भागेर नेपाल छिरेका सोमपाल कामी

मान्छे भुईंबाट शिखरमा पुग्न समय लाग्दैन । लगन, मेहनत र दृढता हुनुपर्छ– मान्छे रातारात ‘स्टार’ बन्छ ।

सोमपाल कामी त्यस्तै ‘स्टार’ हुन्, जो शिखरमा पुगिसकेका त छैनन् तर पुग्छन् एकदिन ।

दुई वर्षअघिसम्म साधारण सोमपाल विश्वकप क्रिकेट खेल्छन् भनेर न उनले चिताएका थिए, न अरुले नै । भलै, उनले यही सपना देखेर आफ्नो करिअर थालेका थिए । यति छिटै खेल्न पाउने सपना त उनी आफैंले देखेका थिएनन् । विश्वकप खेल्ने अन्तर्राष्ट्रिय खेलाडी बन्छु भन्ने पनि उनलाई फिटिक्कै थिएन ।

तर, भए ।

‘पृथ्वी गोलो छ, सबैको दिन आउँछ’ भनेर सम्भवतः सोमपालजस्तै स्वप्नजीवीका लागि भनिएको होला ! यीवायाँ  दायाँ हाते पेस बलर विश्वकपमा खेलिरहँदा नेपालमा नारा लागिसकेको थियो– सोमपाल कामी, क्या दामी !

उनी दामी छन् । उनको करिअर अहिले दामी मोडमा छ ।

“मलाई थाहा थियो– मेहनत गरेपछि सबैको दिन आउँछ,” भन्छन्, “मैले मेहनत गरें, मलाई मौका आयो । विश्वकप खेल्ने मेरो ड्रिम पूरा भयो ।”

बंगलादेशको विश्वकपमा मैदान छिर्दा पहिलो पटक उनलाई आफू अन्तर्राष्ट्रिय खेलाडी भएको भान भयो । त्यो उनको कहिल्यै बिर्सन नसकिने क्षण थियो । “शायद अब त्यस्तो कुनै अविस्मरणीय क्षण आउँदैन होला, जतिबेला मैले विश्वकपमा डेब्यु गरें,” बाह्रखरीसँग गफिँदै उनले भने ।

बलिङमा दख्खल राख्ने तर अलराउन्डर खुबी भएका सोमपाल बल्ल २० वर्षका भए । कलिलै उमेरमा उनी नेपाली क्रिकेटको अभिन्न अंग बनिसके । उनी नेपाली क्रिकेटसँग जोडिएको दुई वर्षमात्रै भयो । तर, उनले नेपालको सिनियर टोलीबाट आईसीसी टी–२० विश्वकप, विश्वकप छनोट, टी–२० अन्तर्राष्ट्रिय, एसीसी प्रिमियर लिग, एसियन गेम, आईसीसी विश्व लिग डिभिजन–२, आईसीसी विश्वकप लिग डिभिजन–३ र विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलिसके । यसबीच उनले नेपाली क्रिकेटमा आएको आरोह–अवरोह राम्रैसँग देखे, भोगे ।

सोमपाल १ जनवरी २०१४ मा नेपालको सिनियर राष्ट्रिय टोलीमा आएका हुन् । बंगलादेशमा भएको आईसीसी टी–२० विश्वकपअन्तर्गत हङकङविरुद्धको खेलमा सोमपालले नेपाली सिनियर टोलीबाट ‘डेब्यु’ गरे । सोमपाल त्यतिबेला १८ वर्षका मात्र थिए र नेपालले पनि पहिलोपटक विश्वकप खेल्दै थियो । त्यसपछि उनले कहिलै पछाडि फर्केर हेर्नु परेको छैन ।

