जागिरको अन्तर्वार्तामा सोधिन्छन् यस्ता उट्पट्याङ प्रश्न पनि (१० नमूना प्रश्नसहित)

यदि तपाईं बेरोजगार हुनुहुन्छ र ठूला एवम् प्रतिष्ठित कम्पनीमा काम गर्ने चाहना राख्नुहुन्छ भने तपाईंले अवश्य ‘जव इन्टरभ्यू’को सामना गर्नुपर्ने हुन्छ ।

अन्तर्वार्तामा तपाईंले गर्न लागेको काम, तपाईंको व्यक्तिगत कुरा तथा कम्पनीकोबारेमा त सोधिन्छ नै कतिपय समय यस्ता उट्पट्याङ प्रश्न पनि सोधिन्छ, जसको सामना प्रायले सही ढंगले गर्न सक्दैनन् । जुन कुराले तपाईं अन्तर्वार्तामा सफल हुने या नहुने भन्ने समेत निर्क्यौल गर्छ ।

यस्ता उट्पट्याङ प्रश्नहरु त अनगिन्ति हुन्छन् । कस्तो प्रश्न सोधिन्छ भन्ने कुरा अन्तर्वार्ता लिने व्यक्तिमा नै धेरै हदसम्म निर्भर गर्छ । हामीले यहाँ प्रस्तुत गरेका प्रश्नहरु नमुनामात्रै हुन् । ता कि तपाईंले कस्तासम्म प्रश्न सोधिने रहेछ भनेर अनुमान लगाउन सक्नुहोस् ।

यहाँ यस्तै १० वटा नमूना उट्पट्याङ प्रश्न समावेश गरिएको छ ।  

1. यदि तपाईंलाई १ करोड रुपैयाँ दिएर २४ घण्टाभित्र त्यसलाई दोब्बर बनाउन भनियो भने तपाईं के गर्नुहुन्छ ?

2. बाटो हिँड्दै गर्दा तपाईंले १ हजार र ५ सय दरका दुईवटा नोट देख्नुभयो, अब भन्नुस् तपाईं कुनचाहीँ टिप्नुहुन्छ ?

3. तपाईंले एकबिहानै आफ्नो फ्रिज खोल्दा अचानक त्यसभित्र भालु देख्नुभयो भने के गर्नुहुन्छ ?

4. मैले तपाईंलाई आफ्नै विजनेस सुरु गर्नका लागि १ अर्ब दिने भएँ, तपाईं तत्काल के व्यवसाय थाल्नुहुन्छ ?

5. काठमाडौंमा हट केक बेच्नका लागि तपाईं कुन फण्डा प्रयोग गर्नुहुन्छ ?

6. यदि तपाईंले आफ्नै गिती एल्बम निकाल्ने हुनुभयो भने त्यसको नाम के राख्नुहुन्छ ?

7. मानौं तपाईं कुनै एक प्रतिष्ठित कम्पनीको सिईओ हुनुहुन्छ, अब भन्नुस् बिहान उठेर सबैभन्दा पहिले विजनेसको कुनचाहीँ कुरा चेक गर्नुहुन्छ ?

8. तपाईंले लगाउनु भएको सर्टमा कतिवटा टाँक छ ?

9. बाटोमा चारैतिरबाट बागले घेर्यो, अब तपाईं कसरी बच्नुहुन्छ ?

10. एउटा कोठामा कतिवटा बास्केटबल अटाउन सक्छ ?