कांग्रेसको अमेरिकी भातृ संगठनको विवाद छताछुल्ल

सभापतिलाई पदाधिकारीले निलंबन गरे, सभापतिले पदाधिकारीलाई

चैत २३, न्युयोर्क । नेपाली कांग्रेसको अमेरिकास्थित भातृ संगठन नेपाली जनसम्पर्क समितिभित्रको विवाद छताछुल्ल भएको छ । समितिका निर्वाचित अध्यक्ष र पदाधिकारीहरु एक-अर्कालाई निलम्बन गर्ने तहमा उत्रिएका छन् ।

गत साता केही पदाधिकारीको उपस्थितिमा बसेको आकस्मिक बैठकले अध्यक्ष आनन्द बिष्टलाई निलम्बन गरेको घोषणा गर्दै वरिष्ठ उपाध्यक्ष धनञ्जय नरसिंह केसीलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी तोकेको छ ।

केसीसहित उपसभापति सिपी पौडेल, महासचिव मुनिन्ऽ नेम्बाङ, सचिव भोजराज थोकर, सचिव इश्वर सापकोटा, कोषाध्यक्ष बिजय थुलुडंगलगायत बहुमत सदस्यहरूको तर्फबाट जारी गरिएको भनिएको विज्ञप्तिमा अध्यक्ष विष्टलाई निलम्बन गरिएको उल्लेख छ ।

त्यसलगत्तै अध्यक्ष विष्टले आफू पक्षधरको बैठक बोलाएर संस्थाको हितबिपरित काम गरेको भन्दै केसी, पौडेल र नेम्बाङलाई ३ महिनाको लागि निलम्बन गरेका छन् ।

अध्यक्ष विष्टले नेपाली कांग्रेसको संगठन अध्यक्षात्मक प्रणालीमा चल्ने भएकाले कार्यसमितिले चाहँदैमा सभापतिलाई निलम्बन गर्न नसक्ने अनलाइनखबरलाई बताए । ‘मलाई हटाउन साधारणसभाको दुई तिहाइ बहुमत चाहिन्छ,’ उनले भने, ‘अधिवेशनले निर्वाचित गरेको ब्यक्तिलाई कार्यसमितिले कसरी हटाउन सक्छ ?’

समितिको सन् २०१४ को नोभेम्बरमा भएको दोश्रो अधिबेशनमा ८० प्रतिशत मत ल्याएर बिष्ट सभापति निर्वाचित भएका थिए ।

उपसभापति पौडेलले अध्यक्ष बिष्टमाथि समितिको अनुमोदन बेगर ४ जना सदस्यहरुको मनोनयन गरेको, कनिष्ठलाई महासमिति सदस्य मनोनित गरेको, १२ जना बिभागीय प्रमुखहरु नियुक्त गर्दा कार्यसमितिको अनुमोदनबिना गरिएको, २७ वटा राज्य च्याप्टर भएको जनसम्पर्क समितिबाट समानुपातिक नमिलाई ७ जना बिभागिय प्रमुख न्यूयोर्कबाट मात्रै मनोनित गरेको लगायतका आरोप लगाएका छन् ।

अध्यक्षलाई निलम्बन गर्न बसेको बैठकमा २९ सदस्यीय निर्वाचित कार्यसमितिको बहुमत उपस्थिति रहेको उनले बताए । कार्यवाहक सभापति केसीलाई समितिअन्तर्गत रहेका विभिन्न च्याप्टरका सभापतिहरुले खुलेर समर्थन गरेका दावी पनि उनले गरे ।

कार्यबाहक सभापति केसीको अध्यक्षतामा शनिबार बसेको समितिको बैठकमा यादव दुलाल, राजेन्द्रकुमार थापा, भोजराज घिमिरे, डा. चिरञ्जीवी भट्टराई, प्रेमबहादुर पाण्डे, ज्ञानेन्द्रबहादुर कार्की, रोशन ढुंगाना, राज सेनचुरी, सरिता ओलीलगायत सहभागी थिए ।

यस्तै बैठकमा उपस्थित हुन नसकेका च्याप्टर सभापतिहरु कर्मा शेर्पा, प्रियरञ्जन दाहाल, ददी अधिकारी र होम चटौतले उक्त निर्णयलाई समर्थन गर्ने पत्राचार गरेको उनले जानकारी दिए । च्याप्टर सभापतिहरुले आगामी तीन महिनाभित्र साधारणसभा बोलाउने निर्णय गरेका छन् ।

नेपाली कांग्रेसको भर्खरै सम्पन्न महाधिवेशनमा नेपाली जनसम्पर्क समितीका पदाधिकारीले फरक-फरक व्यक्तिहरुको सूची केन्द्रीय कार्यालयमा पठाएपछि विवाद सतहमा आएको थियो ।

संस्थापन पक्षले एकलौटी रुपमा महाधिवेशन प्रतिनिधि छनोट गरेको भन्दै वरिष्ठ उपाध्यक्ष र महासचिव पक्षले आफ्नो तर्फबाट अरु सात जनाको नाम सिफारिस गरेको थियो । अध्यक्ष विष्टले न्यूयोर्क र क्यालिफोर्निया क्षेत्रबाट मात्र महाधिवेशन प्रतिनिधि चयन गरेको महासचिव पक्षको आरोप थियो ।

पछिल्लो समय अध्यक्ष विष्टले न्युयोर्कमा गरिने नेपाल डे परेडमा आफ्नो संगठनलाई आयोजक बनाएपछि फेरि विवाद बल्झिएको हो । नेपाल डे परेड मनाउन समितिको तर्फबाट महाबाणिज्यदूतसँग भेटघाट गरेपछि महावाणिज्यदूतावास न्यूयार्कले विज्ञप्ति प्रकाशित गरेको थियो ।

समितिका उपाध्यक्ष पौडेलले नेपाल डे परेड गर्ने सम्बन्धमा केन्द्रीय समितिमा कुनै छलफल नभएको भन्दै फेसबुक मार्फत असन्तुष्टि जनाएका थिए । त्यस लगत्तै अध्यक्ष  र पदाधिकारीबीच एक अर्कालाई निलम्बन गर्ने होड चलेको हो ।

पदाधिकारीले विष्टलाई निरंकुश शैलीले चलेको आरोप लगाएका छन् । नेपाली जनसम्पर्क समिति स्थापनाकालदेखि विवादमा पर्दै आएको छ ।
- अनलाइनखबर