिचन्द्र क्याम्पसमा उनी बीएस्सी भर्ना भए ।

तर बिएस्सी पढ्दापढ्दै छात्रवृत्ति पाएर आर्किटेक्चर इन्जिनीयरिङ पढ्न कोलम्बोतिर लागे । साढे चार वर्षपछि पढाई सकेर फर्किदा नेपालमा उनलाई लोकसेवाले पर्खिरहेको थियो । ३९ सालमा लोकसेवा दिएर उनले हवाइ विभागमा आर्किटेक्ट इन्जिनीयरका रुपमा सरकारी जागीर सुरु गरे । क्रमश पदोन्नति हुँदै सचिवसम्म पुगेर ६५ सालमा उनी रिटायर्ड भए । अहिले काठमाडौं विश्वविद्यालयमा प्राध्यापन गरिरहेका छन् ।

पढ्ने शैली

विद्यार्थीकालदेखि नै आफूले राति कहिले पनि नपढेको किशोर बताउँछन् । उनी भन्छन्, ‘म सधैं बिहान उठेर पढ्ने गर्थेँ । त्यतिबेला राति बत्ति हुन्नथ्यो । टुकीको उज्यालोमा म पढ्न सक्दिनथेँ ।’

आफ्नो पढ्ने शैलीबारे किशोर भन्छन्, ‘एसएलसीको तयारी गर्दा १२ देखि १४ घन्टासम्म पढ्थेँ । रटेर पढ्ने बानी भएन । पढेको कुरा कापीमा लेख्ने गर्थेँ, जसले गर्दा सम्झन सजिलो हुन्थ्यो । यसबाट लेख्ने अभ्यास पनि राम्रो हुन्थ्यो र परीक्षामा सजिलो लाग्थ्यो ।’

एसएलसीको बोर्डफस्टबाट राज्यले पनि गतिलो योगदानको अपेक्षा राख्ने गथ्र्यो । त्यो अपेक्षामा आफू कत्तिको खरो उत्रेको पाउँछन् त किशोर ?

‘मैले आफ्नो बुद्धि-विवेक र क्षमताले भ्याएसम्म काम गरेँ । धेरै इज्जत र प्रतिष्ठा पनि आर्जन गरेँ । समग्रमा बोर्ड फस्र्टको मर्यादा राखेँ भन्ने लाग्छ ।’

ग्रेडिङ प्रणाली राम्रो

एसएलसी परीक्षा दिनेले बोर्ड फर्स्टको सपना देख्ने जमाना गइसकेको छ । हुँदा हुँदा यसपालिदेखि विद्यार्थीहरु फेल नै नहुने प्रणाली सुरु गरिएको छ । किशोरले यसलाई सकारात्मक रुपमा लिएका छन् ।

उनी भन्छन्, ‘हरेक कुराहरु समय अनुसार बदलिनुपर्छ । हामी ४० वर्ष पुरानो सिस्टममा हिँडिरहेका थियौं । त्यसलाई परिमार्जन गरेर अहिले अन्तर्राष्ट्रिय मापदण्डमा ढालिएको छ । पास-फेल भन्दा ग्रेडिङ प्रणाली बैज्ञानिक हो । यसबाट विद्यार्थीलाई आफ्नो स्तर राम्रोसँग थाहा हुन्छ भने अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाउन पनि सजिलो हुन्छ ।’

एसएलसी दिनेलाई टिप्स

जब एसएलसी सुरु हुन्छ, उनीकहाँ थुप्रै विद्यार्थीहरु सल्लाह-सुझाव माग्न आउँछन् । उनी एसएलसी परीक्षमा ध्यान दिनुपर्ने कुराहरुबारे यस्ता सल्लाह दिने गर्छन् ।

१. प्रश्नहरु राम्ररी पढ । स्पष्टरुपमा प्रश्न बुझेपछि मात्रै लेख्न सुरु गर ।
२. सबै प्रश्नको उत्तर दिने प्रयास गर । नजानेको प्रश्नमा पनि कनिकुथी केही लेख । यसबाट अलिकति नम्बर भए पनि थपिन्छ ।
३. समय र प्रश्नको अड्कल पहिले नै गरेर लेख्न थाल । ताकि पछि समय अभावले उत्तर लेख्न नभ्याउने अवस्था नआओस ।
४. अक्षर सफा र सजिलै बुझिने हुनुपर्छ । सुन्दर अक्षरले जाँचकीमा मनोवैज्ञानिक असर पर्छ ।
५. घोकेर होइन, कन्सेप्ट बुझेर पढ्ने बानी बसाल ।
- अनलाइनखबर