सोमपालले टी–२० अन्तर्राष्ट्रियमा ११ खेल खेल्दा २ पहिलो श्रेणीको क्रिकेट खेलेका छन् । १५ टी–२० र १६ ‘ए’ लिस्टको क्रिकेट पनि खेलिसकेका छन् ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा सोमपाल नेपालको बलिङमा मुख्य हतियार मानिन्छन् । तर, उनी ब्याटिङमा पनि उत्तिकै जम्छन् । टी–२० अन्तर्राष्ट्रियमा १०औं नम्बरमा ब्याटिङ गर्न आएर सर्वाधिक रन जोड्ने विश्व कीर्तिमान पनि सोमपालले नै बनाएका छन् । ४ मंसिर ०७१ मा श्रीलंका सम्पन्न टी–२० अन्तर्राष्ट्रिय सिरिजमा उनले हङकङविरुद्ध ३१ बलमा ४० रन जोड्दै श्रीलंकाली क्रिकेटर प्रदीप निशान्तको ३७ रनको कीर्तिमान तोेडेका थिए ।

सोमपाल १ जनवरी २०१४ मा नेपालको सिनियर राष्ट्रिय टोलीमा आएका हुन् । बंगलादेशमा भएको आईसीसी टी–२० विश्वकपअन्तर्गत हङकङविरुद्धको खेलमा सोमपालले नेपाली सिनियर टोलीबाट ‘डेब्यु’ गरे । सोमपाल त्यतिबेला १८ वर्षका मात्र थिए र नेपालले पनि पहिलोपटक विश्वकप खेल्दै थियो । त्यसपछि उनले कहिलै पछाडि फर्केर हेर्नु परेको छैन ।

सोमपाल गुल्मीमा जन्मिए तर हुर्किए भारतको पञ्जाबमा । र, क्रिकेट त्यहीँ सिके । पञ्जाबमा क्रिकेट सिकेर नेपाल आएपछि उनी एकाएक चम्किए । त्यसअघि उनलाई भारतमै क्रिकेट खेल्न मन नलागेको होइन । तर, आर्थिक अवस्थाले उनलाई त्यसो गर्न दिएन ।

“भारतमा माथिल्लो स्तरको क्रिकेट खेल्न क्लबमा आबद्ध हुनपर्छ, जहाँ महिनाको १० हजार शुल्क तिर्नुपर्छ,” उनले भने, “तर त्यहाँ मेरो बुबाको मासिक तलब १० हजार थियो । कसरी खेल्नु क्रिकेट ?”
उनले हिम्मत हारेनन् । क्रिकेट खेलिरहे । अन्ततः सफल पनि भए ।

नाम र दाम

नेपालमा मात्र होइन, सोमपालको चर्चा भारतमा पनि छ । गत वर्ष पञ्जाब जाँदा उनले यो कुरा चाल पाए ।
“क्रिस नामको एक स्कुले केटा मेरो घर नजिकै बस्थ्यो । पोहोर म पञ्जाब गएको थिएँ । उसले एकदिन स्कुलमा भनेछ– सोमपाल दाइ हाम्रो घरछेउमा बस्छ । तर, कसैले पत्याएनछन् । साथीहरुले उसलाई भनेछन्– सोमपाल त ठूलो क्रिकेटर हो । तिम्रो घर छेउमा कसरी बस्छ ? ऊ त ठूलो घरमा बस्छ ।”

यो सुनेपछि सोमपालका आँखा भरिए ।

यो त भयो नामको कुरा । उनले क्रिकेट खेलेर दाम पनि कमाए ।

“कुनै समय मैले चाहेको कुनै काम गर्न सक्दिनथें– पैसा नभएर । मन लागेको खान सक्दिनथें,” भन्छन्, “अहिले नामसँगै दाम पनि कमाएँ, हरेक इच्छा पूरा गर्न सक्ने भएँ ।”

सोमपालका अनुसार उनले मसेलियामा मे २०१४ मा सम्पन्न एसीसी प्रिमियर लिगमा सबैभन्दा राम्रो खेले । त्यो उनको सही समय थियो । १५ विकेट पनि लिए । प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी पनि उनै बने । तर, नेपाल प्रतियोगिताको तेस्रो बन्यो ।

पछिल्लो समय सोमपालले टेस्ट क्रिकेट खेलिरहेको श्रीलंकामा त्यहीँको घरेलु लिग खेल्ने अवसर पाए । गत नोभेम्बर–फेब्रुअरी सिजनमा कालुतारा फिजिकल कल्चर सेन्टरबाट सोमपालले क्रिकेट खेले । त्यहाँ उनले धेरै सिके र तीन दिवसीय प्रतियोगिताका ५ खेलमा ३७ विकेट लिए ।

