म्याग्दीलाई फ्रि वाइफाई जिल्ला बनाउन न्युजिल्यान्डमा पैसा संकलन

२४ चैत्र, म्याग्दी । जिल्लाभर इन्टरनेटको पहुँच पुर्याउने बहुचर्चित प्रोजेक्टका लागि न्युजिल्यान्डमा रहेका म्याग्देलीको सक्रियतामा ६ लाख ६० हजार रुपैयाँ संकलन भएको छ। जिविस र महावीर पुनले सुरू गरेको यो अभियानमा गैरआवासीय म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना आईईसी) ले आर्थिक सहयोग जुटाउने सम्झौता गरिसकेको छ । सम्झौतापछि प्रवासी म्याग्देलीले रकम संकलन अभियानलाई तीव्रता दिएका छन्।

'जिल्लाभर इन्टरनेटको पहुँच पुर्याउने अभियान सफल बनाउँछौं। आर्थिक अभावले यो अभियान रोकिँदैन्,' मोना आइइसीका कोषाध्यक्ष तथा एनआरएन न्युजिल्यान्डका पूर्वअध्यक्ष चक्रबहादुर थापाले भने। उनले सूचना र प्रविधि विस्तारमा इन्टरनेट अभिन्न सर्त भएको बताए ।

व्यापार, शिक्षा र रोजगारीको सिलसिलामा न्युजिल्यान्ड पुगेका म्याग्देलीले इन्टरनेट माध्यमबाट जिल्लाका विकट बस्तीमा टेलिमेडिसिन, गुणस्तरीय शिक्षा, डिजिटल साक्षरता, पर्यटन, धार्मिकलगायत महत्वपूर्ण क्षेत्रको विकासमा योगदान पु¥याउने लक्ष्य राखेको छ । 'आफू जन्मिएको ठाउँमा सहयोग गर्नु हाम्रो दायित्व पनि हो। विश्वभर रहेका म्याग्देली यो अभियानमा जुटेका छन् ।' मोना अन्तर्राष्ट्रियका अध्यक्ष योगेन्द्रबहादुर क्षत्रीले भने । न्युजिल्यान्डसँँगै बेलायत, हङकङ, बेल्जियम, नेदरल्यान्ड, जापान, दक्षिण कोरियासहित विभिन्न देशमा च्यारेटी कार्यक्रममार्फत आर्थिक संकलन गर्ने अभियान चलिरहेको छ। यो अभियानका लागि प्रवासी म्याग्देलीले एक करोड रुपैयाँसम्मसंकलन गर्ने लक्ष्य राखेका छन्।

बेनी नगरपालिका र ३५ गाविसका विद्यालय, समुदाय, स्वास्थ्यचौकीसहित सार्वजनिक महत्वका क्षेत्रमा निःशुल्क र व्यक्तिगत प्रयोजनका लागि इन्टरनेट व्यवस्था गरिने स्थानीय विकास अधिकारी पौडेलले बताए ।

नेपाल सरकारले समेत सूचना र प्रविधिका लागि म्याग्दीलाई नमुना र परीक्षण जिल्लाको रूपमा छनोट गरेकाले पनि यो अभियान कार्यान्वयन सहज हुने पौडेलको भनाइ छ । ग्रामिण दूरसञ्चार प्राधिकरणले समेत कुललागतको ५० प्रतिशत बजेट सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ । अप्टिकल फाइबरसहितको इन्टरनेट सुविधा विस्तार योजना बनाइएको छ । चार करोड ५० लाख रुपैयाँ अनुमानित बजेट, टावर राख्ने स्थान छनोट, सञ्चालन संरचना, मर्मतसम्भार कोष, प्राविधिक अवधारणा, आवश्यक उपकरण र पूर्वाधार जुटाउने तयारी अन्तिम चरणमा पुगेको छ ।
- नागरिक न्युज