सोमपाललाई सबैभन्दा दुःख त्यतिबेला लाग्यो, जतिबेला नेपाल २०१६ को विश्वकपमा छनोट हुन असफल भयो । “नत्र यो विश्वकपमा नेपाल पनि भारत गएर खेल्थ्यो,” उनी भन्छन्, “छनोट हुन सकेनौं, त्यसमा साह्रै दुःख लाग्छ ।”

आफ्ना आमा–बुबालाई भारतको रंगशालामै लगेर आफ्नो खेल देखाउने उनको सपना पनि तुहियो । “बुवा–आमाले अहिलेसम्म स्टेडियम गएर क्रिकेट हेर्नुभएको छैन, उहाँहरुलाई रंगशाला लगेरै मेरो खेल देखाउने सपना थियो,” उनी भन्दै थिए, “यसपटक छनोट भएको भए मेरो त्यो सपना पनि पूरा हुन्थ्यो ।”

यो सपना एकदिन पूरा हुनेछ– उनलाई विश्वास छ ।

सोमपाल उठेपछि नसुतेसम्म प्रायः क्रिकेटबारे सोचेरै समय बिताउँछन् । ब्याट्सम्यानलाई कसरी आउट गर्ने भन्ने ध्याउन्नमा उनी धेरै निजी कुरा बिर्सिन्छन् । प्रायः घरमा टिभी हेर्दा पनि उनी यही कुरा सोचेर घोत्लिन्छन् ।

भागेर आए नेपाल

तुरङ–८ गुल्मी घर भएका सोमपाल तीन वर्षको हुँदा बाबुसँग भारतको पञ्जाब गएका थिए । उनका बुवा त्यहाँ जागिरे थिए । उनले त्यहीँ क्रिकेट सिके । स्कुलबाट यू–१३ देखि यू–१९ सम्मका राष्ट्रिय क्रिकेट पनि उनले खेले । भारतमा क्रिकेट खेल्नेलाई स्कुलले छात्रवृत्ति दिन्छन् । उनले पनि पाए ।

“हाम्रो स्कुलमा राम्रो क्रिकेट खेल्नेलाई पूरै निःशुल्क थियो । बुबाको आर्थिक अवस्था कमजोर थियो, त्यसैले पढ्नका लागि मैले क्रिकेट खेलें र छात्रवृत्तिमा पढिरहें !”

नेपालसँगको क्रिकेट नाता भने अर्जुन अधिकारीले जोडिदिए । उनी क्रिकेट खेल्नैका लागि १८ भदौ २०७० मा नेपाल आए । काठमाडौं क्षेत्र नम्बर ३ बाट क्रिकेट खेलिरहेका अधिकारीलाई सोमपालले फेसबुकमा भेटेका थिए । त्यसपछि अधिकारीले उनलाई क्रिकेट खेल्न नेपाल बोलाए ।

“उहाँले मलाई नागरिकता बोकेर नेपाल आउन भन्नुभयो तर मसँग थिएन,” सोमपालले सम्झिए, “बुबाको नागरिकताले पनि हुन्छ भन्नुभो तर मसँग नेपाल आउने पैसा थिएन ।”

अधिकारीले सोमपाललाई लिन आफैं पञ्जाबसम्म जाने बताएपछि उनी बल्ल नेपाल आउन तयार भए । तर, सोमपाललाई अर्को आपत प¥यो । आमा–बुवाले नेपाल जाने अनुमति दिएनन् । जे पर्ला टर्ला भनेर उनले भारु १० हजार जोहो गरे र भागेर नेपाल आए । “म भागें किनकि मलाई क्रिकेटको नशा चढेको थियो,” उनले भने ।

नेपालमा संघर्ष

त्यसपछि नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने क्षेत्रीयस्तरका राष्ट्रिय खेल खेले । क्षेत्र नम्बर ३ काठमाडौंलाई यू–१९ नेसनल च्याम्पियन बनाउँदा सोमपाल चम्किए । तर, त्यस खेलमा बलिङभन्दा ब्याटिङमा चम्किएका उनले दोहोरो शतक प्रहार गरे । उनी त्यतिबेलै नेपाली टोलीका प्रशिक्षक पुबुदु दसनायाकेको आँखामा परे । तर, पुबुदुले सोमपाललाई ब्याटिङ होइन, बलिङ गर्न लगाए ।

“भारतमा हुँदा म अलराउन्डर थिएँ तर प्रशिक्षक पुबुदुले मेरो बलिङ राम्रो भएको बताउनुभयो र मलाई बलिङ गर्न जोड दिनुभयो,” उनले थपे, “त्यसपछि मैले बलिङमा बढी ध्यान दिएँ ।”

यो निर्णय सोमपालका लागि सही सावित भयो । प्रतिघण्टा १४१ किलोमिटरका दरले बल फाल्न थालेपछि उनी राष्ट्रिय टिमका ओपनर बलर बने ।

सुरुमा विकेट लिन निकै गाह्रो भयो । न्युजिल्यान्डमा आयोजित विश्वकप छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्सविरुद्ध ७ ओभर बलिङ गर्दा पनि उनले विकेट लिन सकेनन् । तर, प्रशिक्षक र कप्तानले उनलाई निराश बन्न दिएनन् ।

त्यो खेलमा उनी केही ‘नर्भस’ थिए । तर, त्यसपछिका खेलमा उनले राम्रो गरे । त्यसको तीन दिनपछि स्कटल्यान्डसँग खेल्दा ८ ओभर बलिङ गरेका सोमपालले ३५ रन खर्चेर ३ विकेट झारे । लगत्तै क्यानडाविरुद्ध पनि ३ विकेट लिए ।

नेपालमा क्रिकेट क्रेज र ‘न्याचुरल’ खेलाडी उल्लेख्य भए पनि अन्तर्राष्ट्रिय खेल नखेल्दा मुलुकले क्रिकेटमा सोचेजति फड्को मार्न नसकेको उनी बताउँछन् । “हामीमा एक्स्पोजरको कमी छ । म्याच एक्स्पोजर नहुँदासम्म प्रगति हुँदैन,” उनी भन्छन्, “हामीकहाँ यही कुरा खड्किएको छ । त्यसैले जति राम्रो गरे पनि नतिजा राम्रो आउँदैन ।”

पढाइ

सोमपाल क्रिकेट र पढाइलाई सँगसँगै लैजाँदै छन् । उनले केही समयअघि मात्रै भारत गएर ब्याचलर लेभलको फर्म भरेर आए । “क्रिकेटबाहेक मलाई पढ्न मन लाग्छ र पढिरहेको पनि छु,” उनी भन्छन्, “क्रिकेटले गर्दा केही समय पढाइ बिग्रियो तर अब ब्याचलर गर्ने योजना छ । त्यसका लागि भारतमा फर्म भरेर आइसकें ।”

 अहिलेको दैनिकी

सोमपाल अहिले विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नामिबियासँगको खेलका लागि अभ्यासमा व्यस्त छन् । नामिबियासँगको खेलका लागि १८ सदस्यीय टोलीमा उनी पनि छन् । राम्रो प्रदर्शन गर्दै नेपाललाई जिताउन उनी आतुर छन् ।

“घरेलु मैदानमा खेल्दै छौं, हाम्रो तयारी राम्रो छ । मेरो व्यक्तिगत तयारी पनि सन्तोषजनक छ,” उनले भने, “जसरी पनि जिन्तेछौं ।”

‘होम एन्ड अवे’का आधारमा चल्ने च्याम्पियनसिपअन्तर्गत नामिबियासँग नेपालले वैशाख ४ र ६ गते कीर्तिपुर मैदानमा खेल्दै छ । र, नेपाल च्याम्पियनसिपको तालिकाको पुछारमा छ । नेपालले यसअघि खेलेका दुई खेलमा हार बेहोरिसकेको छ । तर, सोमपाललाई विश्वास छ– यसपटक टिमको जित निश्चित छ ।

“हामीले यो खेल जसरी पनि जित्नु छ र जित आवश्यक पनि छ,” भन्छन्, “किनकि हामीले माथिल्लो श्रेणीको क्रिकेट खेल्नु छ ।”  
– बाह्रखरी डट कमबाट